
काठमाडौं । दिनेश राउतको निर्देशनमा बनिरहेको कथानक फिल्म ‘महाभोज’को छायांकन सम्पन्न भएको छ । काठमाडौंमा अन्तिम दृश्य खिच्दै शुक्रबार बेलुका छायांकन सकिएको हो ।
अन्तिम प्लटका दृश्यमा कलाकार खगेन्द्र लामिछाने र अञ्जना बराइलीको भाग खिचिएको थियो । प्राप्त तस्वीरमा निर्देशक राउतसहितका कलाकारले ‘इन्ड कल्याप’ लेखेको कल्याप प्रस्तुत गर्दै उत्साह जनाएका छन् ।
माघ ८ देखि कास्कीको घाचोकबाट छायांकन सुरु भएको थियो । ३३ दिन घाचोक र २ दिन काठमाडौंमा छायाङ्कन गरिएको राउतले बताए । उनका अनुसार विश्वासघात र भ्रष्टाचारविरुद्धको कथावस्तुमा फिल्म आधारित छ ।
फिल्मले सर्वसाधारणको जीवन र भरोसामाथि खेलवाड गर्नेविरुद्ध विद्रोहको स्वर प्रस्तुत गर्ने सन्देश प्रवाह गर्नेछ । ‘महाभोज’ राउतको आठौं निर्देशकीय फिचर हुनेछ । सन् २०१२ मा रिलिज भएको ‘आइएम सरी’ उनको डेब्यु निर्देशकीय फिचर हो । सन् २००७ मा ‘बारुद’बाट उनले सहायक निर्देशन थालेका थिए ।
उनको पछिल्लो फिल्म ‘पूजार सार्की’ जातिय समानताको कथामा आधारित थियो । ‘महाभोज’मा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय छ ।
सिग्देलसँग १३ वर्षदेखि राउतले सहकार्य गर्दै आएका छन् । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा बनेको फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । पटकथा विकास सुवेदीले लेखेका हुन् । प्रदर्शन मिति घोषणा गरिएको छैन । निर्देशक राउतले रिलिजको लागि उपयुक्त मिति तय गरिने जनाए ।
प्रतिक्रिया 4