१७ फागुन, पोखरा । पोखरामा शनिबार सम्पन्न प्रथम गण्डकी राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लब र आयोजक गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ ।
गण्डकी प्रदेश फेन्सिङ संघ र कास्की जिल्ला फेन्सिङ संघको संयूक्त आयोजना तथा नेपाल फेन्सिङ संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा नेपाल आर्मी सिनियरतर्फ र गण्डकी प्रदेश जुनियरतर्फ टिम च्याम्पियन बनेका हुन् ।
प्रतियोगितामा सिनियरतर्फ नेपाल आर्मी हावी हुँदा जुनियरतर्फ गण्डकीले सर्वाधिक पदक जित्न सफल रह्यो । फेन्सिङ खेलको इतिहासमा गण्डकी पहिलो पटक जुनियर च्याम्पियन भएको हो ।
नेपाल आर्मी ६ स्वर्ण, ४ रजत र ५ काश्य पदकसहित टिम सिनियरतर्फ टिम च्याम्पियन भएको हो भने गण्डकी ४ स्वर्ण, ३ रजत ९ काश्य पदकका साथ जुनियरतर्फ टिम च्याम्पियन बनेको छ ।
शनिबार सम्पन्न सlनियर पुरूष फोइल इन्डिभिजुअलतर्फ नेपाल आर्मीका बीर सिंहले स्वर्ण पदक हात पार्दा नेपाल आर्मीकै मिन कार्कीले रजत पदकमा चित्त बुझाए । त्यस्तै सुदूरपश्चिमका लक्ष्य शाही र आर्मीका नरेन्द्र धामीले कास्य पदक जिते ।
त्यस्तै सिनियर महिला फोइल इन्डिभिजुअलतर्फ बागमतीकी गोमा आचार्यले स्वर्ण पदक हात पारेकी छन् । उनले फाइनलमा नेपाल आर्मीकी रमा सिंहलाई पराजित गरिन् भने नेपाल आर्मीका खेलाडीद्वय आशा कुमारी गुरुङ र मनीषा थापाले कास्य पदक जिते ।
यता जूनियर पुरुष इपीतर्फ गण्डकीले सानदार खेल प्रदर्शन गर्दै सचिन खत्रीले स्वर्ण पदक जिते । सुदुरपश्चिमका भरत देव विरुद्ध फाइनलमा भिडन्त गरेका सचिनले पहिलो राउण्ड गुमाए पनि दोस्रो र तेस्रो राउण्डमा कम व्याक गर्दै भरतलाई काश्य पदकमा सिमित गरे । सोही स्पर्धामा सुदुर पश्चिमका प्रवीण शाह र गण्डकीका प्रशान्त गुरुङले कास्य पदक जिते ।
यसैगरी जुनियर महिला इपी इन्डिभिजुलको फाइनलमा गण्डकीकी निती खाँड सुदूरपश्चिमकी नितीषा भण्डारीसँग पराजित भइन् । निकै प्रतिस्पर्धात्मक खेलमा नितीषाले स्वर्ण पदक जित्दै आयोजक टिमकी नितीलाई रजत पदकमा चित्त बुझाउन बाध्य पारिन् । सोही स्पर्धामा दुवै कास्य पदक भने गण्डकीले हात पार्न सफल भयो । गण्डकीका लागि रिसिका कँडेल र अपेक्षा पौडेलले कास्य पदक जिते ।
गण्डकीले जुनियर इपी टिम इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हात पारेको छ । सो स्पर्धामा बागमतीले रजत पदक जित्दा सुदुर पश्चिमले कास्य पदक जित्न सफल भयो ।
सम्पन्न प्रतियोगिताको फोइल टिम इभेन्ट सिनियर पुरूषतर्फ स्पर्धामा आर्मीले स्वर्ण, एपिएफ क्लबले रजत तथा सुदूरपश्चिम र गण्डकीले कास्य पदक जितेका छन् भने महिलातर्फ नेपाल आर्मीले स्वर्ण, बागमती प्रदेशले रजत तथा गण्डकी र एपिएफले कास्य पदक जिते ।
प्रतिक्रिया 4