
२१ फागुन, देउखुरी । डम्पिङ साइट व्यवस्थापन नहुँदा दाङको लमही बजार दुर्गन्धित बनेको छ । पैदल यात्रु तथा सवारी चालक नाकमुख थुनेर डम्पिङ साइट क्षेत्र पार गर्न बाध्य छन् ।
सोमबार अजम्मरी सामुदायिक वनभित्र रहेको डम्पिङ साइटमा सल्किएको आगोबाट निस्किएको धुवाँको मुस्लोले आसपासका वस्तीमा प्रदूषण थप फैलिएको छ । धुवाँले वस्ती नै ढाकिएको छ ।
एक साताअघि वन क्षेत्रमा लागेको डढेलो फोहोरमा सल्किएको थियो । प्रदूषणबाट लमही नगरपालिका- ५ गोरक्षटोल, रातो डाँडा, लमही बजार, सुनखोली, न्यूरोड प्रभावित भएका छन् ।
दुर्गन्धसहित मानव बस्तीमा फैलिएको पिरो धुवाँले स्थानीयवासी बिरामी पर्न थालेका छन् । धुवाँका कारण आँखा पोल्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या हुन थालेको स्थानीय शशिराम नेपालीले बताए ।
नगरपालिकाले फोहोरमा लागेको आगो दमकल प्रयोग गरेर निभाएको दाबी गरे पनि भित्रभित्र आगो झनै फैलिएको स्थानीयको भनाइ छ ।
नगरपालिकाले डम्पिङ साइट व्यवस्थित गर्न नसक्दा धेरैले दु:ख पाएको सरिता विकको गुनासो छ । वस्ती र जंगलमाथिको आकाश दुर्गन्धित धुवाँले ढाकिँदा गाईबाख्रा चराउन जंगल जानसमेत नसकेको उनले बताइन् ।
डम्पिङ साइटले निम्त्याएको प्रदूषणका विषयमा नगरपालिकालाई पटक-पटक ध्यानाकर्षण गराए पनि समाधान हुन नसकेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताए । ‘नगरपालिकामा समस्या राख्दा छिट्टै व्यवस्थापन हुने आश्वासन पाइन्छ । तर समस्या ज्यूँका त्यूँ छ,’ उनले भने ।
लमही बजार क्षेत्रबाट दैनिक निस्कने फोहोर लमही नगरपालिकाले अजम्मरी सामुदायिक वनमा फाल्दै आएको छ । करिब दुई दशकदेखि यहाँ फोहोर फाल्दै आए पनि नगरपालिकाले डम्पिङ साइटको व्यवस्थापन भने गर्न सकेको छैन ।
वनमा आगो लागेपछि चराचुरुङ्गीको चिरबिर आवाज अजम्मरी सामुदायिक वनमा सुनिन छाडेको छ । रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल घट्दा वनको रौनक घटेको वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालले बताए ।
‘वन क्षेत्रमा आँगो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको छ । जताततै मयुर देखिन्थे, खोल्सीतिर पस्दा थरीथरीका चराको चिरबिर सुनिन्थ्यो । केही दिनयता यी चरा देखिँदैनन्,’ उनले भने, ‘वनमा बाक्लै भेटिने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएका छन् ।’
डम्पिङ साइटमा लगाइएको आगो बनमा फैलिएर कतिपय चराचुरुङ्गी र वन्यजन्तु मरेको र कति अन्तै गएको उनले बताए ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी भने डम्पिङ साइट व्यवस्थापनमा आफू प्रतिवद्ध रहेको दाबी गरेका छन् । डम्पिङ साइट व्यवस्थापन गर्न नगर सभाबाट निर्णय नै भइसकेको उनले बताए ।
उनले भने, ‘डम्पिङ साइट व्यवस्थापनका लागि फिल्डमा खटिन प्राविधिकलाई निर्देशन दिइसकिएको छ । कुहिने र नकुहिने फोहोर घरमै छुट्याएर कुहिने फोहोरबाट मल बनाउने अभियान पनि सञ्चालन गरिएको उनको भनाइ छ। लमही नगरपालिकाबाट दैनिक ६५ देखि ७० टन फोहोर निस्किने गर्छ ।
(शिवु खनालको सहयोगमा)
प्रतिक्रिया 4