+
+
Shares

डीएभी स्कुल : जहाँ पढाइन्छ संस्कृत र संस्कृति

विद्यालयहरूको भीडमा कसरी पृथक हुने, अरूभन्दा फरक ज्ञान र सिकाइका विद्यालाई दिनुपर्ने चुनौती विद्यालयलाई भयो । त्यसपछि विद्यालयले संस्कृत विषय अनिवार्य बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २३ गते १९:२७

२३ फागुन, काठमाडौं । कोही नृत्यमा झुमिरहेका छन् । कोही संगीतको तालमा छन् । कोही खेलमा रोमाञ्चित छन् । कोही लाइब्रेरीमा पुस्तक पढ्न मग्न छन् ।

यो ललितपुर जाउलाखेलस्थित डीएभी स्कुल (सुशील केडिया विश्व भारती विद्यालय) परिसरको दृश्य हो । जहाँ विद्यार्थीहरू आफ्नो रुचि अनुसार सिकिरहेका छन् । शिक्षकहरू सिकाइरहेका छन् ।

‘डीएभी अरू विद्यालय जस्तो नभएर एउटा अभियान हो,’ स्कुलका सहायक प्रधानाध्यापक रामचन्द्र खनाल भन्छन्, ‘विद्यार्थीले जीवन दर्शन र जीवनोपयोगी शिक्षा पाइरहेका छन् ।’

एउटा दुखान्तले जन्मिएको स्कुल हो डीएभी । जीवनमा दुःख छ । समस्या छ । तर, समाधान पनि छ । समस्या समाधान खोजी गर्न विद्यार्थीलाई सिकाउँछ डीएभीले ।

स्कुलका संस्थापक हुन् शंकरलाल केडिया । सन् १९९३ तिरको कुरा हो । केडियाका १९ वर्षीय कान्छो छोराको अकस्मात निधन भयो । केडिया परिवार शोकमा डुब्यो ।

शोकलाई कसरी शक्तिमा बदल्ने ? शंकरलालले एउटा निचोड निकाले– ‘एउटा विद्यालय खोल्ने र त्यहाँ पढ्ने सबै विद्यार्थीलाई छोराछोरीका रूपमा हेर्ने ।’

केडिया व्यावसायिक घराना सञ्चालक भए पनि सामाजिक अभियन्ता पनि थिए । ‘पवित्र मनसायले खोलिएको मेमोरियल स्कुल हो,’ सहायक प्रधानाध्यापक खनाल भन्छन् ।

अंग्रेजी त छँदैछ, त्योसँगै फ्रेन्च, जर्मन र चिनियाँ भाषामध्ये कुनै एक भाषा पनि विद्यार्थीले पढ्न पाउँछन् ।

विद्यालय त खोल्ने तर कस्तो ? नेपाल वैद्यिककालदेखि नै ऋषिमुनि जन्माउने ज्ञान भूमि हो । ‘ज्ञान भूमिका ऋषिमहर्षिका सन्तती हौं । त्यही खालको वातावरण दिएनौं भने ज्ञान जन्मन सक्दैन । वेद, पूर्वीय मान्यता, दर्शन, सभ्यता, संस्कृति र संस्कार संरक्षण गर्ने विद्यालय हो,’ खनालले भने ।

आधुनिक विश्वसँग पनि विद्यालयलाई जोड्नुपर्ने थियो । ‘संस्कारयुक्त शिक्षा र आधुनिक ज्ञान विज्ञान र विश्वसँग जोड्ने गरी नेपालको कानुन अनुसार मेमोरियल स्कुल खोलिएको हो,’ उनले भने ।

संस्कृत अनिवार्य, फ्रेन्च, जर्मन र चिनियाँ भाषा पनि

विद्यालयहरूको भीडमा कसरी पृथक हुने, अरूभन्दा फरक ज्ञान र सिकाइका विद्यालाई दिनुपर्ने चुनौती विद्यालयलाई भयो । त्यसपछि विद्यालयले संस्कृत विषय अनिवार्य बनाएको छ ।

‘संस्कारलाई दैनिक करिकुलममा जोडेर नलगेसम्म अरू विद्यालय जे जस्तो छ त्यस्तै बन्ने भयो । कक्षा ५ देखि ८ सम्म संस्कृत अनिवार्य गरेका छौं,’ खनालले भने ।

अंग्रेजी त छँदैछ, त्योसँगै फ्रेन्च, जर्मन र चिनियाँ भाषामध्ये कुनै एक भाषा पनि विद्यार्थीले पढ्न पाउँछन् । ‘भाषाबाट विचार आउँछ । आफ्ना ज्ञान पनि भाषाबाट अरू ठाउँमा सञ्चार गर्न सकिन्छ । फ्रेन्च, जर्मनी र चिनियाँमध्ये एउटा भाषा विद्यार्थीले पढ्न पाउँछन्,’ सहायक प्रधानाध्यापक खनालले भने, ‘बुद्धको भूमि हो नेपाल । पाली भाषाबारे पनि ज्ञान दिने गरेका छौं ।’

डीएभीमा विद्यार्थीले चाहे हिन्दी पनि पढ्न पाउँछन् । यतिमात्र होइन, स्थानीय पाठ्यक्रमले तोकेका भाषा पनि विद्यार्थीले पढ्न पाउँछन् ।

‘भाषा प्रभावकारी भएन भने प्रभावकारी ढंगले विचार राख्न सकिँदैन । ज्ञान खुम्चिन्छ । भाषाले ज्ञानको क्षीतिज फराकिलो हुन्छ । मजबुत बनाउने काम गर्छ,’ खनालले भने, ‘ग्लोबल सिटिजन बनाउनुपर्ने छ । यसका लागि भाषा महत्त्वपूर्ण हुन्छ ।’

प्रत्येक वर्ष विद्यालयले बनाउँछ ‘थिम’

हरेक क्षेत्रमा चाहिने भनेको अनुशासन हो । अनुशासन काम, अध्ययन, व्यवहार सबैमा चाहिन्छ । अनुशासित जनशक्ति बनाउन विद्यालयले हरेक वर्ष ‘थिम’ बनाउँछ ।

‘प्रत्येक वर्ष थिम बनाउँछौं । कस्तो जनशक्ति बनाउने त्यो थिम बेसमा गर्छौं,’ उनले भने । वर्षभरि राम्रो अध्ययन अनुसन्धान अथवा जुनसकै क्षेत्रमा राम्रो गर्ने विद्यार्थीलाई डीएभीले अवार्ड गर्छ ।

‘कक्षाको अवार्ड हुन्छ । बानी व्यवहारको अवार्ड हुन्छ । कुनै प्रतियोगिताको हुन्छ । जुनसुकै क्षेत्रमा राम्रो गर्ने विद्यार्थीलाई अवार्ड गर्छौं । यो विद्यार्थीको जीवन बनाउने हो,’ उनले भने ।

विद्यार्थीलाई समूहमा बस्ने र काम गर्ने वातवरण पनि डीएभीले सिकाउँछ । ‘विद्यार्थी क्रिएटिभ हुनुपर्छ । समूहमा काम गर्ने र आलोचनात्मक चेत विकास विद्यार्थीमा हुनुपर्छ । तबमात्र विद्यार्थी सही मार्गमा हिँड्न सक्छ,’ उनले भने ।

मुख्यतः विद्यालयले विद्यार्थीलाई समस्या समाधान गर्न सिकाउने गरेको छ । ‘जन्मेदेखि नै समस्या हुन्छ । समाधान गर्ने अगाडि जान्छ । पाइला–पाइलामा समस्या हुन्छ । त्यसलाई समाधान गर्ने शिक्षा विद्यार्थीलाई दिने हो,’ उनले भने ।

प्राविधिक र व्यावहारिक शिक्षा

डीएभीले घोकन्ते विद्याभन्दा पनि प्रविधि र व्यावहारिक शिक्षा दिने गरेको छ । जसका कारण विद्यार्थी १२ कक्षा सकेपछि आफैं गरीखान सक्ने हुन्छन् ।

‘भोकेसनल एजुकेसन आजको आवश्यकता हो । हामीले यसैमा जोड गरेका छौं । मास मिडिया, आईटी एन्ड इलोक्ट्रोनिक्स लगायत प्राविधिक र व्यावहारिक शिक्षा छ,’ उनले भने ।

उच्च शिक्षामा डाक्टर बन्ने, इन्जिनियर बन्ने वा सामाजिक क्षेत्रमा जाने हो भने सोही अनुसार विद्यालय शिक्षामा डीएभीले पढाउँछ । रोबोट, फेसन डिजाइन जस्ता कोर्स पनि विद्यार्थीले पढ्न पाउँछन् । ‘भोकेसनल कोर्सको छुट्टै परीक्षा नै हुन्छ,’ सहायक प्रधानाध्यापक खनालले भने ।

खेलकुद र संगीतमा अगाडि

डीएभीले खेलकुदलाई प्राथमितामा राखेको छ । क्रिकेट, फुटबल, बास्केटब लगायत खेलको डीएभीले क्लब नै बनाएको छ । ‘खेलको शिक्षक नै राखेका छौं । सैद्धान्तिक र प्राक्टिकल दुवै हुन्छ,’ खनालले भने । डीएभीले हरेक प्रतियोगितामा अवार्ड जित्ने गरेको छ ।

‘खेलको रुटिन नै बनाएका छौं । राम्रो खेलाडी बन्ने अवसर छ,’ खनालले भने । गीत, संगीत र नृत्यमा पनि डीएभी अगाडि छ । ‘गीत, संगीत र नृत्यको पनि शिक्षक नै राखेर सिकाउने गरेका छौं,’ उनले भने ।

डीएभीले योगलाई पनि जोड दिएको छ । ‘ध्यान योगले विद्यार्थीको सिकाइमा राम्रो प्रभाव पार्ने रहेछ । योगको परीक्षा नै हुन्छ,’ उनले भने, ‘विद्यार्थीको चाहना र क्षमता अनुसार अतिरिक्त गतिविधि हुन्छ । बालबालिका अवसरबाट वञ्चित नहुन् भन्ने हो । क्षमता पहिचान गरेर विद्यार्थीलाई सिकाइन्छ ।’

ल्याब र लाइब्रेरी

डीएभीले विद्यार्थीको सिकाइ गुणस्तरीय बनाउन प्रविधिमैत्री कक्षा कोठा बनाएको छ । आईसीटी बोर्ड, विज्ञानको ल्याब, लाइब्रेरीको व्यवस्था गरिएको छ । यसका लागि भौतिक संरचना र सोही अनुसार शिक्षक व्यवस्थापन गरिएको छ । डीएभीमा राणाकालीन भवन समेत देख्न पाइन्छ । प्रत्येक विषयमा विभागहरू छन् ।

‘विभागीय प्रमुख तोकेर विद्यार्थीलाई सिकाउने नयाँ–नयाँ मेथड खोजी गर्छौं,’ खनालले भने, ‘प्रविधिमैत्री कक्षा छ । स्मार्ट बोर्ड छ । कक्षा अनुसार लाइब्रेरी छ । १ देखि ४ कक्षासम्म एउटा, ५ देखि १० अर्को र ११ र १२ कक्षाका लागि छुट्टै लाइब्रेरी छ ।’

नेपाली विद्यार्थीले सीबीएसई बोर्ड अथवा नेपाली बोर्डमध्ये जुनमा इच्छा लाग्छ, त्यसैमा पढ्न पाउँछन् । डीएभीको नतिजा पनि अब्बल छ ।

७७ जिल्लामात्र होइन, विदेशी विद्यार्थीले समेत डीएभीमा पढ्न सक्छन् । नेपाली र भारतीय बोर्डबाट समेत पढाइ हुने हुनाले विद्यार्थीलाई रोज्ने अवसर समेत छ ।

‘भारतको सीबीएसई बोर्डको पनि पढाइ हुन्छ । ‘यही शिक्षाका लागि नेपालीहरू दार्जिलिङ, सिक्किम, देहरादून जानुपर्थ्यो । अहिले नेपालमा पढ्न पाइन्छ,’ उनले भने, ‘भारतबाट नेपाल आएर विभिन्न पेसा–व्यवसाय गरेकाले पनि त्यहाँका शिक्षा यहीँ पाइन्छ ।’

नेपाली विद्यार्थीले सीबीएसई बोर्ड अथवा नेपाली बोर्डमध्ये जुनमा इच्छा लाग्छ, त्यसैमा पढ्न पाउँछन् । डीएभीको नतिजा पनि अब्बल छ । एसईईमा डीएभीका विद्यार्थीले ४ जीपीए पनि ल्याएका छन् ।

मध्यम शुल्क

उपत्यका बाहिरका विद्यार्थीका लागि आवासीय सुविधा पनि छ । तर काठमाडौं, भक्तपुर र ललितपुरका विद्यार्थीका लागि बसको व्यवस्था गरिएको छ ।

डीएभीमा मासिक शुल्क पनि मध्यम छ । त्यसैले जो कोहीले पनि पढाउन सक्छन् । मासिक शुल्क १० हजारदेखि १२ हजारसम्म छ । यो १२ कक्षासम्मको हो । सरकारले तोकेको मापदण्ड अनुसार डीएभीले छात्रवृत्ति पनि दिन्छ । हाल १२ कक्षासम्म डीएभीमा ४ हजार ५ सय विद्यार्थी छन् ।

हरेक वर्ष १ चैतदेखि नयाँ विद्यार्थीका लागि भर्ना फारम खुल्ने गरेको छ । ‘फारम अनलाइनमा पनि हुन्छ । त्यसपछि विद्यार्थीको बेसिक इन्ट्रान्स परीक्षा पनि हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?