
आत्मनिर्भर हुने चाहना राख्ने, संघर्षबाट आर्जित ज्ञानलाई समाजसेवामा रूपान्तरण गर्ने अनि महिलालाई आर्थिक रूपमा सशक्त बनाउने अभियानमा लागिपरेकी एक साहसी महिला हुन्, गोमा खनाल । उनको आत्मविश्वास, तार्किक बोली अनि समाज परिवर्तन गर्ने दृढ इच्छाशक्तिले नै उनलाई अरूभन्दा अलग देखाउँछ ।
उनी सरकारी कर्मचारी होइनन्, तर सरकारी कार्यालयमा प्रायः देखिन्छिन् । प्रत्येक दिनजसो हातमा फाइल बोकेर सरकारी कार्यालयमा पुगेकी हुन्छिन् । उनको एउटै भनाइ हुन्छ, ‘स्यानिटरी प्याड भारतबाट आयात नगरौं, अवसर दिनुहोस् हामी यहीं उत्पादन गर्न सक्छौं । मापदण्ड दिनुहोस्, हामी गुणस्तरीय प्याड उत्पादन गर्छौं ।’
उनीभित्र आत्मनिर्भर नेपाल बनाउने सपना बलियो छ । ‘सहयोगी प्याड उद्योग’ की संस्थापक खनालको सपना भनेकै स्यानिटरी प्याड उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने हो । उनी प्याड उत्पादन मात्रै गर्दिनन् अरू महिलालाई पनि यो उद्योगमा आत्मनिर्भर बन्न सिकाउँछिन् ।
उनको सपना प्याड कम्पनी चलाएर धनाढ्य बन्ने होइन । यस्तो अत्यावश्यक उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ, हामी आफैंले बनाउँछौं भन्ने हो । महिला र किशोरीलाई प्रत्येक महिना चाहिने, जनस्वास्थ्यसँग जोडिएको यति महत्वपूर्ण वस्तु उत्पादनमा राज्यले किन बेवास्ता गरेको हो उनी बुझ्दिनन् ।
इजरायलदेखि साइप्रससम्म
तेह्रथुमको एउटा किसान परिवारमा जन्मिएकी गोमा तीन दाजु र तीन दिदीबहिनीमध्ये कान्छी हुन् । बाल्यकालदेखि नै स्वभावले निडर थिइन् । ‘छोरा मात्रै होइन, छोरीले पनि केही गर्न सक्छन्’ भन्ने सोच राखेर उनी दाजुभाइ जत्तिकै काम गर्थिन् । कतिसम्म भने बलको काम गर्न पनि उनी अघि सर्थिन् ।
गाउँमा विद्यालय टाढा थियो, हिंड्न सक्ने भएपछि मात्रै उनी स्कूल जान थालिन् । २१ वर्षको उमेरमा बल्ल उनले एसएलसी पास गरिन् । उनको गाउँकै पहिलो केटी थिइन्, जसले एसएलसी पास गरेकी थिइन् । त्यो बेलामा गाउँभरि उनको ठूलै चर्चा भएको थियो ।
२०५० सालमा एसएलसी पास गरेको प्रमाणपत्र हातमा नपर्दै भौतिक योजना तथा निर्माण मन्त्रालयमा खरिदारको जागिर पाइन् । उनी सम्झिन्छिन्, ‘त्यो बेलामा सरकारी जागिर पाउन अहिले जस्तो गाह्रो थिएन । महिलाले अलिकति पढ्ने बित्तिकै मौका पाउँथे । कसरी हो एसएलसीपछि मैले अस्थायी खरिदारको जागिर पाएँ ।’
जागिरबाट केही राहत महसुस गरिन् । तर त्यो ‘आठ घन्टे’ जागिरले उनलाई सन्तुष्टि दिएन । ‘केही नयाँ गर्छु’ भन्ने हुटहुटीले दुई वर्षमै जागिरबाट राजीनामा दिएर २०५२ सालमा काठमाडौं आइन् । उनी पढाइ अघि बढाउन चाहन्थिन् । दाइसँग बसेर बानेश्वर क्याम्पसमा कक्षा १२ सम्म व्यवस्थापन पढिन् । त्यसपछि पद्म कन्या क्याम्पसमा स्नातक तहमा भर्ना भइन् ।
यो बीचमा उनले कम्प्युटर तालिम लिइन् । नेपाल विज्ञान तथा प्रविधि मन्त्रालयले कम्प्युटरको शिक्षकको लागि आवेदन मागेको थियो । त्यसमा उनी छनौट भइन् । फेरि थालिन् ‘आठ घन्टे’ जागिर । दक्षता बढ्दै जाँदा उनी प्रशिक्षक भइन् । विस्तारै सरकारले कार्यालयमा कम्प्युटर राख्न थाल्यो । उनले तालिम दिने मौका पाइन् ।
जागिर राम्रै, तलब पनि राम्रै थियो । तर, उनलाई त्यो मन्जुर थिएन । उनी इजरायलतिर लागिन् । सन् २००६ देखि २०१४सम्म त्यहाँ केयरगिभरको काम गरिन् । त्यहाँ कामै मात्रै गरिनन्, उनले नेपाली श्रमिकको हकहितका लागि ‘नारी समाज’ गठन गरी इजरायलमा दुःख पाएका महिलाका लागि आवाज उठाउन थालिन् । यसो गर्दै त्यहाँ ८ वर्ष बिताइन् ।
‘मैले इजरायलको बसाइबाट देश विकसित हुन नागरिक इमानदार हुनुपर्छ । देशले आयात होइन, आफैं केही उत्पादन गरी आत्मनिर्भर बन्नुपर्छ भन्ने सिकें’ उनी भन्छिन्, ‘नेपाल आएपछि जानेको र बुझेको केयर गिभर तालिम केन्द्र खोलें, त्यो सफल भएन ।’
उनले इजरायलबाट पर्यटक ल्याउने र आफू गाइडको रूपमा काम गर्ने सोच बनाएर तालिम लिइन् । तर, २०७२ सालको भूकम्पले त्यो पनि बिथोल्यो । त्यसपछि सन् २०१६मा उनी केयर गिभरकै कामका लागि साइप्रस गइन् । दुई वर्ष बसेर स्वदेश फर्किन् । यो दौडधुपमा पनि उनलाई ‘केही गर्नुपर्छ’ भन्ने थियो तर के गर्ने भन्ने मेसो थिएन ।
अनि खुल्यो ‘सहयोगी प्याड उद्योग’
२०७५ सालको कुरा हो, नेपाल उद्यमशील महिला महासंघले झापाको लागि डिजिटल मार्केटिङ तालिमलाई ल्यापटप चलाउने महिला चाहिएको सूचना निकाल्यो । उनका आँखा त्यसमा परे । आवेदन दिइन् र छनोट पनि भइन् । तालिम लिएर उनी काठमाडौं फर्किइन् ।
महासंघको एक व्यापार मेला बंगलादेशमा हुनेभयो । कार्यक्रममा सहभागी हुन उनी बंगलादेश गइन् । जहाँको व्यापारिक स्टलमा १४२ देशका नागरिकले आफ्नो कारोबार सम्बन्धी प्रस्तुति दिएका थिए । त्यो देखेपछि उनलाई लाग्यो, ‘हामी आफ्नै देशमा उत्पादन गरेर केही न केही निर्यात गर्न सक्छौं ।’
नेपाल आएर उनले हस्तकलाको व्यापार दर्ता गरिन् । उनले ब्याग बेच्न शुरू गरिन् । व्यापार खासै राम्रो भएन । हस्तकलाकाे काम गर्दै गर्दा उनले हिमानी ट्रष्टले दुर्गम क्षेत्रका महिला दिदीबहिनीलाई प्याड वितरण गरेको देखेकी थिइन् ।
उनले पनि ट्रष्टको काठमाडौंको केन्द्रीय स्वयंसेवकको रूपमा आबद्ध भएर काम गरिन् । ट्रष्टबाट स्यानिटरी प्याड पश्चिमी जिल्लामा वितरण गर्न थालिन् । बस्दा केही नहुने उठ्दा रगत छिचोल्ने खालको प्याड थियो त्यो । त्यो बेला उनको मनमा बस्दा र हिंड्दा नै रगत सोस्ने खालको गुणस्तरीय प्याड बनाउन पाए हुन्थ्यो भन्ने लाग्यो ।
उनले त्यस्तो गुणस्तरीय प्याड उत्पादन गर्ने योजना बनाइन् । हिमानी ट्रष्टले उनको योजनामा समर्थन जनायो । त्यो सानो छलफल पछि उनी भारतमा कसरी गुणस्तरयुक्त प्याड बन्दोरहेछ भनेर अध्ययन गर्न गइन् । त्यहाँको कारखानामै गएर तालिम लिएर आइन् । त्यस बाहेक प्याडमा लाग्ने कच्चा पदार्थ, त्यसको खर्च, मेसिनको उपयोग बारे जानकारी लिएर उनी नेपाल फर्किन् ।
नेपालमा अधिकांश प्याड भारतबाट आयात हुन्थ्यो । त्यसबेला उद्योग मन्त्रालयले नेपालमा उद्योग खोल्न प्रेरित गर्ने र शिक्षा मन्त्रालयले उत्पादन भएको वस्तु किन्ने निर्णय भएको थियो । त्यसको गुणस्तर स्वास्थ्य मन्त्रालयले हेर्ने भनिएको थियो । त्यही योजना अनुसार स्यानिटरी प्याड निर्देशिका २०७६ बन्यो ।
निर्देशिकाको कार्यविधि अनुसार ३० लाख रुपैयाँ शिक्षा मन्त्रालयबाट नगरपालिकामा जान्छ । प्याड किनेर नेपालभरका ३९ हजार सरकारी स्कूलमा अध्ययनरत छात्राहरूलाई निःशुल्क बाँडिन्छ । प्याड उद्योग खोल्ने सपना पूरा हुन आँटेको बेला समस्या आयो पैसाको । उनले चार लाख रुपैयाँ ऋण लिएर मेसिन किनिन् । र, २०७८ सालमा बानेश्वरमा ‘सहयोगी प्याड उद्योग’ स्थापना गरिन् ।
अहिले उनको पहलमा पाँच वटा नगरपालिका टोखा, बूढानीलकण्ठ, चन्द्रागिरि, उर्लावारी र नवलपरासीमा मेसिन राखिएको छ । पहिला दुई रुपैयाँमा बेच्ने गरी प्याड उत्पादन गरिन् । उनी मार्टमा गएर प्याड बेच्दिनन् । नगरपालिका र स्कूलमा अर्डर अनुसार बेच्ने उनको लक्ष्य हो । तर, केही समयमै प्याडको कच्चा पदार्थमा ३५ प्रतिशत कर लगाउने कानून आयो । जसले गर्दा दुई रुपैयाँमै बेच्न सम्भव भएन ।
अहिले उनको पहलमा खुलेका र तालिम दिएका व्यक्तिले खोलेका गरेर ८० वटा उद्योग छन् । उनी भन्छिन्, ‘सार्वजनिक खरीद ऐन बाधक भयो । ऐनले २० प्रतिशत उत्पादन नेपालमै बनेको खरीद गर्ने भन्छ । लागू भएको छैन । अर्को भनेको रेडिमेड वस्तुलाई ९० प्रतिशत कर छुट छ । यसले गर्दा प्याड उद्योग धरासायी हुने अवस्था छ । यसरी कर लगाएर नेपालमा खुलेका स्टयानिटरी प्याड का उद्योग माथि अन्याय गरियो ।’
‘हाल देशभरका सरकारी स्कूलमा निःशुल्क दिने प्याड सरकारले भारतबाट आयात गरिरहेको छ । जबकि नेपालमै बनाउन सकिने प्याडका मेशिनमा खिया लागिरहेको छ । खनाल गुनासो गर्छिन्, ‘स्यानिटरी प्याड नेपालमै उत्पादन गर्नुपर्छ । मापदण्ड बनाइदिनुपर्छ, गुणस्तर कायम गरेर हामी आत्मनिर्भर बन्छौं । तर तोकिएको भ्याट छुट दिऔं भनेर कार्यालय धाइरहेकी छु, कसैले सुन्दैन ।’
प्याड उद्योगलाई भारतले जुन सहुलियत दिएको छ सो सरह दिने हो भने नेपालमा महिलाले रोजगारी पनि पाउँछन् अनि प्याडको मूल्य अहिले भन्दा आधा सस्तो हुने उनको भनाइ छ । गोमाको बुझाइमा स्यानिटरी प्याडका लागि जति आवाज उठाउँदा पनि सुनुवाइ नहुनुको कारण पुरुषवादी चिन्तन हो । किनकि यो उनीहरूको समस्या परेन ।
तर पनि आफ्नै देशको उत्पादनलाई प्राथमिकता दिनुपर्छ भनेर समाजलाई बुझाउने अभियानमा छिन् गोमा । उनी सहितका अभियन्ताहरू स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क घटाइनुपर्ने आवाज उठाइरहेका छन् ।
उनीहरूको लविङ संसद्सम्म पुगेको छ । भर्खरै प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क घटाइनुपर्ने माग गरेकी थिइन् ।
उनले आयातित प्याडमा दिइएको भन्सार छुट लक्षित उपभोक्ताले उपभोग गर्न नपाएको, बजेट बिचौलियाको खल्तीमा पुगेको, यसको नियमन नहुनुले छुट नै स्वार्थ प्रेरित थियो भन्ने शंका उब्जिएको बताएकी थिइन् ।
गोमाका भनाइमा, ‘नेपालमा वार्षिक ९० करोड थान स्यानिटरी प्याडको आवश्यक हुने, बजेट धेरै जाने भए पनि कच्चा पदार्थको आयातमा बढी कर लगाइँदा देशभित्र ३० करोड थान मात्रै उत्पादन हुनु दुःखद् छ । नेपालमा उद्योग नै संचालन गरेर कच्चापदार्थ आयात गर्दा कर छुट तथा उद्योग सुहाउँदो कर लगाउनू पर्ने र घरेलू तथा साना उद्यमीहरूले संचालनका लागि प्रतिशत छुट र ल्याउन सहज बनाएर नेपाल मै उत्पादन गरी सर्वसूलभ रूपमा ग्राहकले उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने अवस्था छ।’
गोमाको सपना ठूलो कम्पनी खोलेर धनाढ्य बन्ने होइन, नेपाललाई स्यानिटरी प्याड उत्पादनमा आत्मनिर्भर बनाउने हो । उनले ग्रामीण भेगका महिलालाई समेत यसमा ल्याउने सोच बनाएकी छिन् । जसले सामाजिक मान्यता परिवर्तन, ज्ञान आर्जन र आत्मनिर्भर बन्न सघाओस् ।