
कतै पढेको थिएँ– रोज्नुपर्यो भने स्वर्गभन्दा आमाको काख रोज्छु ।
मलाई पनि कसैले आमाबारे सोधे भन्नेछु– आत्माभन्दा माथिको भगवान् हुन् आमा ।
अरुले कसरी बयान गर्छन्, मलाई थाहा छैन । तर आमाबाट नै आत्माको रूपमा संसारमा सृष्टि सम्भव भएको हो ।
मानिसले कतिपय कुरा गुमाइसकेपछि अझ बढी महसुस गर्छ । आफ्नी आमा गुमाएको यो दुई वर्षको भोगाइ र उहाँले दिएका ज्ञानले मलाई आमाको महिमा, त्याग, तपस्या र बलिदान सम्झाएको छ ।
अनगिन्ती जोखिम मोलेर, हजारौँ पीडा र कष्ट सहेर आमाले कुनै नवजातलाई यस धरतीमा जन्म दिन्छिन् । संसार देखाउँछिन् ।
बच्चालाई जन्म दिन आमाले गरेको समर्पण र त्यागको हिसाब–किताब नै गर्न सकिँदैन । बच्चा पेटमा आएदेखि उसको सुरक्षाका लागि आमा रक्षाकवच भएर उभिन्छिन् । त्यसैले त आमासँग मातृत्व हुन्छ ।
बच्चालाई तोते बोली सिकाउने, हिँड्न सिकाउने पहिलो व्यक्ति आमा नै भएकोले हाम्रा लागि पहिलो गुरु उहाँ नै हो । यस अर्थमा बच्चालाई दिनुपर्ने संस्कारको पूरै हकदार आमा हुन् ।
बच्चाले बोल्ने पहिलो शब्द आमा हो । अकस्मात चोट र ठेस लाग्दा मुखबाट थाहै नपाई निस्किने शब्द हो ‘आमा’ ।
श्रीमद्भागवत महापुराणमा त अभिमन्यूले आमाको पेटमा छँदा नै चक्रव्यूहमा पस्ने विद्या जानेको प्रसंग छ । प्रह्लादलाई पनि आमाको गर्भमै देवर्षि नारदले भगवान् भक्तिको ज्ञान दिएको उल्लेख छ ।
कुनै बेला देवीहरुले रजस्वला हुन र आमा बन्न नपरोस् भनेकोले पार्वतीलाई आमा बन्न मन लाग्दा महादेवसँग झगडा गर्नुपरेको कुरा पनि पाइन्छ ।
त्यही क्रममा गणेशजीको उत्पत्ति हुनुले पनि आमाको महत्वलाई अझ बढी उजागर गर्छ ।
धैर्य र शक्तिकी स्रोत अनि सन्तानको लागि मार्गनिर्देशक हुन् आमा । आमाको मुटु पनि सन्तानसँग जोडिएको हुन्छ भन्ने उक्ति छ ।
त्यसैले सन्तानको प्रगतिमा निःस्वार्थ खुसी हुने भनेको आमा मात्र हो । मान्छेले नपुजेको भनेर बरु देवता रिसाउलान् तर आमालाई पुज्नुपर्दैन, आफ्ना सन्तान नजिकै बसिदिए पुग्छ ।
घरमै बसून् वा जागिर गर्न जाऊन्, सन्तानको रेखदेखदेखि घरव्यवहार मिलाउने मुख्य जिम्मेवारी आमाको हुन्छ । त्यसैले भनिन्छ, जुन घरमा आमा छन्, त्यो घरमा सधैँ खुसियाली रहिइरहन्छ ।
सन्तानको खुसीको खातिर आमाले गर्ने त्याग त कति हुन्छ कति !
आफ्नै स्वास्थ्य कमजोर हुँदा पनि आमाले सन्तानलाई मिठो–मसिनो खुवाउन र राम्रै लगाउन हमेसा प्रयत्न गरिरहन्छिन्, चाहे पुस–माघको ठिहिर्याउँदो होस् कि, असार–साउनको मुसलधारे झरी । आफू भोकै बसेर आमाले गरेको संघर्षका कथा त हामीले देखेकै छौँ, भोगेकै छौँ ।
एउटा हिन्दी सिनेमामा गजबको डाइलग छ– मेरे पास माँ हे ।
सिनेमाले दिन खोजेको सन्देश हो, आमासँग शक्ति हुन्छ । जुन घरमा आमा छिन्, त्यो घरको सन्तान पनि शक्तिशाली हुन्छ ।
हामी नेपालीको रगतमा नै बसेको छ, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’
०००
म आमाको बारेमा किन यति धेरै बखान गरिरहेको छु भने, मलाई मेरी आमाको गहिरो प्रभाव परेको छ । संस्कार, संस्कृति मात्र होइन, असल बन्न आमाले दिनुभएको ज्ञान आज मेरो पथप्रदर्शक बनेको छ ।
मेरो राम्रो कुरा वा प्रगति सुन्दा सधैं आमाले मेरो टाउको समायर कपाल सुँघ्नुहुन्थ्यो र आशिर्वाद दिनुहुन्थ्यो । असफलतामा मभन्दा बढी दुःखी हुनुहुन्थ्यो । तर मलाई हरेस नखान प्रोत्साहन गर्नुहुन्थ्यो । जुन आज मेरो लागि स्मृति मात्र हो, इतिहास हो ।
सम्भवतः सबै आमाहरूको माया सन्तानको लागि उस्तै होला तर मैले सोच्दा मेरी आमाले मलाई गर्ने माया अलि फरक हो ।
मेरी आमा नेपाली र संस्कृत राम्रैगरी पढ्न र नेपालीमा लेख्न सक्नुहुन्थ्यो । किनकि, मेरो मावलको हजुरबुबा शिक्षक हुनुहुन्थ्यो । त्यही भएर छोरीले पनि पढनुपर्छ भनेर पढाउनुभएको रहेछ ।
जबकि, उसबेला अर्काको घर जाने छोरीलाई पढाएको भनेर हजुरबुबालाई समाजले नै राम्रो मानेका थिएनन् रे !

तर, हजुरबुबा आफ्नो अडानमा प्रतिवद्ध हुनुभएछ । यो २०१० सालतिरको कुरा हो । आमाले मलाई बताउनुभएअनुसार हजुरबुबाले गरेको त्यो क्रान्ति थियो, जुन तत्कालीन समाजमा निकै कठिन थियो । हजुरबुबाको त्यो विद्रोहमा आफूले साथ दिएको मेरी आमा बताउनुहुन्थ्यो ।
आमाले ७–८ कक्षासम्म पढ्न पाउनुभएछ । तर, बिहे भएपछि भने पढाइ रोकिएको र स्वतन्त्रता सबै रोकिएको उहाँ (आमा) बताउनुहुन्थ्यो ।
मेरो आमा आध्यात्मिक पनि हुनुहुन्थ्यो । त्यही भएर उहाँमा मैले सधैँ सकारात्मक सोच मात्र पाएँ ।
आमाको दृढता थियो– जस्तो परिस्थिति आइपरोस्, अरुलाई दुःख नदिने । अरुको आत्मालाई रुवाउन हुन्न बरु सकेको मद्दत गर्नुपर्छ ।
आमाको यस्तै प्रेरणाले हामीले नुवाकोटको समुद्रटारमा रहेको एक विद्यालयलाई सानो सहयोग गरेका छौँ । यस्तै, हेटौंडाको एक स्कुलमा अध्ययनरत एक छात्रालाई आफ्नै खर्चमा पढाइरहेका छौँ । जुन १ कक्षादेखि १० सम्म निरन्तर हुनेछ ।
आमा भन्नुहुन्थ्यो– छोरी शिक्षित भइन् भने पूरा घर शिक्षित हुन्छ । आमाको यही आशीर्वचनले हामी अहिले साना छोरीहरुको शिक्षाका लागि केही लगानी गरिरहेका छौँ ।
त्यसो त मेरो बुबा पुष्कर ढुंगाना पनि शिक्षा विकासको लागि निकै मरिमेटेर लाग्नुभएको छ । यद्यपि, मलाई गहिरोसँग छाप भने आमाको नै परेको हो ।
आमाकै कारण अहिले म यो स्थितिमा छु भन्न कुनै संकोच मान्दिनँ । त्यतिमात्र होइन, काठमाडौँकै सुविधासम्पन्न ठाउँमा भएर पनि मलाई निरन्तर मिहिनेत गर्नुपर्छ भन्ने ज्ञान उहाँले दिनुभएको हो ।
जीवनमा अनुशासनमा रहनुपर्ने कुरा उहाँले नै सिकाउनुभएको हो, जुन अहिले म व्यवहारमा लागू गर्ने कोसिस गर्दै छु ।
अन्त्यमा, मैले अब आमालाई फेरि भेट्न र पहिलेझैँ सुझाव, सल्लाह, माया, प्रेरणा पाउन सम्भव छैन तर उहाँले हाम्रो परिवारलाई दिनुभएको संस्कार सदा कार्यान्वयन भइरहनेछ ।
मेरा आमाका तीन सन्तान हामी उहाँकै प्रेरणा र शिक्षाअनुसार अरुलाई शिक्षा दिन लागिपरेका छौँ ।
प्रतिक्रिया 4