+
+
Shares

‘यसपटक स्ववियुमा फर्जी विद्यार्थीलाई भोट हाल्न दिंदैनौं, सुरक्षाको लागि सेल गठन भइसक्यो’

नेपाल प्रहरी र सशस्त्र प्रहरीका एआईजीको नेतृत्वमा चुनावको लागि सेल गठन भएको छ । देशभरको ७७ जिल्लामै सेलमार्फत सुरक्षाको समन्वय हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते २०:३५

२० फागुन, काठमाडौं । ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि देशैभर सोमबार संघ/संगठन दर्ता भएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार केही ठाउँमा छिटपुट घटनाबाहेक शान्तिपूर्णरुपमा संगठन दर्ता भएको छ ।

स्ववियु चुनावको लागि क्याम्पसहरूमा उत्सवमय बन्दै गएको छ । ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म स्ववियु नेतृत्व चुन्न मतदान हुनेछ । चुनावलाई निष्पक्ष भयरहित र शान्तिपूर्ण बनाउन त्रिविले गरिरहेको तयारीबारे स्वतन्त्र विद्यार्थी युनियन परिचालन अनुगमन केन्द्रीय समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्ग केसीसँग कुराकानी गरेका छौं ।

समितिका अध्यक्ष केसीसँग अनलाइनकर्मी दिनेश गौतमले गरेको कुराकानीको सम्पादित अंश :

स्ववियु चुनावको मिति नजिकिदै गएको छ । त्रिविले चुनवको तयारी कसरी गरिरहेको छ ?

स्ववियु एउटा विद्यार्थीहरूका र त्रिविको लागि उत्सव पनि हो । विश्वविद्यालयको ऐन नियम बमोजिक स्वतन्त्र विद्यार्थी  युनियन परिचालन अनुगमन केन्द्रीय समिति बनाएका छौं । स्ववियु निर्देशिका पास भइसकेको छ । निर्देशिका अनुसार चुनावको तयारी भइरहेको छ । चुनावका लागि सबै क्याम्पसमा स्ववियु निर्वाचन समिति र अनुगमन समिति बनेको छ । कार्यतालिका अनुसार सोमबार देशैभर संघ संगठनको दर्ता उत्साजनक रुपमा सम्पन्न भएको छ ।

कति संघ संगठनले चुनावका लागि दर्ता गरे ?

यसको यकिनज तथ्यांक संकलनको काम जारी छ । क्याम्पस क्याम्पसमा दर्ता भएकाले एकीकृत गर्न पाएको छैन । तर देशैभर दर्ता भएको जानकारी आएको छ ।

विद्यार्थीहरूबीच झडपसमेत भएका छन् । स्ववियु चुनावका लागि सुरक्षाको प्रवन्ध कसरी गरिएको छ ?

शिक्षामन्त्री बिरामी भएकाले सिधैं गृहमन्त्रीसँग गएर सुरक्षाबारे छलफल गर्‍यौं । गृहमन्त्रीले सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । सोही अनुसार आज नेपाल प्रहरीसँग छलफल गर्‍यौं । आईजीपीले पनि निर्वाचनका लागि एआईजीको नेतृत्वमा सेल गठन गर्ने भन्नुभयो । सोही अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका एआईजीको नेतृत्वमा चुनावको लागि सेल गठन भएको छ । देशभरको ७७ जिल्लामै सेलमार्फत सुरक्षाको समन्वय हुनेछ । विश्वविद्यालयमा मैले र रजिस्ट्रारले गर्ने भनेका छौं । चुनावलाई भयरहित बनाउन पर्सि विश्वविद्याल र सेलको बैठक बस्दैछ । यो बैठकले थप रणनीति बनाउने छ । गृह मन्त्रालयबाट ७७ वटै जिल्लाका प्रमुखलाई पनि निर्देशन जारी भइसकेको छ ।

कति सुरक्षाकर्मी र कर्मचारी परिचालजन हुन्छन् ?

सेलले आवश्यकताको आधारमा सुरक्षाकर्मी परिचालन गर्ने भनेको छ । यसपटक नेपाल पत्रकार महासंघ, राष्ट्रिय मानव अधिकार आयोग र बार एशोसिएसनलाई चुनावको पर्यवेक्षण गर्न भनेका छौं । यसले स्वतन्त्र चुनाव हुनेमा मद्दत मिल्छ भन्ने अपेक्षा छ ।

चुनावको समयमा फर्जी विद्यार्थी भर्ना हुने विगतको अनुभव छ । भैरहवामा भर्नाको विषयमा झडप समेत भयो । कस्ता विद्यार्थी चुनावमा सहभागी हुन पाउँछन् ?

भर्ना हुन पाउनु पर्‍यो भनेर भैरहवामा विवाद भएको रिपोर्टिङ आएको छ । पहिले नै क्यालेन्डर लागू गरेर घोषणा गरेका थियौं । अब अनाधिकृतरुपमा भर्ना हुनेहरू नामवलीमा समावेश हुने छैनन् । माघ ११ बाट बाट भर्ना रोकेका छौं । विवाद भएको ठाउँमा हामीले सबै जानकारी गराइसकेका छौं । पहिले जस्तो यसपटक चुनावको समयमा भर्ना गरेर मतदानमा सहभागी हुन पाउँदैनन् । यो पूर्णरुपमा बन्द हुन्छ । विद्यार्थी संगठनले पनि यसपटक सहयोग गर्नुभएको छ ।

कति विद्यार्थी मतदानमा सहभागी हुन्छन् ?

मतदाता नामवलीको काम भइरहेको छ । आज संगठन दर्ता भएको छ । मतदाताको संख्या २१ गतेमात्र थाहा हुन्छ ।

पहिले र अहिलेको चुनावमा के फरक छ ?

विद्यार्थीमा राजनीतिक संस्कारमा विकास भएको छ । चुनाव लोकतान्त्रि प्रक्रिया हो । मित्रवत र स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ भन्ने संस्कार विद्यार्थीमा देखिन्छ । यसपटक मुख्य भनेको अनाधिकृत भर्ना रोकेका छौं । एकेडेमिक क्यालेन्डर बनाएका छौं । डीन र क्याम्पस प्रमुखहरू धेरै नयाँ हुनुहुन्छ । उहाँहरूका लागि योग्यता र क्षमता देखाउने अवसर पनि यसपटक देखिएको छ ।

स्ववियुको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ । अबको स्ववियु कस्तो हुनुपर्छ ?

स्ववियु चाहिने नचाहिने बहस चुनाव सुकिएपछि विद्यार्थीबाट नै हुनुपर्छ । हामीले ऐनले भने बमोजिम गर्ने हो । तर अबको स्ववियुमा वास्तविक विद्यार्थी र प्राज्ञिक उन्नयनको लागि हुनेछ भन्ने विश्वास छ । नयाँ युवा स्ववियुमा आउने छन् । किनकि, २८ वर्षको उमेर हद छ । उमेर हदका कारण वास्तविक विद्यार्थीे यसपटक चुनिने छन् ।

मतपत्रको छपाई कहिले हुन्छ ?

सम्बन्धित क्याम्पसमा नै मतपत्रको छपाइ हुन्छ । तर मतपत्रको नमुना पर्सि सार्वजनिक हुन्छ ।

चुनाव सबै ठाउँमा एकै पटक हुन्छ कि ? जस्तो स्थिगित भएको ठाउँमा पछि पनि चुनाव हुन्छ ?

नियममै १५ दिनभित्र निर्वाचन गर्ने भनेको छ । यदि आज कतै संगठन दर्ता भएको छैन भने भोलि वा पर्सि हुनसक्छ । चुनावको मिति सकिएको १५ दिनपछि भने मतदान हुँदैन ।

मत परिणाम कति दिनभित्र ल्याउने योजना छ ?

यो विषयमा प्रवेश गरेका छैनौं । सुरक्षा सेलसँग बैठक बसेर तय गर्छौं । मतपत्रको नमुना आएपछि मतगणनालाई व्यववस्थित र पारदर्शी बनाउन केन्द्रीत हुन्छौं ।

चुनाव स्वतन्त्र निष्पक्ष बनाउन विद्यार्थी संगठन, मतदात र उम्मेदवारलाई के भन्न चाहनुहुन्छ ?

विद्यार्थी आन्दोलन र त्यागको कारण स्ववियु पाएको हो । यसलाई विद्यार्थीको हक हितको पक्षमा बहस गर्ने निर्वाचित संस्था हो । दुई वर्षपछि फेरि यो उत्सवमा छौं । यसलाई मित्रवत र निष्पक्ष बनाउन विद्यार्थी संगठन, उम्मेदवार, विद्यार्थी, अभिभावक, प्राध्यापक सबैको भूमिका महत्त्वपूर्ण हुन्छ । यसमा साथ सहयोग पाउने अपेक्षा छ । स्ववियु उत्सवमय बन्छ भन्नेमा विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?