+
+
Shares

प्रेमिकादेखि भरियासम्म प्रयोग गरेर चाँदी तस्करी, पैसा गन्ने मेसिन राखेरै कारोबार

भारतबाट तस्करी गरी काठमाडौं ल्याएर बेच्दा ठूलो फाइदा हुने भएपछि यो समूहले करिब एक वर्षदेखि मोटरसाइकलको ट्यांकीमा फल्सबटम बनाएर चाँदीको तस्करी गर्ने गरेको अनुसन्धानबाट खुलेको हो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ फागुन २१ गते २०:२०

२१ फागुन, काठमाडौं । भारतबाट नेपालमा चाँदी तस्करी हुने गरेको खुलेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालयले अवैध चाँदीसहित पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा भारतबाट नेपालमा चाँदी तस्करी हुने गरेको खुलेको हो । स्थलमार्गबाट तराईका जिल्ला हुँदै संघीय राजधानी काठमाडौंसम्म ल्याएर चाँदीको अवैध कारोबार हुने गरेको खुलेको छ ।

चाँदी तस्करी गिरोहका पाँच सदस्यलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेहरूमा बाराको कलैया नगरपालिका–८ खपरटाटा घर भएका २८ वर्षीय गणेश साह, कलैया–८ कै ३४ वर्षीय प्रेमकुमार कुशवाह, बाराकै जितपुर सिमरा उपमहानगरपालिका–१६ घर भई काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने २२ वर्षीया विपना सार्की, पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगुवा गाउँ बस्ने ३२ वर्षीय दिनानाथ साह सुनार र बाराकै कलैया नगरपालिका–८ घर भई काठमाडौं नरेफाँट बस्ने ३४ वर्षीय सन्तोषकुमार साह छन् ।

भारतबाट भन्सार छलेर तस्करी गर्दै चाँदी काठमाडौं ल्याएर बेचबिखन गर्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स पिलरले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले बताए । पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभागको कार्यालय हरिहर भवन ललितपुर बुझाइएको छ ।

भन्सार छलेर चाँदी काठमाडौं छिराएर बेच्दा ठूलो फाइदा हुने भएपछि यो समूहले करिब एक वर्षदेखि चाँदीको तस्करी गरेको अनुसन्धान अधिकृत बताउँछन् । ती अधिकृत भन्छन्, ‘नेपालमा भन्दा भारतमा चाँदी केही सस्तो छ । त्यसमाथि भन्सार छलेर पास गराएपछि झन् ठूलो फाइदा हुने भयो,’ एक अधिकृतले भने, ‘एक पटकमै मोटो रकम फाइदा हुने भएपछि तस्करहरूले धन्दा चलाएको देखिन्छ ।’

बाइकको ट्यांकीमा फल्सबटम बनाएर तस्करी

यो समूहले विगत लामो समयदेखि भारतबाट नेपालमा चाँदी तस्करी गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरूले मोटरसाइकलको ट्यांकीमा फल्सबटम बनाएर चाँदी तस्करी गर्दै आएको अनुसन्धान अधिकृत तथा डीएसपी रोशन खड्का बताउँछन् ।

तेल ट्यांकीको केही भाग काटेर प्वाल पार्ने र चाँदीलाई प्लास्टिकमा पोको पारेर भारतबाट रक्सौल हुँदै काठमाडौंको बजारसम्म ल्याउने गरेको पाइएको डीएसपी खड्काले बताए ।

धुलोजस्तो मसिनो दानाको स्वरूपमा चाँदी नेपाल ल्याउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

काठमाडौं ल्याएपछि नरेफाँटमा भण्डारण गरेर राख्ने र त्यहीँबाट विभिन्न सुनचाँदी गरगहनाका पसलहरूलाई बेच्ने गरेको पाइएको छ । उनीहरूबाट प्रहरीले पैसा गन्ने मेसिन र चाँदी तौलने तराजु समेत बरामद गरेको छ ।

हुन्डीमार्फत कारोबार

पक्राउ परेका पाँच नेपालीमध्ये यसका मुख्य नाइके सन्तोषकुमार साह रहेको प्रहरीको भनाइ छ । उनैले नै भरिया परिचालन गरेर चाँदीको तस्करी गर्ने गरेको प्रहरीको भनाइ छ ।

करिब ४ वर्षअघिसम्म सन्तोषको बाराको कलैयास्थित सिनेमा रोडमा शुभलक्ष्मी ज्वेलर्स नामको गरगहनाको पसल थियो । उनका अनुसार ऋण लिएर खोलेको उक्त पसल ब्याज तिर्न नसकेका कारण समस्या भएपछि बिक्री गरिएको थियो ।

पसल बिक्री गरेर तीन वर्ष पहिले वैदेशिक रोजगारीमा आफू दुबई गएको सन्तोषले प्रहरी समक्ष बताएका छन् । दुबईमा ११ महिना बसेर फर्केका उनले त्यसपछि चितवनको नारायणगढमा होटल सञ्चालन गरेको बताएका छन् । उक्त होटल बिक्री गरेपछि भने उनी चाँदी तस्करीमा लागेको प्रहरीको भनाइ छ ।

होटल बेचेर करिब ८/९ महिना अघि काठमाडौं छिरेका सन्तोषले हाल पक्राउ परेका प्रेमकुमार कुशवाह र गणेश साहलाई भरियाको रूपमा प्रयोग गरेर चाँदीको तस्करी गर्ने गरेको पाइएको एसएसपी बस्नेत बताउँछन् ।

‘भारतको रक्सौलबाट भारतीय नागरिकले नै वीरगञ्जसम्म चाँदी ल्याइदिने र त्यहाँबाट उनीहरू दुई जनाले काठमाडौं ल्याउने गरेको सन्तोषले बताएका छन्’ एक अनुसन्धान अधिकृत भन्छन् ।

सन्तोषले एक महिनामै कम्तीमा पनि तीन पटकसम्म चाँदी तस्करी गरेर ल्याउने गरेको स्वीकार गरेका छन् । एक पटकमा उनीहरूले १५ देखि २० किलो चाँदी ल्याउने गरेको प्रहरीको भनाइ छ ।

काठमाडौंमा चाँदीको अर्डर भएपछि सोही अनुसार भारतबाट सन्तोषले तस्करी गरेर ल्याउने गरेको प्रहरीको दाबी छ । ‘भारतीयले मलाई ह्वाट्स एपमार्फत दिएको टोकन लिई आउने नेपाली नागरिकलाई मैले पैसा दिने गर्थेँ । उक्त पैसा हुन्डीमार्फत भारत जाने गरेको थियो’ सन्तोषले प्रहरी समक्ष भनेका छन् ।

भरियालाई १० हजार ज्याला

सन्तोषले भरियाका रूपमा प्रयोग गरेका प्रेमकुमार र गणेशलाई एक पटकमा २० किलो चाँदी काठमाडौं ल्याए बापत १० हजार रुपैयाँ ज्याला दिने गरेको प्रहरीको भनाइ छ ।

१५ किलो चाँदी ल्याए ८ हजार र २० किलो ल्याए १० हजार रुपैयाँ पाउने गरेको उनीहरूले प्रहरी समक्ष बताएका छन् । भरियाको रूपमा प्रयोग भएका प्रेमकुमार प्लस टु अध्ययनरत हुन् । उनी पहिला जितपुर सिमराको केबीसी आल्मुनियममा ज्याला मजदुरीमा काम गर्थे । सन्तोषको सम्पर्कमा पुगेपछि भने चाँदी तस्करीको भरियाको रूपमा प्रयोग भएको प्रहरीको भनाइ छ । उनले फागुनमा मात्रै तीन पटकका तस्करीको ५० किलो चाँदी वीरगञ्जबाट काठमाडौं ल्याएको अनुसन्धानबाट खुलेको छ ।

ना ४१ प ३३४६ नम्बरको मोटरसाइकलमा फल्स बटम बनाएर उनले चाँदी तस्करी गर्ने गरेको प्रहरीको भनाइ छ । उक्त मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । भारतीय नागरिकले सीमा पार गरेर नेपाल छिराइदिएपछि उनले उक्त चाँदी काठमाडौंसम्म ल्याउने गरेका थिए ।

भरियाकै रूपमा प्रयोग भएका अर्का व्यक्ति गणेश भने १० कक्षा पास गरेका छन् । उनी सुरुमा गाउँमा खेतीपाती गर्थे । पछि उनी पनि तस्करीको चाँदीको भरिया बनेका प्रहरीको भनाइ छ ।

पक्राउ परेकी युवती सार्की भने सन्तोषको प्रेमिका रहेको प्रहरीको भनाइ छ । ब्युटिपार्लरको काम सिक्दै आएकी उनले पनि आफ्नो प्रेमीलाई तस्करीको सामान बेच्न सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

दिनानाथ भने सन्तोषको चाँदीको सप्लाई गर्ने व्यक्ति हुन् । कालीगढको समेत काम गर्दै आएका उनी तस्करी भएर काठमाडौं आएको चाँदी सन्तोषले भनेको ठाउँमा पुर्‍याउने गरेको खुलेको छ । त्यस बापतले एक पटकमा ५ सयदेखि १ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको भनाइ छ । तीन महिनादेखि सन्तोषको काम गर्दै आएको उनले प्रहरी समक्ष बताएका छन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?