२१ फागुन, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीका लागि एक महिनाभित्रै दोस्रोपटक अन्तर्राष्ट्रिय शृंखलाको अवसर जुरेको छ । गत महिना घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ३-३ खेलको शृंखला खेलेको नेपालले अब घरबाहिर शृंखला खेल्दै छ ।
घरेलु शृंखलामा जितविहीन रहेको नेपाली महिला टोलीले अब युगाण्डामा गएर घरेलु टोलीसँगै हङकङ र नामिबियासँग टी-२०आई शृंखला खेल्दै छ ।
नेपालले युगाण्डासँग यसअघि घरेलु मैदानमै पाँच खेलको शृंखला खेलेको थियो भने हङकङसँग पनि विभिन्न समयमा खेलिसकेको छ । नामिबियासँग भने महिला क्रिकेटमा नेपालको पहिलो भेट हुनेछ ।
आईसीसीको महिला टी-२०आई वरियतामा नेपाल २१औं, हङकङ २२औं, युगाण्डा १८औं र नामिबिया १७औं स्थानमा छन् । यस्तोमा यस शृंखला नेपालका लागि वरियता सुधारको पनि मौका हुनेछ ।
यस शृंखलाका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भइसकेको छ । दुई नयाँ खेलाडीसहितको टोली बुधबार नै युगाण्डा प्रस्थान गरेको छ ।
एक्सपोजरको अवसर
गत महिना नेपालमै भएको महिला टी-२०आई शृंखला घरेलु मैदानमा लामो समयपछि फर्किएको अन्तर्राष्ट्रिय महिला क्रिकेटको खेल थियो । घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेलहरू नखेलेको साढे दुई वर्षभन्दा बढी भइसकेको अवस्थामा नेपाल क्रिकेट संघ (क्यान)ले उक्त शृंखलाको आयोजना गरेको थियो ।
छोटो अवधिमै यसरी अर्को क्रिकेट शृंखलाको अवसर प्राप्त हुनु धेरै राम्रो भएको खेलाडीहरू पनि बताउँछन् । युवा क्रिकेटर पुजा महतोले पनि यसले थप अनुभव तथा एक्सपोजरका लागि राम्रो मद्दत पुग्ने बताइन् ।
‘हाम्रो लागि छोटो समयमा नै फेरि म्याचहरू खेल्ने मौका आएको छ, यसले धेरै एक्सपोजर गेन गर्न हेल्प गर्छ’ पुजाले अनलाइनखबरसँग भनिन्, ‘हामी पछिल्लो शृंखलाभन्दा धेरै राम्रो दिने प्रयास गर्नेछौं।’
त्यसैगरी क्यानका प्रवक्ता छुम्बी लामाले यी सबै खेलहरू भनेको म्याच एक्सपोजरकै लागि भइरहेको बताए । ‘यो म्याच एक्सपोजरकै लागि हो, हाम्रो महिला टोलीले विश्वस्तरीय टिमसँग कम्पिट गर्न सक्षम बनाउने हिसाबले निकै महत्वपूर्ण खेलहरू हुनेछ’ उनले भने ।
यसपटकको शृंखलामा थप दुई युवा खेलाडीहरू थपिएका छन् भने यसले टोलीको सन्तुलन मिल्नुका साथै उनीहरूलाई पनि अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने एक्सपोजर त अवश्य नै प्राप्त हुन्छ ।
टी-२० विश्वकप छनोटको तयारी
सन् २०२६ मा हुने महिला टी-२० विश्वकप क्रिकेटका लागि यसै वर्ष छनोट प्रतियोगिता पनि हुँदैछ । जसमा एसिया क्षेत्रको छनोट आगामी मे महिनामा हुने तय छ । त्यसको लागि पनि यस शृंखलाले अर्थ राख्नेछ ।
अघिल्ला छनोट प्रतियोगिताहरूमा प्रभावशाली प्रदर्शन गर्न नसकेको नेपाली टोलीका लागि थप केही युवा खेलाडीहरूको आगमनसँगै यसपटक केही फरक अनि सुधारिएको प्रदर्शन गर्दै विश्वकपमा छनोट हुने मौका छ ।
उक्त छनोट खेलका लागि यस शृंखलाले लय समाउन तथा कन्सिस्टेन्ट पर्फर्मेन्स बिल्डअप गराउन मद्दत पुग्छ । यसबारेमा कप्तान इन्दु बर्माले पनि अब अब आगामी दिनका लागि हुने महत्वपूर्ण खेलका लागि राम्रो तयारीको अवसर भएको र पछिल्लो हारबाट कमब्याक गर्ने राम्रो अवसर भएको बताइन् ।
त्यस्तै पुजाले पनि टोलीको मुख्य उद्देश्य भनेको विश्वकपमा छनोट हुनु रहेको बताउँदै त्यसअघि हुने छनोट प्रतियोगिता निकै महत्वपूर्ण रहेको बताउँछिन् ।
‘हाम्रो मेन टार्गेट भनेको विश्वकपमा छनोट हुने हो, त्यसका लागि हुने क्वालिफायरका लागि यो सिरिज हाम्रो लागि तयारीको राम्रो माध्यम हुनेछ’ पुजाले भनिन् ।
वरियता सुधार्ने मौका
गत महिना नेपालमै भएको शृंखलामा जितविहीन रहेको नेपालको आईसीसी वरियता खस्किएको थियो । शृंखलाअघि २०औं स्थानमा रहेको नेपाल त्यसपछि २१औं स्थानमा झरेको थियो ।
यस शृंखलामार्फत नेपालले खस्किएको वरियता सुधार गर्न सक्छ । यसबारेमा पुजा महतोको राय पनि त्यस्तै छ । ‘हाम्रो लागि यो अर्को मौका भनेको वरियता सुधार गर्ने पनि हो । त्यसको लागि युगाण्डामा राम्रो क्रिकेट खेल्नुपर्छ र हामी खेल्छौं’ उनले भनिन् ।
प्रशिक्षक मनोज कटुवालले पनि आफुभन्दा केही माथि रहेको टिमसँग खेल हुन लागेकाले राम्रो खेल प्रदर्शन गरेर शृंखलाको उपाधि जित्नेगरी खेलेर फर्कने बताए । यसले वरियताको सुधारमा पनि मद्दत पुग्ने उनको भनाइ थियो ।
फिटनेसमा सुधारको अपेक्षा
महिला क्रिकेट खेलाडीहरूको फिटनेसका बारेमा लामो समयदेखि प्रश्न उठ्दै आइरहेको छ । फिटनेसकै कारण रनिङ बिटवीन द विकेट र फिल्डिङमा समस्या देखिँदा नेपाल जितबाट अधिकांश समय टाढा रहन्थ्यो ।
गत शृंखलामा पनि देखिएको यो समस्या समाधानका लागि खेलाडीहरू पनि ध्यान दिनुपर्ने कुरासँगै फिटनेस ट्रेनरको माग पनि उठ्दै आइरहेको थियो । अहिले टिममा फिटनेस ट्रेनरको आगमन पनि भएको छ र यसले फिटनेसमा अब केही हदसम्म सुधार हुने अपेक्षा गरिएको छ ।
कप्तान इन्दु बर्माले फिटनेस र फिल्डिङ सुधारका लागि धेरै काम गरेको बताएकी छन् । ‘फिल्डिङ र फिटनेसमा सुधारका लागि धेरै काम गरेका छौं, फिटनेस ट्रेनर पनि आउनुभएको छ’ उनले भनिन्, ‘टिमको तयारी पनि एकदमै राम्रो भएको छ, जितेर फर्कनेछौं।’
त्यस्तै प्रशिक्षक कटुवालले पनि थप युवा खेलाडीहरू टिममा आएसँगै फिटनेसका कुराहरूमा पनि ट्रेनर नै ल्याएर तयारी गरेकाले यसपटक शृंखला जितेरै फर्कने विश्वास व्यक्त गरेका छन् ।
***
महिला क्रिकेट टोलीले निश्चित समयको अन्तरालमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउनु र टिमको कमजोरी सुधारका लागि पनि विशेष रूपले काम गरेकाले अघिल्ला खेलहरूभन्दा सुधारिएको प्रदर्शन हुने अपेक्षा गर्न सकिन्छ ।
तर त्यसका लागि खेलाडीहरूले मैदानमा उत्रिँदा पनि त्यही मानसिकताले आफ्नो प्रदर्शन गर्नुपर्ने हुन्छ । माइन्डसेटमा बलियो हुन सके यो शृंखलाले नेपाली महिला क्रिकेटको स्तर बढ्ने क्रमको सुरुवात गराउन सक्छ ।
शृंखलाको कुरा गर्दा नेपालले मार्च ८ (फागुन २४)मा नामिबियासँग खेल्नेछ भने, फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।
यी सबै खेलहरू सकिएपछि शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् ।
नेपालको टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट
प्रतिक्रिया 4