+

हामीले खाना पकाउँदा प्रयोग गर्ने तेलले स्वास्थ्यमा कस्तो असर गर्छ ?

२०८१ फागुन  २० गते २०:५२ २०८१ फागुन २० गते २०:५२
Shares
हामीले खाना पकाउँदा प्रयोग गर्ने तेलले स्वास्थ्यमा कस्तो असर गर्छ ?

हाम्रो खानामा तेल नभई हुन्न । तरकारी पकाउने वा दाल झान्नेदेखि लिएर विभिन्न परिकार बनाउन तेलको प्रयोग हुन्छ । त्यसमाथि तारेको, भुटेको खानेकुरा भनेपछि हामीमध्ये धेरै जना हुरुक्कै हुन्छौँ । यसरी हाम्रो भान्सामा हरेक छाक तेलको प्रयोग हुन्छ ।

तर चिकित्सकहरू भन्छन्  ‘जथाभाबी तेलको प्रयोग स्वास्थ्यका लागि हानिकारक छ।’ उनीहरूले नियन्त्रित मात्रामा तेल प्रयोग गर्नुपर्ने सुझाव दिन्छन् ।

खानामा प्रयोग हुने तेलले मोटोपना बढाउँछ ?

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले सन् २०२२ मा विश्वभर करिब २५० करोड मानिसको तौल बढी भएको देखाएको छ ।

जब हामी मोटोपना बढाउने कारणहरूको बारेमा कुरा गर्छौँ, तब जङ्क फुड र निष्क्रिय जीवनशैलीको कुरा सबैभन्दा पहिले आउँछ । तर, मोटोपना बढाउनमा अत्याधिक प्रयोग हुने तेलको भूमिकालाई बेवास्ता गरिन्छ ।

कुनै पनि खानेकुरालाई स्वादिलो बनाउन तेल र घिउ जस्ता चिजको प्रयोग गरिन्छ । यस्तो खानामा कार्बोहाइड्रेट र चिल्लो धेरै मात्रामा पाइन्छ ।

जसका कारण हाम्रो शरीरमा बोसोको मात्रा बढ्छ । यस्तोमा दैनिक व्यायाम नगर्दा त्यो प्रयोग हुँदैन । हाम्रो खानामा हुने कार्बोहाइड्रेट पनि शरीरमा थुप्रिएपछि बोसोमा नै परिणत हुन्छ । शरीरमा बोसो जम्मा भएर बस्दा मोटोपनाको जोखिम बढी हुन्छ ।

हाम्रो शरीरको संरचनामा बोसोको मात्रा सधैँ बढी हुन्छ । मानिस पातलो देखिए पनि उसको शरीरमा ३० देखि ४० प्रतिशत बोसो हुन्छ, जुन धेरै हो । जब कि खेलाडीको शरीरमा बोसोको मात्रा ७ देखि ८ प्रतिशतको हाराहारीमा हुन्छ ।

यदि शरीरमा बोसोको प्रतिशत बढी छ भने हाम्रो पाचन प्रणाली सुस्त हुन्छ ।  जसका कारण हाम्रो तौल बढ्छ र मोटोपना पनि बढ्दै जान्छ ।

यदि हामीले तोकिएको मात्राभन्दा बढी तेल खपत गर्छौँ भने हाम्रो शरीरको मेटाबोलिज्म सुस्त हुनसक्छ । यसो गर्दा हाम्रो शरीरमा बोसोको मात्रा बढ्न थाल्छ र हाम्रो मोटोपना बढ्छ । साथै, यसले हामीलाई अतिरिक्त क्यालोरी मात्र दिन्छ र फाइबर र हामीलाई आवश्यक भिटामिन र खनिजहरू प्रदान गर्दैन ।

तेलमा सामान्यतया उच्च बोसोको मात्रा हुन्छ । हाम्रो शरीरले अधिकांश क्यालोरी बोसोबाट प्राप्त गर्छ ।  यदि प्रोटिनले चार क्यालोरी उर्जा प्रदान गर्दछ भने, बोसोले ९ क्यालोरी उर्जा प्रदान गर्छ । तसर्थ, हामीले धेरै क्यालोरी भएको खानेकुराले मोटोपना बढाउन सक्छ र विशेष गरी मोटोपनाबाट पीडित व्यक्तिलाई बढी समस्या हुन्छ ।

हाम्रो शरीरलाई कति तेल चाहिन्छ ?

तेलको कम प्रयोगले मोटोपना नियन्त्रण गर्न सकिन्छ । तर, धेरै तेलको सेवनले हाम्रो शरीरमा बोसोको मात्रा बढाउँछ ।

बोसोले हाम्रो शरीरलाई बोसोमा घुलनशील भिटामिन ए, डी, ई र के पचाउन मद्दत गर्छ । त्यसैले हाम्रो शरीरलाई निश्चित मात्रामा बोसो चाहिन्छ ।

मानिसले आफ्नो उमेर अनुसार तेलको सेवन गर्नुपर्छ । तर धेरै सक्रिय नहुने व्यक्तिलाई दिनमा ४ देखि ५ चम्चा अर्थात् २०–२५ ग्राम तेल चाहिन्छ । मानिसले उपभोग गर्न सक्ने तेलको यो मात्रा धेरै हुन्छ ।

तर, मोटोपना बढ्नुको कारण तेल मात्र होइन । मोटोपनको पछाडि अरू पनि धेरै कारण छन् ।

कस्तो तेल प्रयोग गर्ने ?

तेलको प्रयोग गर्दा समय-समयमा परिवर्तन गरेर गर्नुपर्छ । कहिले तिलको तेल, कहिले सनफ्लावर, कहिले तोरीको तेल र कहिले भटमासको तेल ।

एउटै तेललाई बारम्बार प्रयोग गर्नु हुँदैन । तेलको बारम्बार प्रयोगले यसमा ट्रान्स फ्याटको प्रतिशत बढ्छ । हार्बर्ड स्कूल अफ पब्लिक हेल्थ वेबसाइटका अनुसार ट्रान्स फ्याट शरीरका लागि नराम्रो बोसो हो ।

साथै आंशिक रूपमा हाइड्रोजनयुक्त वनस्पति तेलबाट बनाइएका खानेकुराहरू सेवन गर्नुहुँदैन । यसबाहेक, तेलको गुणस्तर पनि महत्त्वपूर्ण छ । खाना पकाउने तेल धेरै तताउने हो भने त्यो हाम्रो स्वास्थ्यका लागि राम्रो हुँदैन ।

ट्रान्स फ्याटले खराब खालको कोलेस्टेराेल अर्थात् एलडीएल बढाउँछ र राम्रो कोलेस्टेराेल अर्थात् एचडीएल घटाउँछ । यसले हृदय रोग, स्ट्रोक, टाइप २ मधुमेह, इन्सुलिन प्रतिरोध, प्रतिरक्षालाई असर गर्न सक्छ ।

तेल खाना
आयुष अधिकारी
लेखक
आयुष अधिकारी
पोषणविद्

अधिकारी हाल काठमाडौं हेल्दी च्वाइसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय