+
+
Shares

हिउँद सकिनै लाग्दा वर्षा र हिमपात

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते १६:३९
फाइल फोटो

१६ फागुन, काठमाडौं । हिउँदयामको अन्तिम अवधिमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहितका जिल्लामा पानी परेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी प्रभाव रहेकाले बढी पानी परिरहेको छ । पूर्वतर्फ कम प्रभाव रहेकाले पानी पनि कम परेको छ ।

यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी वर्षा बैतडीमा भएको छ । गत २४ घण्टामा बैतडीको डिलासैनीमा ३९ मिलिमिटर र गोठालपानीमा ३४ मिलिमिटर वर्षा भएको छ ।

यसैगरी बाजुरामा ३८, जुम्लामा ३३ र कालिकोटमा ३० मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै कास्कीको माछापुच्छ्रे क्याम्पमा २४.८ मिलिमिटर वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद शान्ति कँडेलले अनलाइनखबरसँग भनिन्, ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरुमा र गण्डकी, बागमतीका पहाडी भूभागका एक/दुई स्थानमा वर्षा भइरहेको छ ।’

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि भइरहेको छ । रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ।

हुम्लामा पनि बाक्लो हिउँ परेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको लुकुम–पातीहाल्ना सडकखण्डमा परेको हिउँ । हिमपातले यातायात अवरुद्ध छ । फोटो : बालाराम शेर्पाली

काठमाडौंमा पनि आज बिहान छिटफुट वर्षा भएको छ । यस्तो अवस्था आज दिनभरी नै हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

वरिष्ठ मौसमविद कँडेलका अनुसार आज हल्कादेखि मध्यम वर्षा हुने र भोलिबाट मात्र क्रमिक सुधार आउने सम्भावना छ । ‘आजभन्दा भोलि देशभर नै हल्का सुधार हुन्छ । तर हल्का वर्षाको सम्भावना भोलि पनि रहन्छ,’ उनले भनिन् ।

उनका अनुसार काठमाडौंमा आज दिनभर नै पानी पर्ने र रोकिने क्रम जारी रहने छ । तर धेरै पानी भने पर्ने छैन । ‘काठमाडौंमा आज सिमसिम पानी पर्छ र दिनभर नै डिस्टर्ब होलाजस्तो देखिन्छ,’ कँडेलले भनिन् ।

मौसमविदहरुका अनुसार यो पानीले गर्दा प्रदूषण अघिल्ला दिनको तुलनामा केही कम हुने सम्भावना छ ।

हिउँदयाम भनेर (डिसेम्बर, जनवरी र फेब्रुअरी अर्थात् १५ मंसिरदेखि १५ फागुनसम्म)को अवधिलाई बुझिन्छ । यो अवधिमा नेपालमा सरदर ६० मिलिमिटर पानी पर्दछ । तर अहिलेसम्म सरदरभन्दा कम वर्षा मापन भएको बरिष्ठ मौसमविद कँडेलले बताइन् ।

विगतका हिउँदयाम लगातार सुक्खा हुँदै गएका छन् । यसबाट खाद्य चक्रमै असर पर्ने चिन्ता विज्ञहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?