+
+
Shares
नेमकिपाको आठौं महाधिवेशन :

ठूला दललाई अध्यक्ष बिजुक्छेको चुनौती– विकास कसरी गर्ने नेमकिपाबाट सिक्नूस्

१० माघ २०३१ मा स्थापना भएको नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन १९ फागुनसम्म चल्नेछ । देशभरबाट प्रतिनिधि र पर्यवेक्षक सहभागी महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते १९:३५

१६ फागुन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले विकास कसरी गर्ने भनेर आफूहरूबाट सिक्न दलहरूलाई चुनौती दिएका छन् ।

रोजगारी दिने नाममा राज्यको ढुकुटी आफ्नो मान्छेमाथि खर्च गर्नु समाजवाद नभएको उनको भनाइ छ । आज भक्तपुरमा भएको नेमकिपाको आठौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले यस्तो बताएका हुन् ।

रोजगारको नाममा आफ्नो मान्छेलाई राज्यको ढुकुटी बाँड्ने, ठाउँठाउँमा छर्ने कामले रोजगारी सिर्जना गर्न पनि नसक्ने उनको भनाइ छ ।

‘अहिलेका राजनीतिक दलसँग जनतालाई केन्द्रमा राख्ने विचार पनि छैन । विकास कसरी गर्ने भन्ने सही योजना पनि छैन,’ आफ्नो पार्टीका उम्मेदवारले जितेका स्थानको विकासबाट सिक्न आग्रह गर्दै उनले भने, ‘अहिलेका राजनीतिक दलसँग तागत छ भने विकास गरेर देखाउन् होइन भने माफी मागुन् र हामीबाट सिकुन् ।’

उनले विगतदेखि अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीको गलत सोचका कारण मुलुक संकटमा पर्दै गएको टिप्पणी गरे । ‘विदेशी ऋण बढेको बढ्यै छ । आफ्नालाई रोजगारीको नाममा राज्यको ढुकुटी लुट्ने काम भइरहेको छ । देश झन्झन् संकटमा पर्दै गएको छ,’ उनले भने, ‘देशका सबै प्रधानमन्त्री र अर्थमन्त्री अपराधी हुन्, उनीहरूलाई टुडीखेलमा उभ्याएर र जनताले सोध्नुपर्नेछ ।’

अध्यक्ष बिजुक्छेले वर्तमान सरकारसँग विगतका सबै गल्ती सच्याएर देश र जनताको लागि राम्रो काम गर्ने अवसर रहेको तर नसच्चिए उनीहरू पनि इतिहासको कठघरामा उभिनुपर्ने जिकिर गरे । ‘हामी अहिलेको सरकारलाई पनि भन्छौं– तिमीहरूले पनि गल्ती सच्याएनौ भने जनताले तिमीहरूलाई पनि इतिहासले कठघरामा उभ्याउने छन् ।’

आजबाट सुरु भएको महाधिवेशन १९ फागुनसम्म चल्नेछ । महाधिवेशनमा काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाहरूबाट प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् ।

उद्घाटन समारोहअघि बिहान कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौंको कोटेश्वर, ताथलीलगायत ठाउँबाट झाँकीसहितको र्‍याली निकालिएको थियो ।

आठौं महाधिवेशनको उद्घाटन समारोहअघि भक्तपुरमा निकालिएको र्‍याली । तस्वीर : रासस ।

उनले नेमकिपाका जनप्रतिनिधि निर्वाचित भएका स्थानमा ठूला दलका असहयोगका बाबजुद विकास निर्माणमा नमूना कामहरू भएको बताए । ‘केन्द्रको सरकार ठूला दलले चलाएका छन् । त्यसैले बजेटमा उनीहरूकै हालीमुहाली छ ।पालिकाहरूमा जहाँजहाँ हाम्रा जनप्रतिनिधि निर्वाचित भएका छन्, ती ठाउँमा प्राप्त बजेट जनतासँग प्रत्यक्ष जोडिने खालको विकासमा खर्च गर्ने गरिएको छ । हाम्रा जनप्रतिनिधिले आफैं मनलाग्दी खर्च गर्दैनन्, पार्टीको सिद्धान्त, नीति–विचार र घोषणापत्रको आधारमा काम गर्दै आएका छन्,’ उनले भने ।

देशका कुल ७५३ पालिकामध्ये भक्तपुर नगरपालिकामा नेमकिपाले एकलौटी जित्दै आएको छ । नयाँ संविधान जारी हुनुअघि पनि भक्तपुरको नेतृत्वमा नेमकिपा नै रहँदै आएको थियो । लामो समयदेखि नेमकिपाले नेतृत्व गरिरहेको भक्तपुरलाई विकासको नमूना मान्ने गरिन्छ ।

शिक्षा, स्वास्थ्यमा विशेष बजेट खर्चिने गरेको यस नगरपालिकाले प्राविधिक जनशक्ति तयार पार्न विशेष प्राथमिकता दिने गरेको छ । यस्तै, कला–संस्कृतिको संरक्षण, जेष्ठ नागरिकहरूलाई घरैमा चिकित्सकसहित नर्सिङ सेवा प्रदान गर्दै आएको छ । उच्च शिक्षा अध्ययन गर्न भक्तपुर नगरपालिकाले शैक्षिक ऋणसमेत दिने गरेको छ ।

आठौं महाधिवेशनको उद्घाटन समारोहअघि भक्तपुरमा निकालिएको र्‍यालीमा अध्यक्ष नारायणमान बिजुक्छेलगायत। तस्वीर : रासस ।

आजैबाट बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रले विभिन्न एजेन्डा पारित गर्दै नयाँ नेतृत्व समेत चयन गर्नेछ । नेमकिपा स्थापना भएदेखि नै नारायणमान बिजुक्छे (रोहित) पार्टी अध्यक्ष छन् । १० माघ २०३१ मा बिजुक्छेको नेतृत्वमा नेपाल मजदुर किसान पार्टी स्थापना भएको थियो । नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।

झाँकीसहितको र्‍याली । तस्वीर : रासस ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?