+

नवनियुक्त प्रशिक्षक रोसले भने : एसियन कपमा छनोट र साफ जित्नु मुख्य लक्ष्य

२०८१ फागुन  १९ गते १३:४५ २०८१ फागुन १९ गते १३:४५
नवनियुक्त प्रशिक्षक रोसले भने : एसियन कपमा छनोट र साफ जित्नु मुख्य लक्ष्य

१९ फागुन, काठमाडौं । नेपाली पुरूष फुटबल टोलीका नवनियुक्त प्रशिक्षक म्याट रोसले प्रशिक्षकका रूपमा आफ्नो मुख्य उद्देश्य एसियन कपमा छनोट गराउनु र साफ च्याम्पियनसिप जिताउनु भएको बताएका छन् ।

प्रशिक्षकमा नियुक्त भएपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले राम्रो प्रदर्शनसहित एसियन कपमा छनोट हुन हरसम्भव प्रयास गर्ने बताएका हुन् ।

‘हामी अब मैत्रीपूर्ण खेलसँगै एसियन कप छनोटमा मुख्य फोकस हुनेछ’ रोसले भने, ‘सम्भव भएसम्म एसियन कपमा छनोट हुने प्रयास हुनेछ, सक्दो नजिक पुर्‍याउने कोसिस रहनेछ । अन्यथा राम्रो प्रदर्शनसँगै साफ च्याम्पियनसिप चाहिँ जिताउने छु।’

साथै उनले भविष्य खोज्न विदेश पलायन भएका खेलाडीहरूलाई स्वदेश फर्किएर आफ्नो देशलाई प्रतिनिधत्व गर्दै खेल्न ढोका खुल्लै रहेको बताएका छन् । विदेशमा भएका खेलाडीलाई पुनः फर्किएर खेल्ने वातावरण सिर्जना गर्ने उनले उल्लेख गरे ।

नेपाली टोलीको प्रशिक्षक हुन पाउँदा खुसी र उत्साहित रहेको जनाउँदै उनले नेपालमा फुटबलको अविश्वसनीय क्रेज देखेको र यहाँ केही विशेष कुरा रहेको बताउँदै धेरैभन्दा धेरै सफलताको प्रयास गर्ने बताए । नेपालमा धेरै ट्यालेन्टहरू रहेको बताउँदै उनले उनीहरूलाई गुमाउन नहुने जनाए ।

रोससँग हाल एक वर्षको सम्झौता भएको छ । यस अवधिमा टिमका लागि धेरैभन्दा धेरै सफल नतिजा निकाल्ने र आफू अझै लामो समयसम्म आबद्ध भइराख्न सक्छु भन्ने कुरा प्रमाणित गरेर देखाउने बताए ।

टिममा उनले अट्याकिङ फुटबलको फिलोसोफीअनुसार खेल्ने संकेत गरेका छन् । बल कन्ट्रोलदेखि ट्रान्जिसनमा केही सुधार गर्नुपर्ने जनाउँदै उनले हाइ इन्टेन्सिटी खेल खेल्न जरुरी रहेको बताए ।

यसअघि महिला फुटबल टोलीको प्रशिक्षक रहेका रोसले पुरूष र महिला फुटबल टोलीमा कुनै सीमा नहेरी दबाबबिना काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘पहिले महिला टोलीलाई प्रशिक्षण गरेको कुराले त्यस्तो फरक पर्दैन, कुनै पनि बाउन्ड्री नहेरी काम गर्ने हो, मलाई त्यस्तो दबाब छैन’ उनले भने ।

आफू पेप ग्वार्डिओला र जोसे मोउरिन्होजस्तो विश्वचर्चित प्रशिक्षक नभएको र सुरुबाट योजनासहित काम गर्नुपर्ने बताउँदै उनले नयाँ ठाउँमा गएपछि नयाँ उद्देश्यसहित नयाँ योजनाहरू बनाउनुपर्ने भनाइ राखे । ‘नयाँ ठाउँ, नयाँ कल्चरमा आइसकेपछि अब सफलताको नयाँ बाटोहरू पहिल्याउनुपर्छ, त्यसका लागि खेलाडीहरूलाई तयार गराउँदै लानुपर्छ’ उनले भने ।

रोसले नेपाली महिला फुटबल टिमको पनि प्रशंसा गरेका थिए । महिला फुटबलकै क्रेज देखेर नेपालमा केही विशेष कुरा पक्कै भएको बारम्बार उल्रलेख गरेका उनले महिला खेलाडीको पनि प्रशंसा गरे । प्रीति राई गजबको खेलाडी भएको भन्दै उनले निकट भविष्यमा नेपालको महिला फुटबल टोलीले पनि धेरै सफलता हात पार्ने बताए ।

नेपाली फुटबल टिम म्याट रोस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय