
१८ फागुन, काठमाडौं । चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधन आइपुगेका छन् ।
चोभार सुक्खा बन्दरगाहमा हालसम्म दक्षिणी नाका (वीरगञ्ज) बाट मात्र कन्टेनराइज्ड कार्गो र नयाँ सवारीसाधन भन्सार जाँच पासका लागि आउने गरेकामा १५ फागुनदेखि तातोपानी नाकाबाट समेत चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि मालवाहक सवारीसाधन आउन सुरु गरेका हुन् ।
१५ फागुनमा कोभेक–क्रिग–कालिका ज्वाइन्ट भेन्चर कम्पनीले आयात गरेको हाइड्रोपावरको सामान बोकेका चार वटा कन्टेनर पहिलो पटक तातोपानी नाकाबाट भन्सार जाँचपासका लागि सिधै चोभार सुक्खा बन्दरगाह आइपुगेको हो ।
अर्थ मन्त्रालयले गत कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि सामान ल्याउन चाहने पैठारीकर्ताका लागि सडक मार्ग तोकेको थियो ।
यसअघि दक्षिणी नाकाहरू वीरगञ्ज, विराटनगर, काँकडभिट्टा र भैरहवा भन्सार कार्यालयबाट मात्र चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सामान ल्याउन पाउने व्यवस्था थियो ।
तातोपानी नाकाबाट समेत भन्सार जाँचपासका लागि कन्टेनराइज्ड मालवस्तु आउन थालेपछि चोभार सुक्खा बन्दरगाहमा थप चहलपहल बढ्न थालेको र उक्त सुक्खा बन्दरगाह पूर्णक्षमतामा सञ्चालनमा ल्याउन थप टेवा पुग्ने नेपाल इन्टरमोडल यातायात विकास समितका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
पर्याप्त भौतिक पूर्वाधार, न्यूनतम सेवा शुल्क लगायत स्तरीय सेवा प्राप्त हुने भएकाले आगामी दिनमा आयात निर्यातकर्ताले नियमित मालवाहक सवारीसाधन चोभार आउने जानकारी कार्यकारी निर्देशकले गजुरेलले दिए ।
यस्तै उनले आगामी दिनमा रसुवा नाकाबाट पनि भन्सार जाँचपास गर्न सवारीसाधन तथा कन्टेनर आउने वातावरण बनेको बताए । काठमाडौंमा आयात हुने सामान र काठमाडौ वरिपरिबाट निर्यात गर्न चोभार सुक्खा बन्दरगाहबाट स्तरीय सेवा दिइने हुँदा यस बन्दरगाहको अधिकतम प्रयोग गर्न व्यवसायीहरूलाई कार्यकारी निर्देशक गजुरेलले आग्रह गरे ।
प्रतिक्रिया 4