
१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा वर्तमान कार्यसमितिका दुवै महामन्त्री अनुपस्थित भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अनुपस्थित भएका हुन् । उनीहरुले राजधानी बाहिर भएकाले बैठकमा सहभागी नभएको बताए ।
पाेखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबारको ‘निराशा व्याख्या र वास्तविकता’ सेसनका वक्ता रहेका थापा कार्यक्रम सकेपछि हवाई मार्गबाट काठमाडौं आउने र बैठकमा सहभागी हुने तालिका थियो । तर खराब मौसमका कारण जहाज उड्न नसक्दा उनी स्थल मार्गबाट काठमाडौं प्रस्थान गरेका छन् । यसअघि बिहीबार उनी पोखरामै भएको लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसमा सहभागी भएका थिए ।
अर्का महामन्त्री शर्मा गृहजिल्ला झापामा छन् । शर्माले २३ फागुनमा मात्रै काठमाडौं आउने बताएका छन् ।
अध्यादेश, संसद्मा दर्ता भएका विधेयक, भ्रातृ संस्थाको अधिवेशन लगायतमा छलफल गर्न सभापति देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् ।
प्रतिक्रिया 4