
१८ फागुन, काठमाडौं । फागुन १ पछि कारोबार भएका हरेक दिन सेयर बजार बढिरहेको छ । कुनै ‘करेक्सन’विना दुई साता लगातार बजार बढ्दा लगानीकर्तामा उत्साह बढेको छ ।
फागुन १ गते २६७८ अंकमा बन्द भएको बजार लगातार बढ्दै अहिले २८९० अंकमा पुगेको छ । दुई साताकै बीचमा बजार करिब ८ प्रतिशत बढेको छ । बजार लगातार बढ्दै जाँदा जोखिम पनि थपिएको छ । यतिबेला ठूला र संस्थागत लगानीकर्ता ‘करेक्सन’ पर्खिए पनि बजारले भने संकेत समेत देखाएको छैन ।
आइतबारको सेयर बजार भदौ ९ यताकै उच्च हो । परिसूचक मात्रै होइन कारोबार रकम पनि भदौ ११ यताकै उच्च हो ।
कारोबार रकमले समेत साथ दिँदै ६ महिनाकै उच्च विन्दुमा पुगेको बजारमा यतिबेला ३ हजार अंकको रेकर्ड तोडिने चर्चा चलिरहेको छ । यसअघि साउन ३१ गते बजार ३ हजार अंकमा पुगेको थियो । त्यतिबेला बजारमा अघिल्लो बुलको उच्चतम रेकर्ड ३१९८ अंक तोड्ने चर्चा चले पनि ३ हजारबाट ओर्लिन थालेको बजार १३ असोजमा २४६४ अंकसम्म झर्यो ।
त्यसपछि बढ्दो गतिमा रहेको बजारमा २ सातादेखि ‘करेक्सन’ नै आएको छैन । त्यस्तै बजारको पूँजीकरण (कुल सेयरको मूल्य) पनि हालसम्मकै उच्च भएको छ । बजारको पूँजीकरण आइतबार ४७ खर्ब ९९ अर्ब पुगेको छ । यसअघि साउन ३१ गते बजारको पूँजीकरण ४७ खर्ब ६५ अर्ब पुगेको थियो ।
यहीं कारण पनि अहिले बजार नेप्से ३ हजार अंक पुग्ने चर्चा चुलिएको छ । बजारमा यस्तो चर्चा चुलिएका बेला भने लगानीकर्ता सचेत हुनुपर्ने आवश्यकता रहेको छ । यसअघि पनि साउन ३१ गते ३ हजार अंक नजिक पुग्दै गर्दा ३ वर्षअघिको ३२०० रेकर्ड तोडिने चर्चा चुलियो ।
यहीं चर्चा चुलिँदै गर्दा धेरै लगानीकर्ता बजार प्रवेश गरे । तर ठूला तथा संस्थागत लगानीकर्ताले बेच्ने मौकाका रुपमा सदुपयोग गरे । जसले गर्दा बजार ओर्लिन थाल्यो । फेरि पनि ३ हजार अंकलाई प्राविधिक विश्लेषण गर्दै आएकाले ठूलो प्रतिरोधक बुझ्ने गरेका छन् । यहीं कारण ३ हजार अंकनजिक पुग्दा बिक्री चाप बढ्न सक्नेछ ।
यसअघि ३ हजार अंकको प्रतिरोधलाई बजारले तोड्न नसकेपछि स्वतः त्यो प्रतिरोध अहिले पनि कायम रहेको प्राविधिक जानकार बताउँछन् ।
लगानीकर्ता सुवासचन्द्र ढुंगाना बजार विनाकरेक्सन अघि बढ्दा जोखिम पनि थपिने बताउँछन् । ‘प्राविधिक दृष्टिकोणले २८६० अंकमाथि पुगेपछि एउटा करेक्सनको आश गरिएको छ, तर त्यो करेक्सन इन्ट्राडेमै सकिन पनि सक्छ’ उनले भने । दुई सातायता इन्ट्राडेमा पनि देखिनेगरी करेक्सन आएको छैन ।
बजारमा कारोबार रकम समेत बढेकाले ठूलो पैसा आएको अनुमान गरिएको छ । नाफा बुक गरेकाले पनि पैसा बजारमा लगाउने र थप रकम भित्रिँदा करेक्सन नदेखिएको लगानीकर्ता बताउँछन् ।
यतिबेला बजारमा मुख्यतः तीन वटा विषयले सकारात्मक माहोल बनेको छ । पहिलो हो : गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिने अवधि नजिकिनु । चैत तेस्रो साता उनको कार्यकाल सकिँदैछ ।
गभर्नर अधिकारीको कार्यकाल सकिने अवधि नजिकिँदै गर्दा सकारात्मक माहोल बनेको ढुंगाना स्वीकार गर्छन् ।
अधिकारीलाई सेयर बजारप्रति अनुदारका रुपमा टिप्पणी गर्दै केही लगानीकर्ताले नकारात्मक भ्रम फैलाइरहेका छन् । राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको १५ करोड सीमा कायमै राखेपछि लगानीकर्तामा यो भ्रम फैलिरहेको छ ।
त्यस्तै दोस्रो हो : मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१० प्रतिशतबाट १ प्रतिशत कायम गरिएपछि बैंकहरुको नाफा करिब ५ अर्ब बढ्ने चर्चा । तेस्रो हो : आन्तरिक अर्थतन्त्र चलायमानको संकेत ।
बजारमा एक चरण लगानीकर्ताले नाफा बुक गरिसकेको र सो रकम पुनः बजारमै ल्याएपछि कारोबार रकमसँगै परिसूचक पनि बढ्दै गएको जानकार बताउँछन् ।लगानीकर्ताले बीचबीचमा नाफा बुक गर्ने र थप उपयुक्त वातावरण बन्दै गएपछि सो नाफासहितको रकम फेरि परिचालन हुँदा राम्रो लय लिएको उनीहरूको भनाइ छ ।
‘बजार ३ हजार अंकबाट झर्दा ठूलै करेक्सन आएको हो, त्यसकारण दुई सातामा करेक्सन आएन भनेर आत्तिनु पर्दैन’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने । बजार घटेका बेला बढ्नका लागि एकपछि अर्को विषयले साथ दिएको उनको भनाइ छ ।
साउन ३१ गतेको ३ हजार अंक पनि बजार नपुगेकाले अहिलेको वृद्धिलाई सामान्य मान्नुपर्नेमा उनको भनाइ छ । ‘बजारमा करेक्सन आउँछ, करेक्सनले नै बजारलाई थप बलियो बनाउँछ तर करेक्सन कहिले आउँछ, त्यो बजारले नै देखाउँछ’ उनले भने ।
पछिल्लो समय बजारलाई एकपछि अर्को घटनाक्रमले साथ दिइरहेको उनको भनाइ छ । अहिले पनि बैंकहरुमा तरलता फालाफाल रहनु, ब्याजदर न्यून विन्दुमा अडिनु, त्यसपछि मौद्रिक नीति समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर घट्नु लगायत कारण बजारले साथ पाइरहेको ढकालको भनाइ छ ।
यतिबेला संस्थागत लगानीकर्ताले पनि सेयर बजारमा ठूलै रकम भित्र्याइरहेका छन् । खासगरी बीमा कम्पनीहरूले लगानी बढाएका छन् ।
हाइ क्याप कम्पनी अझै पनि न्यून मूल्यमै रहेकाले यी कम्पनी अझै चल्ने अनुमान गरिएको छ । कारोबारीले समेत हाइ क्याप कम्पनीबाट राम्रो पूँजीगत लाभ लिन थालेपछि आकर्षित भएका छन् ।
खासगरी वाणिज्य बैंकहरुको सेयर मूल्य अझै पनि न्यून छ । यस्ता कम्पनीमा बीमा कम्पनीसहित संस्थागत लगानीकर्ताले लगानी बढाएका छन् । अर्कोतर्फ अब बैंकहरुको बिजनेस ग्रोथ राम्रो हुने अनुमान गरिएको छ । बैंकबाट प्रवाह हुने कर्जा बढ्न थालेको छ । कर्जा बढ्नुले बिजनेस पनि विस्तार भएको मानिन्छ ।
नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे बजार माथि जाँदा हाइ क्याप कम्पनीतिर लगानीकर्ता सिफ्ट हुने गरेको अनुभव सुनाउँछन् ।
‘बजारमा प्रतिफल एउटा विषय हो तर सँगै सुरक्षाको प्रत्याभूति पनि महत्वपूर्ण हो । त्यसकारण लोक्याप कम्पनी केही माथि पुगिसकेपछि बेचेर नाफा बुक गर्ने र त्यहीं पैसा हाईक्याप कम्पनीतिर सिफ्ट हुने गरेको छ यसले बजार बढाउन झन् योगदान पुग्छ’ उनले भने ।
प्रतिक्रिया 4