+
+
Shares
कभर स्टोरी/‘एक्सक्लुसिभ’ :

बेतलबी बिदा जोडेर पेन्सन खान्छन् त्रिविका प्राध्यापक

त्रिविका प्राध्यापक र कर्मचारीले बेतलबी बिदालाई समेत सेवा अवधिमा जोडेर पेन्सन खाइरहेका छन् । बहालवाला तथा पूर्व पदाधिकारी समेत संलग्न यो गैरकानूनी र अनैतिक कार्यले आर्थिक भार मात्रै पारेको छैन, विश्वविद्यालयको प्राज्ञिक निष्ठामाथि समेत प्रश्न उठाएको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८१ फागुन १६ गते १९:४१

१६ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का शाखा अधिकृत विमल रिमाल अवकाशपछि पेन्सनपट्टा बनाउन कर्मचारी प्रशासन महाशाखा पुगे । ११ फागुन २०७४ मा अनिवार्य अवकाश पाएका उनलाई महाशाखाले तीन वर्षको बेतलबी बिदा कट्टा गरी पेन्सनपट्टा बनाइदियो ।

२ जेठ २०३४ मा अस्थायी सेवाबाट प्रवेश गरेका रिमाल १४ वैशाख २०३५ मा स्थायी भएका थिए । यसैको आधारमा महाशाखाले उनको सेवा अवधि ३७ वर्ष ९ महिना ९ दिन कायम गरी पेन्सनपट्टा थमायो । विमलले तीन वर्षको बेतलबी बिदालाई पनि सेवा अवधिमा गणना गरी ४० वर्ष ९ महिना ९ दिन बनाउन जोडबल गरे ।

तर, १८ फागुन२०७४ मा महाशाखाले विमलको बेतलबी बिदालाई सेवा अवधिमा नजोड्ने निर्णय गर्‍यो । किनकि, ८ वैशाख२०६८ मा त्रिविको नियम ३२ संशोधन गरी कुनै शिक्षक वा कर्मचारीले लिएको असाधारण बिदा (बेतलबी) सेवा अवधिमा गणना नगरिने प्रावधान राखिएको थियो ।

‘कुनै शिक्षक वा कर्मचारीले लिएको असाधारण बिदाको अवधि निजको सेवा अवधिमा गणना गरिने छैन’— नियम ३२ को उपनियम ४ मा भनिएको छ । यही उपनियमको व्यवस्था बमोजिम त्रिविका कानूनी सल्लाहकारले समेत रिमालको बेतलबी बिदा जोडेर पेन्सनपट्टा बनाउन नमिल्ने राय दिएका थिए ।

त्यसपछि रिमाल त्रिविको कर्मचारी प्रशासन महाशाखा विरुद्ध त्रिविकै पुनरावेदन आयोगमा गए । त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को परिच्छेद ३ मा रहेको सेवा शर्तको सुरक्षा विपरीत बेतलबी बिदा कट्टा गरिएको भन्दै उनले १२ वैशाख २०७५ मा पुनरावेदन पत्र (दर्ता नम्बर ०५) दर्ता गरे ।

‘कुनै पनि शिक्षक वा कर्मचारीलाई निजको नियुक्ति हुँदा तत्काल लागू रहेको तलब, उपदान, निवृत्तिभरण सम्बन्धी शर्तहरूमा निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गरिने छैन’— परिच्छेद ३ को नियम १७ को १ मा भनिएको छ ।

यसैलाई आधार बनाएर रिमाल पुनरावेदन आयोग गएका थिए ।  ‘मेरो सेवा अवधिबाट बेतलबी बिदा ३ वर्ष कट्टा गरिएकोमा सो बिदा गणना गरी पेन्सनपट्टा गराइपाऊँ’— विमलको पुनरावेदन पत्रमा भनिएको थियो ।

नियम संशोधन पूर्व पनि शिक्षक कर्मचारीले बेतलबी बिदाको सुविधा लिने गरेका थिए । तर त्यसबेला पनि बेतलबी बिदालाई सेवा अवधिमा जोड्न पाइने व्यवस्था सहितको कुनै नियम भने थिएन । ‘उक्त निर्णय हुनु पहिला पनि बेतलबी बिदा कट्टा गरी निवृत्तिभरण दिएको देखिन्छ’, सूचनाको हक प्रयोग गरी माग गरिएको विवरण पत्रमा त्रिविले भनेको छ ।

तर त्रिविको पुनरावेदन आयोगले अधिकृत रिमालको पक्षमा फैसला गरिदियो । आयोगका तत्कालीन अध्यक्ष विश्वनाथ जोशी, सदस्यद्वय दिनेशराज विष्ट र शोभा पोखरेलले २१ असार २०७५ मा रिमालले लिएको बेतलबी बिदालाई पनि गणना गरी पेन्सनपट्टा जारी गरिदिन त्रिविलाई भन्यो ।

‘नियम संशोधन पूर्व नै सेवा प्रवेश गरी सेवामा रहँदा पाउने सुविधा प्राप्त गरिसकेको अवस्थामा त्रिवि नियममा पछि भएको संशोधनले सो सुविधालाई अन्यथा भन्न मिल्दैन । अतः पछि भएको संशोधनको आधारले यी पुनरावेदकले पाउने निवृत्तिभरणमा ३ वर्षको सेवा अवधि कटाएको त्रिवि कर्मचारी प्रशासन महाशाखाको २०७४/११/१८को निर्णय नमिलेकाले बदर हुने ठहर्छ । यी पुनरावेदकले २०३४/२/२ देखि निज सेवा निवृत्त भएको दिनसम्मको पूरै सेवा अवधिमा गणना गरी निजको पेन्सनपट्टा जारी गरिदिनुपर्ने ठहर्छ’ —आयोगको फैसलामा भनिएको छ । विमल सो आयोगकै शाखा अधिकृत थिए ।

तत्कालीन पुनरावेदन आयोगका अध्यक्ष जोशी आफूले गरेको फैसलाबारे अहिले जानकारी नरहेको बताउँछन् । ‘धेरै समय भयो । के फैसला गरिएको थियो अहिले सम्झनामा छैन । तर रिमाल आयोगकै कर्मचारी भने हुन्’, तत्कालीन आयोगका अध्यक्ष जोशीले भने ।

यसो गर्नै मिल्दैन’

त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ३२ मा असाधारण (बेतलबी) बिदाको व्यवस्था गरिएको छ । जसमा स्थायी शिक्षक वा कर्मचारीले असाधारण बिदा लिन चाहेमा कारणसहित निवेदन दिनुपर्नेछ । कारण मनासिव देखिएमा त्रिविले एक पटकमा एक वर्ष नबढाई र सेवा अवधिभरमा तीन वर्ष नबढाई असाधारण बिदा दिन सक्नेछ ।

त्रिविको नियममा असाधारण बिदामा बस्ने शिक्षक, कर्मचारीले सो अवधिभर तलब भत्तापाउने छैन । सो बिदा पाउनको लागि पाँच वर्ष स्थायी सेवा अवधि पुगेको पनि हुनुपर्नेछ । र, असाधारण बिदाको स्वीकृत कार्यकारी परिषद्ले गर्ने नियम छ ।

२०६८ मा नियम संशोधन हुनुअघि नियम ३२ मा कुनै बिदा बाँकी नरहेमा वा सम्बन्धित शिक्षक वा कर्मचारीले बेतलबी बिदा पाउन निवेदन गरेको अवस्थामा स्थायी शिक्षक वा कर्मचारीलाई सम्पूर्ण सेवा अवधिमा अधिकतम ३ वर्षको बिदा दिइने भनिएको थियो ।

दुई वर्षभन्दा बढी अस्थायी वा करार सेवामा भएकालाई एक पटकमा २ महिनामा नबढाई सम्पूर्ण अस्थायी वा करार सेवा अवधिमा बढीमा ६ महिनाको बेतलबी बिदा दिन सकिने उल्लेख थियो । १५ वर्षभन्दा बढी अवधिको निमित्त पद सिर्जना भएका प्रोजेक्ट वा परियोजनाका अस्थायी पदमा सो अवधिभित्र नै उपभोग गर्ने गरी बढीमा ३ महिनासम्म असाधारण बिदा दिइने नियम थियो ।

तर असाधारण बिदालाई सेवा अवधिमा गणना गर्ने भनेर नियममा उल्लेख गरिएको थिएन । निजामती सेवामा पनि असाधारण बिदालाई सेवा अवधिमा गणना नगर्ने व्यवस्था छ ।

आयोगले गरेको फैसला त्रिविले मान्नुपर्ने नियम छ । शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम ११५ मा भनिएको छ— ‘आयोगको आदेश र निर्णयलाई मान्नुपर्ने मुद्दा मामिलाको रोहमा आयोगले दिएको आदेश वा निर्णय विश्वविद्यालयका सबै संगठन वा निकायले पालना गर्नुपर्नेछ ।’

आयोगले गरेको निर्णयविरुद्ध त्रिवि अदालत जान सक्थ्यो तर आफ्नै निकायको निर्णय विरुद्ध ऊ अदालत गएन । ‘मुद्दा मामिलामा जान उल्टो खर्च लाग्ने भएकाले अदालत नगएको हो । आयोगले गरेको फैसला न्यायसंगत थिएन । त्रिविलाई नै आर्थिक नोक्सान हुने फैसला थियो त्यो’, उपकुलपति कार्यालयका एक उच्च अधिकारीले भने ।

त्रिविका पूर्व रजिस्ट्रार पेशल दाहाल पुनरावेदन आयोगको निर्णय अन्तिम हुने बताउँछन् । ‘नियममा बेतलबी बिदालाई सेवा अवधिमा नजोड्ने भन्ने छ । २०६८ मा नियम संशोधन हुनुअघि जोड्ने वा नजोड्ने केही भनेको थिएन । पुनरावेदन आयोगको निर्णय अन्तिम हुने भनिएको छ’ उनले भने, ‘त्रिविभित्रकै एउटाले गरेको निर्णयको विरुद्ध अर्को अदालत जाने कुरा पनि भएन ।’

अनि प्राध्यापकले जोडेर पेन्सन खान थाले

त्रिविको पुनरावेदन आयोगले रिमालको हकमा गरेको फैसलालाई नजिर देखाएर प्राध्यापकहरूले पनि बेतलबी बिदालाई सेवा अवधिमा जोड्न पाउनुपर्ने दलिल प्रस्तुत गरे ।पाटन संयुक्त क्याम्पसका प्राध्यापक शंकरप्रसाद भण्डारी पनि २५ जेठ २०७६ मा अवकाश लिएपछि पेन्सनपट्टा बनाउन कर्मचारी प्रशासन महाशाखा पुगे । उनले पनि बेतलबी बिदालाई सेवा अवधिमा जोड्न कर्मचारीलाई दबाब दिए ।

तर महाशाखाले उनको सेवा अवधि जोड्न आनाकानी गर्‍यो । त्यसपछि प्राध्यापक भण्डारीले रजिस्ट्रार कार्यालयमा आफूले पनि बेतलबी बिदालाई सेवा अवधिमा जोड्न पाउनुपर्ने भन्दै निवेदन दिए । ‘कर्मचारीले मिल्दैन भनेपछि कानूनी सल्लाहकारसँग राय लिएँ । सल्लाहकारले मिल्छ भनेपछि निवेदन दिएको हुँ’, भण्डारीले भने ।

उनले ८ चैत २०४१ देखि लागू हुनेगरी २ वर्ष १ महिना २ दिनको बेतलबी बिदा लिएका थिए । अन्ततः बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन खान उनले त्रिविको कार्यकारी परिषद्‍बाट निर्णय गराए ।

त्रिविको कानुनी सल्लाहकारले पनि विमल रिमालको नजिर देखाएर प्राध्यापकको हकमा पनि बेतलबी बिदालाई सेवा अवधिमा जोड्न मिल्ने राय दियो । त्यसैको आधारमा त्रिवि कार्यकारी परिषद्ले ११ माघ २०७६ मा भण्डारीको पक्षमा निर्णय गर्‍यो । (निर्णय नम्बर १५०)

तत्कालीन कार्यकारी परिषद्‍मा उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल, रजिस्ट्रार प्रा.डा. पेशल दाहाल, सदस्यमा प्रा.डा. रामप्रसाद खतिवडा, प्रा.डा. कृष्णप्रसाद गौतम, प्रा.डा. विनोद पराजुली र प्रा.डा. प्रेमसागर चापागाईंले यो निर्णय गरेका हुन् ।

२०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले बास्कोटालाई उपकुलपतिमा नियुक्त गरेका थिए । उपकुलपति भएको तीन महिनामा नै बास्कोटा नेतृत्वको कार्यकारीले ८ वैशाख २०६८ भन्दा अगाडिको बेतलबी बिदालाई सेवा अवधिमा गणना गर्ने निर्णय गर्‍यो । तर, तत्कालीन उपकुलपति बास्कोटा यो निर्णयबारे अनभिज्ञता देखाउँछन् ।

‘बेतलबी बिदा सेवा अवधिमा गणना हुँदैन । यस्तो निर्णय मेरो कार्यकालमा भयो जस्तो लाग्दैन । हामीले रातो किताबमा जे छ त्यही मात्र फलो गरेको हो । यदि पुनरावेदन आयोगले कुनै फैसला गरेको भए त्यसको कार्यान्वयन गर्न बाध्यकारी हुन्छ’, बास्कोटाले भने ।

भण्डारीको नजिर देखाएर देखाएर प्राध्यापकहरूले भटाभट बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन खाइरहेका छन् । यसरी पेन्सन खानेमा बहालवालादेखि पूर्व पदाधिकारीसम्म छन् । तत्कालीन उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले आफ्नो कार्यकालमा निर्णय गरेर आफैंले २ वर्ष ११ महिना १४ दिनको बेतलबी बिदालाई सेवा अवधिमा जोडेका छन् ।

यसरी कार्यकारी परिषद्को निर्णयपछि भण्डारीले २ वर्ष १ महिना २ दिनको बेतलबी बिदालाई जोडेर ३६वर्ष ११ महिना ११ दिन बनाए । हाल उनले मासिक ४० हजार ५२९ रुपैयाँ पेन्सन बुझिरहेका छन् । ‘पुनरावेदन आयोगले एक कर्मचारी(विमल) को फैसला गरेको थियो । त्यही नजिरलाई टेकेर कार्यकारी परिषद्ले निर्णय गरेको हो’, भण्डारीले भने ।

कानूनमा नभएको कुरा निर्णय गरेर पेन्सन लिन मिल्छ ? भन्ने प्रश्नमा भण्डारीले भने, ‘मिल्ने नमिल्ने मलाई थाहा छैन । कानूनी राय लिएर टुंगिएको कुरा हो ।’ प्राध्यापककको तर्फबाट बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन खाने भण्डारी पहिलो व्यक्ति हुन् ।

उनी विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव समेत बनेका थिए । तत्कालीन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सिफारिशमा प्रधानमन्त्री केपी ओलीले भण्डारीलाई आयोगको सदस्य सचिवमा नियुक्त गरेका थिए । त्रिविका कर्मचारीहरू शक्तिको आडमा भण्डारीले कार्यकारीबाट निर्णय गराएको दाबी गर्छन् ।

त्रिविका उपकुलपति केशरजंग बराल बेतलबी बिदालाई जोडेर पेन्सन लिने गरेको सत्य भएको बताउँछन् । ‘किन र कहिलेदेखि लिन थालेको हो थाहा छैन । मेरो कार्यकालमा निर्णय भएको होइन । तर जोडिरहेको कुरा सत्य हो’ उपकुलपति बरालले भने, ‘बेतलबी बिदा सेवा अवधिमा जोडिंदैन । शक्तिशाली मानिसको गणना नभएसम्म अरूको भएन होला ।’

बहालवालादेखि पूर्व पदाधिकारीसम्म

भण्डारीको नजिर देखाएर देखाएर प्राध्यापकहरूले भटाभट बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन खाइरहेका छन् । यसरी पेन्सन खानेमा बहालवालादेखि पूर्व पदाधिकारीसम्म छन् । तत्कालीन उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले आफ्नो कार्यकालमा निर्णय गरेर आफैंले २ वर्ष ११ महिना १४ दिनको बेतलबी बिदालाई सेवा अवधिमा जोडेका छन् ।

बेतलबी बिदालाई जोडेर ४० वर्ष ४ महिना २८ दिन  सेवा अवधि बनाएर २४ असोज २०७७देखि बास्कोटाले पेन्सन लिएका छन् । उनी हाल मासिक ५२ हजार ३१२ रुपैयाँ पेन्सन बुझिरहेका छन् ।

‘बेतलबी बिदामा बसेको हुँ । छात्रवृत्तिमा रूसमा पढ्न जाँदा बिदा लिएको हुँ । बेतलबी बिदा के हिसाबले गणना भयो थाहा छैन’, बास्कोटाले भने, ‘यदि गणना भएको भए पनि नियम संगत ढंगले भयो होला । एउटाले पाउने अर्कोले नपाउने भन्ने हुँदैन ।’

बहालवाला उपकुलपति केशरजंग बरालले पनि बेतलबी बिदालाई सेवा अवधिमा जोडेका छन् । ३७ वर्ष ३ महिना १५ दिन सेवा अवधिमा बेतलबी बिदालाईसमेत जोडेर १७ भदौ २०७७देखि उनले पेन्सन लिन थालेका हुन् । तर हाल त्रिविको उपकुलपति रहेकाले उनले पेन्सनको सट्टा पदाधिकारीको सेवा मात्र उपभोग गरेका छन् ।

उनले दुई पटक बेतलबी बिदा लिएका थिए । पहिलो पटक ९ महिना २६ दिन र दोस्रो पटक २ वर्ष १ महिना २९ दिन । ‘पेन्सनपट्टा बनाउन जाँदा कर्मचारीले एक हप्ता अघि निर्णय भएको हो । कार्यकारीले नै निर्णय गरेर ८ वैशाख२०६८ अगाडिको बिदालाई सेवामा जोड्नु भनेको रहेछ । जोड्नुको कारण मलाई नै थाहा थिएन, छैन’ उपकुलपति बरालले आश्चर्य हुँदै भने, ‘नियममा नभएको त्यो बेलाको कार्यकारीले कसरी निर्णय गर्‍यो ?’

उपकुलपति भएपछि आफूले पेन्सन नलिएको उनले स्पष्ट पारे । ‘नियमले पदाधिकारीको सेवा र पेन्सन दुवै लिन पाइन्छ । तर उपकुलपति भएपछि मैले पेन्सन नलिने घोषणा गरेको छु’, बरालले भने ।

कतिपय प्राध्यापकलाई त पेन्सनपट्टामा बेतलबी बिदा जोडिएको बारेमा जानकारी समेत छैन । तत्कालीन कार्यकारी परिषद्ले निर्णय गरेर कर्मचारी प्रशासन महाशाखालाई ८ वैशाख २०६८अगाडिको बिदालाई गणना गरी पेन्सनपट्टा बनाइदिन परिपत्र गरेकाले प्राध्यापकले थाहै नपाई जोडिने गरेको पाइएको हो ।

तीमध्येका एक हुन्, हालको रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल । उनले २१ साउनमा पेन्सनपट्टा बनाए । रिजालले १ वर्ष बेतलबी बिदा लिएका थिए । उनले अवकाश लिनुअघि नै रजिस्ट्रारमा नियुक्त भएकाले पेन्सनपट्टामा बेतलबी बिदा जोडिए पनि पेन्सन लिएका छैनन् ।

रजिस्ट्रार रिजालले ३२ वर्ष ४ महिना १२ दिन सेवा अवधिमा बेतलबी बिदालाईसमेत जोडेर २१ साउन २०८१ मा पेन्सनपट्टा बनाएका हुन् । उनी २०८० चैतमा रजिस्ट्रार पदमा नियुक्त भएका थिए ।

‘अस्ति साउनमा पेन्सनपट्टा बनाएको हुँ । दोहोरो सुविधा नलिने भनेर पेन्सन लिएको छैन । बेतलबी बिदा कसरी जोडियो थाहा छैन । पहिलो पटक सुन्दैछु’, रजिस्ट्रार रिजालले अनलाइनखबरसँग भने ।

चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. अरुण सायमीले पनि बेतलबी बिदालाई जोडेर पेन्सन बुझिरहेका छन् । उनले ५ महिना ८ दिन बेतलबी बिदा लिएका छन् । ३७ वर्ष ५ महिना सेवा अवधिमा बेतलबी बिदालाईसमेत जोडेर २० जेठ २०७७देखि पेन्सन लिएको पाइएको छ । ‘डीनबाट बिदा भएकै थुप्रै भइसक्यो । यसबारे केही थाहा छैन । बिरामी हेर्ने मात्रै थाहा छ’, पूर्व डीन सायमीले भने ।

इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डीन डा.त्रिरत्न बज्राचार्यले पनि २ वर्ष १२ दिन बेतलबी बिदा लिएका छन् । ३९ वर्ष ३ महिना १६  दिन सेवा अवधिमा बेतलबी बिदासमेत जोडेर १५ असोज २०८० देखि पेन्सन लिइरहेका छन् ।

अवधि नै नपुग्नेले पनि खाइरहेका छन् पेन्सन

त्रिविको नियममा स्थायी भएको २० वर्ष वा सोभन्दा बढी समयसम्म विश्वविद्यालय सेवामा संलग्न शिक्षक वा कर्मचारीले अवकाशप्राप्त गरेको मितिदेखि निवृत्तिभरण पाउने भनिएको छ । तर २० वर्ष नै सेवा नगरेकाले समेत बेतलबी बिदालाई सेवा अवधिमा जोडेर मासिक पेन्सन खाइरहेका छन् ।

त्रिविको भवन

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान पोखराका उप–प्राध्यापक कृष्णमोहन श्रेष्ठले बेतलबी बिदा जोडेर सेवा अवधि २० वर्ष बनाएका छन् । उपदान लिनुपर्ने श्रेष्ठले मासिक पेन्सन बुझिरहेका छन् । अनलाइनखबरले प्राप्त गरेको विवरणमा उनी २ वर्ष १२ दिन बेतलबी बिदामा बसेका छन् ।

यसलाई जोडेर २० वर्ष ९ महिना १९ दिन सेवा अवधि बनाएर पेन्सन बुझिरहेका छन् । उनले उपदान लिनुपर्ने हो तर बेतलबी बिदा जोडेर पेन्सनपट्टा बनाएको देखिन्छ । रेकर्डमा ३ माघ २०६६ माउनले त्रिविबाट बिदा लिएको देखिन्छ ।

महाराजगञ्ज चिकित्सा क्याम्पसका प्राध्यापक डा.मुख्तार आलम अन्सारीको बेतलबी बिदा १ वर्ष ४ महिना २८ दिन नजोड्ने हो भने पेन्सन नै पाउँदैनन् । उनले उपदान लिनुपर्ने हुन्छ । तर बेतलबी बिदा जोडेर सेवा अवधि २१ वर्ष १ महिना १६ दिन बनाएर १४ कात्तिक २०७८देखि पेन्सन लिएको पाइएको छ । उनले मासिक ३३ हजार ४३० रुपैयाँ पेन्सन खाइरहेका छन् ।

शिक्षक कर्मचारी जुन तहबाट निवृत्त हुने हो सोही तहमा खाईपाई आएको अन्तिम तलब स्केललाई सेवा अवधिको आधारमा गणना गरेर पेन्सन दिइने नियम त्रिविको छ । एक उच्च अधिकारीका अनुसार, उपदानमा जानुपर्ने तर बेतलबी बिदा जोडेर पेन्सन खाने प्राध्यापकको संख्या धेरै छ ।

१२६ जना प्राध्यापकको मात्रै हिसाब गर्दा पनि त्रिविबाट वार्षिक ६ करोड ७३ लाख बढी रकम पेन्सनमा गएको देखिन्छ । यो रकममा बेतलबी बिदासमेत जोडिएको छ ।

यसरी प्राध्यापकहरूले नै त्रिविलाई दोहन गरिरहेको प्राज्ञहरू बताउँछन् । ‘पुनरावेदन आयोग र कार्यकारीबाट भएको निर्णय नीतिगत भ्रष्टाचार हो । प्राध्यापकले नै त्रिविलाई दोहन गरिरहेको देखियो । त्रिविमा एउटा व्यक्तिलाई हेरेर निर्णय गरिन्छ’, प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले भने ।

१२६ जनाको विवरण भेटियो

बेतलबी बिदालाई सेवा अवधिमा जोडेर शिक्षक, कर्मचारीले पेन्सन खाँदा त्रिविलाई ठूलो आर्थिक भार परेको देखिन्छ । त्रिविका अनुसार हाल उपप्राध्यापकदेखि प्राध्यापकसम्म कुल ४ हजार १५६ जनाले पेन्सन लिइरहेका छन् । १६ महिना लगाएर गरिएको खोजबिनमा बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन खाने प्राध्यापक १२६ जना भेटिएका छन् । यो संख्या अझै धेरै हुने त्रिविका कर्मचारीहरूको दाबी छ ।

यस्ता प्राध्यापकको विवरण सम्बन्धित क्याम्पस, संस्थान, डीनको कार्यालय, केन्द्रीय विभागमा पुगेर संकलन गरिएको हो । त्रिवि स्रोतका अनुसार, ठूलो संख्याका कर्मचारीले पनि बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन खाइरहेका छन् ।

१२६ जना प्राध्यापकको मात्रै हिसाब गर्दा पनि त्रिविबाट वार्षिक ६ करोड ७३ लाख बढी रकम पेन्सनमा गएको देखिन्छ । यो रकममा बेतलबी बिदासमेत जोडिएको छ ।

पेन्सन आजीवन पाउने भएकाले यो नरोकिए त्रिविलाई थप आर्थिक भार पर्नेछ । किनकि, पेन्सन खाइरहेको व्यक्तिको सेखपछि पनि इच्छाएको व्यक्तिले आधा पेन्सन पाउने नियम छ । बेतलबी बिदालाई सेवा अवधिमा गणना गर्न नरोके त्रिविलाई वर्षेनि आर्थिक भार र नोक्सानी बढिरहने प्राज्ञहरू बताउँछन् ।

‘त्रिवि नेतृत्वको काम के हो ? त्रिविलाई आर्थिक भार पर्ने गरी कसरी निर्णय भयो ?’ मानविकी तथा सामाजिकशास्त्र संकायकी पूर्वडीन प्रा.डा. कुसुम शाक्य प्रश्न गर्छिन् ।

प्राध्यापक कृष्ण खनाल नियममा नभएको सेवा–सुविधा लिन नमिल्ने मत राख्छन् । ‘नियममा नभएको सुविधा पाउने कुरै भएन । मैले त्रिवि छोडेको धेरै भयो । पहिले पनि असाधारण बिदा सेवा अवधिमा जोड्ने गरेको थिएन’, प्रा.डा. खनालले भने ।

कभर स्टोरी
लेखकको बारेमा
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?