+

३० मिनेट हिँड्दा के हुन्छ ? यस्ता छन् गजब १० फाइदा

२०८१ फागुन  १५ गते २०:२५ २०८१ फागुन १५ गते २०:२५
३० मिनेट हिँड्दा के हुन्छ ? यस्ता छन् गजब १० फाइदा

हिँड्नु स्वास्थ्यका लागि लाभदायक त छँदैछ । तर, सबै किसिमको हिँडाइ स्वास्थ्यका लागि प्रभावकारी नहुन सक्छ । हिँड्नुको पनि तरिका हुन्छ ।

गफ गर्दै वा सङ्गीत सुन्दै हिँड्दा हिँडाइमा ध्यान केन्द्रित हुँदैन जसले गर्दा हिँडाइको पूर्णफाइदा प्राप्त नहुन सक्छ । विशेषज्ञहरू भन्छन्-हातखुट्टाको लय मिलाएर तीव्र गतिमा हिँड्नु फाइदाजनक हुन्छ ।

हिँडाइलाई व्यायामको रुपमा लिने हो भने पसिना आउने गरी छिटो-छिटो हिँड्नुपर्छ । दैनिक ३० मिनेट मात्र सही तरिकामा हिँड्दा शरीरमा गजब १० किसिमको फाइदा हुन्छ ।

इन्ड्रोफिन हर्मोन बढ्छ

दैनिक ३० मिनेट सही तरिकाले हिँड्दा मस्तिष्कले इन्ड्रोफिन, हर्मोनको उत्पादन गर्छ । जसले मानिसलाई पोजिटिभ र रिल्याक्स रहन सहयोग पुर्‍याउने गर्छ ।

रक्तचाप नियन्त्रण हुन्छ

बिहान आधा घण्टा हिँड्दा रक्तचाप नियन्त्रणमा राख्न मद्दत मिल्छ । यसले शरीरको रक्तसञ्चारमा पनि सुधार गर्छ ।

मुटु रोगको जोखिम कम हुन्छ

अमेरिकन हार्ट एसोसिएसनका अनुसार दौडिनु जस्तै हिँड्नु पनि मुटुका लागि राम्रो हुन्छ । यसले मुटुमा रक्तसञ्चार बढाउँछ, कोलेस्टेरोल घटाउँछ र रक्तचापलाई स्थिर राख्छ ।
जसले गर्दा मुटु रोगको जोखिम कम हुन्छ ।

हड्डी बलियो हुन्छ

३० मिनेटको पैदल यात्राले हड्डी र जोर्नीलाई पनि बलियो बनाउँछ । जोर्नी बलियो हुँदा चोटपटकको जोखिम कम हुन्छ । आर्थराइटिस फाउन्डेसनका अनुसार हिँड्नु हड्डीका लागि निकै फाइदाजनक हुन्छ ।

कोलोन क्यान्सरको जोखिम कम हुन्छ

लगभग १५ प्रतिशत कोलोन क्यान्सर(ठूलो आन्द्राको क्यान्सर)को जोखिम शारीरिक गतिविधिबाट रोक्न सकिन्छ। यस्तोमा दैनिक ३० मिनेट सही तरिकाले हिँड्दा कोलन क्यान्सरको जोखिम कम हुन्छ।

मानसिक स्वास्थ्य राम्रो हुन्छ

दैनिक हिँड्नु मानसिक स्वतथ्यका लागि पनि फाइदाजनक हुन्छ । यसले दिमाग शान्त राख्छ । जसले गर्दा तनाव र चिन्ता जस्ता समस्याहरू निम्तिन पाउँदैन ।

मस्तिष्कको कार्यक्षमता बढ्छ

दैनिक आधा घण्टा पैदल हिँड्दा मस्तिष्कलाई पनि फाइदा हुन्छ । यसले दिमागको क्षमता बढाउँछ, जसले सोच्ने क्षमतामा पनि सुधार गर्छ ।

मांसपेशी बलियो हुन्छ

दैनिक ३० मिनेट हिँड्दा मांसपेशी पनि बलियो हुन्छ। हिँडाइले खुट्टा, पेट तथा पाखुराको मांसपेशीलाई मजबुत बनाउँछ र आर्थराइटिस दुखाइ कम गर्न मद्दत गर्छ ।

शरीरको बोसो घट्छ

३० मिनेटको हिँडाइले लगभग २ सय क्यालोरी बर्न गर्न सहयोग गर्छ । दैनिक हिँड्दा क्यालोरी बर्न हुन्छ, जसले शरीरमा जम्मा भएको बोसो घटाउँछ र तौल घटाउन मद्दत गर्छ ।

श्वासप्रश्वास राम्रो हुन्छ

हिँड्दा श्वासप्रश्वासको गति बढ्छ, जसबाट नसामा अक्सिजन राम्रोसँग पुग्न पाउँछ यसो हुँदा विकारहरूलाई हटाउन मद्दत गर्छ र शक्तिमा वृद्धि गर्छ ।

स्वास्थ्य हिँडाइ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय