१८ फागुन, काठमाडौं । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले हार व्यहोरेको छ । मड्रिडलाई रियल बेटिसले २-१ गोलअन्तरले हराएको हो ।
खेलमा पहिले अग्रता लिएपनि जोगाउन नसक्दा रियल पराजित भयो । बेटिसको जितमा जोनी कार्डोसो र इस्कोले एक-एक गोल गरे । रियलका लागि ब्राहिम डियाजले गोल गरे ।
खेलको १०औं मिनेटमा डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा कार्डोसोले गोल गर्दै पहिलो हाफमै खेल बराबरीमा ल्याए ।
५४औं मिनेटमा पेनाल्टीमार्फत इस्कोले गोल गर्दै बेटिसलाई अग्रतामा ल्याए । त्यसपछि थप गोल नहुँदा बेटिस २-१ ले विजयी भयो ।
जितपछि बेटिसको २६ खेलबाट ३८ अंक भएको छ । रियल मड्रिड ५४ अंकसहित तेस्रो स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा एथ्लेटिक क्लबलाई हराउँदै एट्लेटिको मड्रिड शीर्षस्थानमा उक्लिएको छ । जुलियन अल्भारेजले ६६औं मिनेटमा गरेको एकमात्र गोलमा एट्लेटिको विजयी भएको हो ।
एक खेल कम खेलेको बार्सिलोनाभन्दा २ अंक अघि रहेको एट्लेटिकोको २६ खेलबाट ५६ अंक भएको छ । एथ्लेटिक क्लब ४८ अंकसहित चौथोमा छ ।
प्रतिक्रिया 4