+
+
Shares
आवासीय चिकित्सकको आत्महत्या प्रयास :

मेडिकल काउन्सिलले लियो केयूका निलम्बित ४ चिकित्सकसँग बयान

‘हामीले लिखित बयान लिइसकेका छौं । बयानलाई अध्ययन गरेको पछि निष्कर्षमा पुग्न सकिन्छ,’ काउन्सिल उच्च स्रोतले अनलाइनखबरसँग भन्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते १५:४५
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल)

२० फागुन, काठमाडौं । आवासीय चिकित्सकमाथि मानसिक यातना दिँदै आत्महत्याको प्रयाससम्म पुर्‍याएको आरोपमा धुलिखेल अस्पतालका चार चिकित्सकसँग मेडिकल काउन्सिलले बयान लिएको छ ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) को एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले गत ४ फागुन (आइतबार) आत्महत्याको प्रयास गरेकी थिइन् ।

उक्त घटनामा चार जना चिकित्सकलाई निलम्बन गरेर छानबिनको दायरामा ल्याइएको छ ।

काउन्सिल स्रोतका अनुसार निलम्बित चार चिकित्सकसँग आइतबार बयान लिइएको हो ।

आरोपित चिकित्सक र पीडित दुवै पक्षको बयान लिइसकेको छ । तर, कारबाहीबारे ठोस निर्णय भने भएको छैन ।

‘हामीले लिखित बयान लिइसकेका छौं । बयानलाई अध्ययन गरेको पछि निष्कर्षमा पुग्न सकिन्छ,’ काउन्सिल उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘अब बस्ने काउन्सिलको पूर्ण बैठकले ठोस निर्णय गर्छ ।’

काउन्सिलको व्यावसायिक आचरण समितिका संयोजक डा. विश्वराज दवाडी, सहसंयोजक डा. कुन्जाङ शेर्पा र सदस्यहरू डा. आनन्दकुमार शर्मा, डा. रूपक बीके घिमिरे र राजेश्वर अधिकारीको पाँच सदस्यीय समितिले बयान लिएको हो ।

काठमाडौँ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेस (धुलिखेल अस्पताल)को मानसिक रोग विभागका प्रमुख डा. अजय रिसाल, सोही विभागका डा. दीपक कुँवर, डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई गत बुधवार नै एक हप्ता निलम्बन गर्दै काउन्सिलले बयानका लागि बोलाएको थियो ।

काउन्सिले चार चिकित्सकलाई एक हप्ता काम नगर्न र नगराउनका लागि काठमाडौँ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेस र धुलिखेल अस्पताललाई पत्रसमेत पठाइसकेको छ ।

आवासीय चिकित्सकले घटनाबारे आंशका जनाउँदै सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । घटना पहिलो नभई यसअघि पनि पटकपटक भएको उनीहरूको आरोप छ ।

विभागीय प्रमुख र एसोसिएट प्रोफेसरबाट पटक पटक दुर्व्यवहार भएको उनीहरूको भनाइ छ । एकवर्ष अघि पनि एक जना विद्यार्थीले दुर्व्यवहारकै कारण आत्महत्याको प्रयास गरेको तथा एक जना विद्यार्थी बीचमै पढाइ छोडेको अर्का एक आवासीय चिकित्सक बताउँछन् ।

दुई साताभन्दा बढी समय बितिसक्दा पनि आत्महत्याको घटनाबारे कुनै सुनुवाइ नभएको भन्दै आवासीय चिकित्सकले डीन कार्यालयमा शुक्रबारदेखि ताला लगाएका छन् ।

अस्पतालकै अर्का एक आवासीय चिकित्सकले सत्यतथ्य छानबिन गर्नका लागि डिन कार्यालयले चासो नदिएको गुनासो गरे ।

नाम नबताउने शर्तमा उनले अनलाइनखबरसँग भने, ‘यस विषयमा पटक पटक कुरा राख्दा डीन कार्यालयले चासो दिएको छैन । घटना भएको दुई साता बितिसक्दा पनि डीन कार्यालयले छानबिन समिति बनाउन इन्कार गरिरहेको छ ।’

चिकित्सकलाई बचाउन डिन कार्यालय नै लागिरहेको ती चिकित्सकको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?