
१७ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवा जनशक्ति पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको बताएका छन् । कुनै पनि मुलुकको निर्माणमा युवा जनशक्तिको सबैभन्दा ठूलो भूमिका हुने भन्दै उनले त्यसलाई रोक्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन् ।
श्रीमद्भगवत् ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव २०८१ एवम् देवालय सराङकोट धामको समुदघाट्न समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय हो । यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गंभीर बनून् भन्ने मेरो आग्रह छ,’ उनले भने ।
राष्ट्र निर्माणको महाअभियानमा जुट्न सबैलाई अपिल गरेका राष्ट्रपतिले केही भएन भन्दै समय खेर फाल्ने भन्दा मुलुक र जनताका लागि अझै धेरै गर्न बाँकी छ भन्ने ठानेर अघि बढ्नुपर्ने बताए ।
जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको र यही व्यवस्थाले मुलुकको हित गर्ने भन्दै उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि मुलुकको आर्थिक विकास नै भएको चर्चा गरे ।
नेपालमा असीमित सम्भावनाका क्षेत्र रहेको उनको भनाइ थियो । राष्ट्रपति पौडेलले २०४६ सालको परिवर्तनपछि गाउँ–गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता पूर्वाधार पुगिसकेको बताउँदै अब स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरी विदेश पलायन भइरहेका युवालाई रोक्नु पर्ने बताए ।
‘यो पवित्र स्थलबाट म आज अपिल गर्न चाहन्छु कि सबै नीति, निर्माण तहमा रहेका हामी सबैको ध्यान यसको समाधानतर्फ केन्द्रित होस् ।’
उनले पोखरा र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्न सकिने बताए । पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका हुने भएकाले लगानीमैत्री वातावरण बनाउन स्थानीय, प्रदेश र संघ सरकारले उपयुक्त नीति, नियम र कानून निर्माण गर्नु पर्ने राष्ट्रपतिको भनाइ थियो ।
राष्ट्रपति पौडेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले यसलाई सिधै विश्वसँग जोडेको उल्लेख गर्दै जाउँ है पोखरालगायतका पर्यटन प्रवद्र्धन अभियान मात्र नभई यहाँ हुने मेला, महोत्सव र साहसिक गतिविधिले यो विश्वकै एउटा घुम्नै पर्ने ठाउँका रुपमा विकास हुँदै गएको बताए ।
प्रतिक्रिया 4