+
+
Shares

श्रीमानको साथले ‘नमुना’ बनेकी नमुना

डोकोमा साग बेच्थिन्, अहिले फार्ममै व्यापारीको भीड

श्रीमान् दीपककै साथ र सहयोगले नमुना अहिले ४५ रोपनीको विशाल कृषि फार्मको मालिक बनेकी छिन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ फागुन १७ गते १९:१५

१७ फागुन, काठमाडौं । यतिबेला सिस्ने जलजला एग्रिकल्चर प्रालि कृषि फार्म काउलीका फूलले ढकमक्क ढाकिएको छ । टमाटरका बीउ टुसाउँदै छन् । बन्दा पनि पात बेर्दैछन् । व्यापारीको पनि चहलपहल छ । यो दृश्य हो, ललितपुर गोदावरी नगरपालिका–१३ गंगटेखोलामा रहेको व्यावसायिक कृषि खेती गरिरहेकी नमुना ओली केसीको फार्मको ।

फार्ममा तरकारी किन्न लागेको व्यापारीको भीडले नमुनालाई अहिले भ्याइनभ्याइ छ । उनको फार्मबाट व्यापारीले तरकारी कालीमाटी, बल्खु लगायत तरकारी बजार पुर्‍याउँछन् ।

२०७२ सालमा नमुना डोकोमा तरकारी बेच्दै हिँड्थिन् । त्यतिबेलादेखि अहिलेसम्म आइपुग्दा नमुनाका संघर्ष भने सानातिना रहेनन् । तर, अहिले नमुनालाई धेरै सहज छ । यो सहजताका कारण हुन् उनका श्रीमान् दीपक केसी ।

श्रीमान् दीपककै साथ र सहयोगले नमुना अहिले ४५ रोपनीको विशाल कृषि फार्मको मालिक बनेकी छिन् ।

जनयुद्धको रापतापमा बिहे, श्रीमान्को साथले अघि बढ्दै

रोल्पाको सामान्य गाउँमा जन्मेकी नमुनाले जनयुद्धको रापताप भएका बेला सानै उमेरमा रुकुमका दीपकसँग बिहे गरेकी थिइन् । कारण थियो– माओवादी जनयुद्ध ।

त्यो समय माओवादीले जनसत्ता बनाउँदै हिँड्ने भन्दै घरबाटै केटाकेटीलाई लिएर जान्थ्योे । रोल्पा ठूलोचौर भन्ने स्थानमा माओवादीको तालिम हुन्थ्यो, नमुनालाई पनि माओवादीले लैजाने डरले सानै उमेरमा बिहे भयो । तर, पढाइ र सीप नहुँदा उनको दैनिकी भने सामान्य गृहणीमा मात्रै सीमित हुन पुग्यो ।

आफ्नै फार्मबाट उनले अहिले वार्षिक ३० देखि ४० लाख रुपैयाँ कारोबार गर्छिन् । जसबाट २० लाख खर्च हुँदा पनि १५ देखि २० लाख रुपैयाँ बचत हुने गरेको छ

श्रीमान्ले पढ्न पाए पनि नमुनालाई भने घरको जिम्मेवारी आइपर्‍यो । उनले पढाइलाई निरन्तरता दिन सकिनन् । रुकुममै बसेर अध्ययन गरिरहेका श्रीमान् दीपक २०६७ सालमा काठमाडौं पढ्न आएपछि उनी गाउँमै घर धान्ने र बालबच्चा हुर्काउनतिर व्यस्त भइन् ।

जब श्रीमान्ले सरकारी अधिृकतमा नाम निकाले, त्यसपछि उनको पनि यात्रा काठमाडौं सोझियो । श्रीमान्को एक्लो कमाइले बालबच्चा सहित काठमाडौं बसाइ कठिन बन्दै गयो । त्यसपछि सहजताका लागि नमुनालाई श्रीमान्ले कृषि फार्म खोल्न सल्लाह दिए ।

श्रीमानकै अग्रसरतामा नमुनाले रोल्पा र रुकुम जोड्ने ‘सिस्ने जलजला’ फार्म खोलिन् । त्यसपछि आफैंले उत्पादन गरेका तरकारी डोकोमा बोकेर बेच्न थालिन् ।

उनको सुरुवाती समय संघर्षपूर्ण रह्यो । गाउँका कोही मान्छेले देखे ‘काठमाडौं गएर त डोकोमा साग बेच्न थालिछे’ भन्लान् भन्ने डरले उनलाई सताउँथ्यो ।

वर्षमा सबैले गरेर २/३ करोडको उत्पादन गर्छन् । तर, कहिलेकाहीँ कृषि उपजले बजार नपाउँदा रुन मन लाग्ने नमुना सुनाउँछिन्

‘श्रीमान्ले पनि अघि बढ केही हुँदैन भनेर आँट दिइरहनु भएको थियो,’ नमुनाले अनलाइनखबरलाई सुनाइन् ।

अहिले बिहान–बेलुका फार्मको रेखदेख श्रीमान् दीपकले गर्छन् । व्यवस्थापनको जिम्मेवारी पनि उनकै काँधमा छ । ‘श्रीमतीले मिहिनेत गरिरहेकी छिन्, मैलै पनि साथ दिएको छु,’ दीपक भन्छन्, ‘हातमा–हात, साथमा साथ मिलाउँदा सजिलो हुन्छ । म आफ्नो काममा नभएका बेला समय दिने गरेको छु ।’

डोकोबाट सुरु भएको व्यापार ४० लाखमाथि

सुरुवातमा ठैबमा केसी दम्पतीले दुई रोपनी जग्गा भाडामा लिएर काम सुरु गरे ।

‘सुरुमा दुई रोपनी जग्गा भाडामा लियौं, चिनेका मान्छेले देख्लान् कि भनेर लुकीलुकी डोकोमा साग बेच्थें,’ नमुना सुनाउँछिन्, ‘पैसा थिएन तर श्रीमान्को जागिर देखाएर बैंकबाट ऋण लिएर तरकारी खेती गर्‍यौं । सुरुमा लकडाउन हुँदा हामीले तरकारी मजाले बेच्यौं । त्यो बेला बाहिरको तरकारी आउँदैनथ्यो । हामीले राम्रो बजार पायौं ।’

लकडाउनका बेला कोरोनाको डर भए पनि आफूले दैनिक १० किलोमिटरसम्म हिँडेर साग बेच्ने गरेको नमुना सुनाउँछिन् ।

‘बजारमा माग भइरहेको थियो, डर नमानी बेच्न जान्थो,’ उनी सम्झिन्छिन्, ‘आउने बेला घरको बाटो बिर्सेर कति पटक त सोध्दै आउँथेँ । सुरुवातमा त मान्छेले हिलोमा काम गर्ने भन्दै हेप्थे । अहिले ती मान्छे देख्न पाए फूलमाला लगाइदिन हुन्थ्यो ।’

आफूलाई हिसाब गर्न नआउँदा छोरीलाई पनि साथमा लिएर तरकारी बेच्ने गरेको नमुनाको अनुभव छ । ‘जावालाखेल, लगनखेल, हात्तीवनसम्म तरकारी बेच्न जान्थेँ, हिसाब खासै आउँदैनथ्यो, धेरैले ठग्थे पनि,’ उनी सुनाउँछिन्, ‘पछि छोरीलाई लिएर गएँ, छोरीले हिसाब गर्ने म बेच्ने गर्न थालेँ ।’

केसी दम्पतीले लकडाउनका कारण उत्पादनले बजार राम्रो पाएपछि थप ४३ रोपनी जग्गा धापाखेल गंगटेखोलामा भाडामा लिएर अझै ठूलो फार्म सञ्चालन गरे ।

उनले घरमै बसेर मात्रै आर्थिक समृद्धि नहुने भन्दै अन्य महिलालाई पनि आफ्नै व्यवसाय गर्न सुझाव दिन्छिन

‘कृषिमा दुःख गरे काठमाडौंमा राम्रो बजार पाउन सकिन्छ भनेर दुःख गर्‍यौं, थप जग्गा लिएपछि झन् दु:ख भयो,’ नमुना भन्छिन्, ‘सुरुमा त धेरै नै गाह्रो भयो, दिनभरि एक्लै खेतमा काम गर्नुपथ्र्यो, यताको मान्छे चिनजान पनि थिएन । बिस्तारै दैनिक ज्यालादारीमा पनि मान्छे राखेर काम सुरु गर्‍यौं ।’

आफ्नै फार्मबाट उनले अहिले वार्षिक ३० देखि ४० लाख रुपैयाँ कारोबार गर्छिन् । जसबाट २० लाख खर्च हुँदा पनि १५ देखि २० लाख रुपैयाँ बचत हुने गरेको छ ।

‘तीन वटा गाई छन्, १०/१२ वटा बाख्रा पनि छन् । आफूलाई पुग्ने चामल पनि आफैं उत्पादन गर्न धान लगाउने गरेका छौं,’ नमुना भन्छिन् ।

गाउँलेलाई प्रेरणा

३५ वर्षीया नमुना आफूमात्र नभई गाउँलेलाई समेत स्वरोजगार बनाउन अग्रसर छिन् । ‘हामीले खेती विस्तार गरेपछि हाम्रा गाउँका आफन्तलाई पनि हामीले नै जग्गा भाडामा दिलायौं, आफैं जमानी बसेर काम सुरु गर्‍यौं, अहिले हाम्रो गाउँको १५ परिवार यहाँ आएर काम गरिरहेका छन्,’ उनी भन्छिन् ।

लकडाउनका कारण भारतबाट आएका भिनाजु सहित आफन्तलाई यहाँ नै जग्गा खोजेर काममा लगाउन सफल भएको केसीको भनाइ छ ।

केसी दम्पतीले धापाखेलमा १ सय २० रोपनी जग्गा उठाएको छ । ‘हामी नै जमानी बसेर फाइनान्सबाट पैसा निकालेर खेती गर्न सहयोग गरेका छौं, फार्म ठूलो भएकाले पहिलो वर्ष हामीसँग सिक्ने, दोस्रो वर्षदेखि आफैंले चलाउने गरेका छन्,’ दीपक भन्छन् ।

वर्षमा सबैले गरेर २/३ करोडको उत्पादन गर्छन् । तर, कहिलेकाहीँ कृषि उपजले बजार नपाउँदा रुन मन लाग्ने नमुना सुनाउँछिन् ।

‘कहिले बारीमा फाल्नुपर्ने स्थिति आउँछ, त्यतिबेला भने साह्रै चित्त दुख्छ, सरकारले पनि वातावरण बनाइदिएन जस्तो लाग्छ,’ उनी भन्छिन् ।

उनले घरमै बसेर मात्रै आर्थिक समृद्धि नहुने भन्दै अन्य महिलालाई पनि आफ्नै व्यवसाय गर्न सुझाव दिन्छिन । ‘आँट गरेर काम गर्‍यो भने असम्भव भन्ने केही छैन,’ नमुना भन्छिन्, ‘थोरै लगानी र धेरै मिहिनेत गरे नेपालमै राम्रो गर्न सकिन्छ । तर, खेती मात्रै गरेर हुँदैन, उत्पादनलाई चाहिने बजारबारे पनि सोच्न आवश्यक छ ।’

तस्वीरहरू : आर्यन धिमाल

नमुनाको कृषि फार्म

   

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?