
१५ फागुन, काठमाडौं। लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले प्रदेश लोकसेवा आयोगबारे टिप्पणी गरेका छन् ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदनबारे छलफल थियो । उक्त छलफलमा आयोगका अध्यक्ष रेग्मीले प्रदेश लोकसेवा आयोग आवश्यक हुन् कि होइनन जस्तो देखिएको बताए ।
‘…प्रदेश लोकसेवा आयोगहरू छ तर संघका लोकसेवा आयोगका कार्यलय पनि प्रदेश स्तरमा छ्न् र प्रदेश लोकसेवा आयोगहरू पनि स्थापना भएका छन् । सरसर्ती हेर्दा काममा डुब्लिकेशन जस्तो पनि देखिन्छ । आवश्यक हुन कि होइनन जस्तो पनि देखिन्छ’ उनले भने ।
यो विषयमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समेत छलफल भएको उनले स्मरण गरे ।
‘त्यहाँ (राज्य व्यवस्था समितिमा) एक जना माननीय सदस्यले प्रदेश लोकसेवा आयोग गठन भइसक्यो, अब संघको लोकसेवा आयोग खारेज हुँदैन ? भनेर प्रश्न सोध्नुभएको थियो’ रेग्मीले सुनाए ।
जवाफमा आफूले उल्टो किसिमले सोच्न आग्रह गरेको बताए ।
‘मैले उहाँलाई त्यसलाई उल्टा किसिमले सोच्न अनुरोध गरेँ । त्यो भनेको संघको लोकसेवा आयोग सबै ठाउँ (सातै प्रदेश)मा हुँदा हुँदै प्रदेश लोकसेवा आयोग किन गठन गरिदिनुभयो ? त्यो चाहीँ पो बिचार गर्ने हो कि ! गर्नुभयो ?’ राज्य व्यवस्था समिति सदस्यलाई दिएको जवाफ संघीयता सवलीकरण समितिका सदस्यलाई सुनाए ।
आफ्नो भनाइ विचारणीय पक्ष रहेको अध्यक्ष रेग्मीले बताए ।
प्रतिक्रिया 4