१६ फागुन, काठमाडौं । पाकिस्तानमा जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत आज समूह बी को खेल हुँदै छ । अस्ट्रेलिया र अफगानिस्तानबीच दिउँसो पौने ३ बजेदेखि लाहोरमा खेल सुरु हुनेछ ।
अस्ट्रेलिया पहिलो खेलमा विजयी हुँदा दोस्रो खेल वर्षाले प्रभावित भएको थियो । अफगानिस्तान भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्डलाई हराएको थियो ।
आजको खेल जित्ने टोली सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तान पराजित भएमा बाहिरिनेछ । अस्ट्रेलिया पराजित भएमा झिनो गणितिय आशा बाँकी नै रहनेछ । यस हिसाबले यो खेल भर्चुअल नकआउटका रूपमा रहनेछ ।
यी दुई टोली पछिल्लोपटक एकदिवसीयमा सन् २०२३ को विश्वकपमा भिडेका थिए जहाँ हारको संघारमा पुगेको अस्ट्रेलियालाई ग्लेन म्याक्सवेलले अविश्वसनीय दोहोरो शतक प्रहार गर्दै शानदार जित दिलाएका थिए ।
अफगानिस्तानले अस्ट्रेलियालाई एकदिवसीय क्रिकेटमा हालसम्म हराएको छैन । इंग्ल्याण्डलाई गत विश्वकपमा र बुधबारको च्याम्पियन्स ट्रफीकै खेलमा हराइसकेको छ ।
समूह ए बाट भने भारत र न्युजिल्याण्डले एक खेलअगावै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । आयोजक पाकिस्तानसँगै बंगलादेश बाहिरिएका छन् । समूह बी बाट इंग्ल्याण्ड बाहिरिएको छ ।
मार्च ९ सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता छ । ८ टोलीहरूलाई दुई समूहमा विभाजित गरिएको छ ।
समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।
हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान छ ।
प्रतिक्रिया 4