
काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब प्लाटफर्ममा सार्वजनिक भएको छ ।
गीतको भिडियोमा प्रभात पाल ठकुरी, श्री शिभान्सी, देवेन्द्र बब्लु, सुनिल विक र विशाल पहारी प्रस्तुत छन् ।
‘द फिरन्ते’ ब्याण्डका गायक समेत रहेका देवेन्द्रको स्वर रहेको गीतमा सपुतको संगीत, योगेश काजीको एरेन्ज छ । हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोले दर्शकमाझ कौतुहलता पैदा गर्ने देखिन्छ ।
एक जोडी अन्तरजातीय प्रेमपछि परिवारले मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ । शीर्ष भूमिकामा सपुत र स्वस्तिमा खड्काको अभिनय छ । खड्कबहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेको पनि अभिनय छ ।
बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्म छायांकन गरिएको हो । गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मले कथित दलित समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्ष चित्रण छ ।
निर्मातामा मोहन विश्वकर्मा, बिन्दु बोहोरा छन् । कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ छन् । सुशन प्रजापतिले फिल्म खिचेका हुन् । काठमाडौं उपत्यकामा डीसीएन र मोफसलमा एफडी कम्पनी वितरण गर्नेछन्
‘वसन्त’ चैत २२ गते चैते दशैंको अवसरमा देशब्यापी प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4