
२३ फागनु, काठडमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा भएको गोली आक्रमणमा अभियुक्त कारागार चलान भएका छन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ का शाहिर शंकर कारागार चलान भएका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको बिहीबारको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
१३ पुसको राति १० बजेतिर शंकर मुलपानीमा भूपु सैनिक दम्पत्ती (अर्जुन श्रेष्ठ र शान्तिदेवी)माथि गोली प्रहार गरेका थिए ।
भारतबाट ६० हजार रुपैयाँ पेस्तोल खरिद गरेर भुपु सैनिक दम्पत्तीको हत्या गर्ने उद्देश्यले गोली प्रहार भएको थियो । प्रहरीले उनको साथबाट म्यागजिनसहितको अटोमेटिक पेस्तोल एक थान सहित म्यागजिनमा लोड भएको चार राउण्ड गोली, पड्केको अवस्थामा एक राउण्ड गोली र शंकरको ज्याकेटबाट थप पाँच राउण्ड गोली बरामद गरेको थियो ।
गोली आक्रमणपछि प्रतिकार गर्ने क्रममा उनी समेत घाइते भएका थिए । गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो । २८ माघमा डिस्चार्ज भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।
शंकरले शनिबार राति १० बजेतिर अर्जुन श्रेष्ठको घरभित्र पसेर अर्जुन र उनकी श्रीमती शान्तिदेवीमाथि गोली प्रहार गरेका थिए । उनीहरूको छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराइएको थियो ।
शंकरले शान्तिदेवीमाथि गोली प्रहार गरेका थिए । उनको घाँटीको छेउबाट गोलीले छेड्दै अर्जुनको पेटमा गोली लागेको थियो । गोली अर्जुनकै पेटमा अड्किएको मेडिकल जाँचबाट पुष्टि भएको थियो ।
उनीविरुद्ध ज्यान मार्ने उद्योगको कसुर र हातहतियार खरखजनाको कसुरमा दुई वटा फरक फरक मुद्दा दायर भएका थिए । दुवै मुद्दामा उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
प्रतिक्रिया 4