२३ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बुटवल लुम्बिनी फुटबल क्लबले नाइजेरियाका इजेकेल ओजिदीझा तमारालाई अनुबन्ध गरेको छ ।
२४ वर्षीय तमारा पछिल्लो समय इराकको अल-नाफ्ट एससी क्लबमा खेलिरहेका थिए । उनले नाइजेरियाको लोबी स्टार्स, कानो पिलर्स, क्वारा युनाइटेड, शूटिङ स्टार्स, बेन्डेल इन्स्योरेन्स, र अल-नाफ्ट एससी जस्ता प्रतिष्ठित क्लबहरूमा खेलिसकेका छन् ।
डिफेन्सिभ मिडफिल्डरका रूपमा खेल्ने तमारा बल नियन्त्रण र रणनीतिक खेल क्षमताका कारण चर्चित छन् ।
बुटवल लुम्बिनी एफसीका मुख्य प्रशिक्षक पुष्प लाल शर्माले तमाराको आगमन क्लबका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । ‘उनको अनुभव र खेललाई सम्हाल्ने क्षमताले हाम्रो मिडफिल्डलाई थप बलियो बनाउनेछ ।’
त्यस्तै, क्लबका प्रबन्धक नविन चित्रकारले पनि तमाराको आगमनले टोली बलियो हुने बताए । ‘हाम्रो लक्ष्य क्लबलाई शीर्ष स्थानमा पुर्याउनु हो । तमाराको आगमनले टोलीलाई थप बलियो बनाउनेछ ।’
बुटवल लुम्बिनीले नयाँ सिजनका लागि राष्ट्रिय टिमको मिडफिल्डर मनिष डाँगीलाई मार्की प्लेअरका रूपमा अनुबन्ध गरेको छ । क्लबको मुख्य प्रशिक्षकमा भुटानका पुष्पलाल शर्मा छन् ।
एनएसएलको तेस्रो संस्करण चैत १६ गतेदेखि सुरु हुँदैछ । बुटवलले एरिक विष्टलाई ए क्याटेगोरी, निराजन धामी र सरोज तामाङलाई बी क्याटेगोरीबाट रिटेन गरेको छ ।
प्रतिक्रिया 4