
१६ फागुन, विराटनगर । नेकपा माओवादी केन्द्रले सुनसरीको देवानगञ्जमा गरेको सभामा मोहन मेहता पनि सहभागी थिए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने खबर पाएपछि देवानगञ्ज गाउँपालिका–३, का स्थानीय मेहता सभा हेर्न आएका थिए ।
उनले प्रचण्डको भाषण सुने, र भने– कुरा राम्रै लाग्यो ।
देवानगन्जअघि बर्जु गाउँपालिका–१, को शुक्रबारे बजारमा प्रचण्ड नेतृत्वको माओवादी नेताहरूको भेटघाट कार्यक्रम थियो । यहाँ पनि प्रचण्डले संक्षिप्त भाषण गरे ।
प्रचण्डलाई सुनेपछि स्थानीय रामरुप कामतले भने– भाषण त सबै नेताको उस्तै लाग्छ ।
राम्रै कुरा गर्ने नेतालाई आसेपासेले बिगार्ने उनको बुझाइ थियो । ‘नेता त राम्रै हुन्छन्, तर उसको छेउछाउ बस्नेले बिगार्छ,’ रामरुपले भने ।
तराई–मधेश जागरण अभियानका नाममा हुलाकी राजमार्गकेन्द्रित यात्रामा रहेका माओवादी अध्यक्ष प्रचण्डले हरेक जसो सम्बोधनमा सत्ता गठबन्धनलाई गाली गर्न छुटाउँदैनन् । आफ्ना पछिल्लो १८ महिना कार्यकालमा भएका काम सुनाउँछन्, अनि ०८४ को चुनावमा फेरि एक पटक अवसर दिन आग्रह गर्छन् ।
सर्वसाधरणसँग प्रचण्ड
अभियानका क्रममा प्रचण्डको व्यवहारले पनि स्थानीयलाई प्रभावित पारिरहेको छ । ठाउँठाउँमा आयोजित कार्यक्रम र भेटघाटमा प्रचण्ड मुसुक्क हास्छन् र हालखबर सोध्छन् । स्वागत, भेटघाट र मर्निङवाकमा भेटिएकालाई पनि नाम सोध्छन्, प्रचण्ड ।


कहिले भक्का खाएर त कहिले केराको पातमा खाना खाएर जनतासँग नजिक हुने प्रयास गरेको देखिन्छ । अभियानका क्रममा उनको खानपान अन्य कार्यकर्ताको जस्तै छ । बिहीबार बिहान बर्जुमा कार्यकर्तासँग चना चिउरा खाएका प्रचण्डले देवानगञ्जमा कार्यकर्ताको घरमा दाल–भात खाए ।

माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोका अनुसार, प्रचण्डले सकेसम्म धेरै सर्वसाधारणसँग गफ गर्दैछन्, अन्तरक्रिया गर्दैछन् । सम्बोधनका क्रममा पनि स्थानीय समस्या सम्बोधनको आश्वासन दिइरहेका छन् ।
मन्तब्यअघि स्थानीयको समस्याबारे ब्रिफिङ लिने गरेको नेताहरू बताउँछन् । बिहीबार बर्जु गाउँपालिकाको शुक्रबारे, बर्जुताल, देवानगञ्जको पाँचौंसिमर, हरिनगरको घुस्की, गढी, इनरुवा, कोशी गाउँपालिकामा प्रचण्डले सम्बोधन गरे ।
अभियानका क्रममा प्रचण्डले मुस्लिम समुदायसँग निरन्तर छलफल गरिरहेका छन् । मंगलबार मोरङमा मुस्लिम समुदायसँग छलफल गरेका उनले सुनसरीको घुस्कीमा मुस्लिम समुदायको टोपी लगाए । त्यसपछि मदर्सामा पुगेका उनले मौलानाबाट आर्शिवाद लिए । पीछडिएका समुदायको पक्षमा लड्ने पार्टी माओवादी मात्र रहेको दाबी गरे ।

केन्द्रीय राजनीतिका विषयमा भने उनले बोल्ने विषय रेडिमेट जस्तै छन् । केचनकवलको उद्घाटन सत्रदेखि चौथो दिनको सुनसरीको सत्तरझोडाको जागरणसभामा उनले व्यक्त गर्ने आसय र शैली उस्तै छ ।
‘हामीले सुरु गरेको सुधारात्मक कार्य रोकेर सरकारले भ्रष्ट, माफिया र बिचौलियालाई सहयोग पुग्ने मात्रै काम गरिरहेको छ,’ उनले भनिरहेका छन्, ‘अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको छ ।’
मधेशको ठूलो सम्भावना भनेकै कृषिमा रहेको उल्लेख गर्दै उनले कृषि पेन्सन, कृषि बीमा, ठाउँठाउँमा शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने र यसका लागि आफ्नो पार्टीले पहल गर्ने बताए ।
जागरण अभियानका लागि पूर्वनिर्धारित कार्यक्रम स्थलमा जम्मा भएका कार्यकर्ता र स्थानीयलाई सम्बोधन गरेर प्रचण्ड अर्काे कार्यक्रमका लागि दौडन्छन् । कोशी प्रदेशका तीन जिल्लामा अभियानका क्रममा प्रचण्डले एउटा कार्यक्रमका लागि औसत २ घण्टा छुट्याएका थिए ।

मधेशमा जोडिए महिन्द्र
माओवादी केन्द्रको जागरण अभियानमा नेपाल समाजवादी पार्टी (नेसपा) पनि जोडिएको छ । सो पार्टीका अध्यक्ष महिन्द्र राय यादव सुनसरीबाट अभियानमा जोडिएका हुन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्यका अनुसार यादव अब नियमित अभियानमा हिड्नेछन् ।
यादवले पनि संविधान रक्षाका लागि माओवादीको अभियानमा सँगै हिंडेको बताएका छन् । माओवादी कमजोर हुँदा संविधानको रक्षा हुन नसक्ने बताउँदै उनले माओवादी जनयुद्ध र मधेश आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि बचाउन लागि अभियानमा हिंडेको बताए ।
नेसपा र माओवादीबीच पार्टी एकताको तयारी छ । यादवले माओवादी केन्द्रले नाम फेरेको भोलिपल्ट पार्टी एकता हुने बताए । यादव २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित भएका थिए ।



प्रतिक्रिया 4