
श्रमको मूल्यांकन नहुने अनौपचारिक तथा घरेलु श्रमिकका रुपमा काम गरिरहेका आम श्रमिक महिलामा समर्पित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सदाझैं यस वर्ष पनि मनाइँदैछ ।
शाताब्दीऔंदेखि मनाइँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ११५औं सिलसिला ८ मार्चका दिन ‘टु अल विमेन एन्ड गर्ल्स : राइट, इक्वालिटी एन्ड इम्प्लोइमेन्ट’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘सबै महिला तथा बालवालिको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने राष्ट्रिय नाराका साथ मनाइँदैछ ।
इतिहासलाई नियाल्दा विश्वमा भएका श्रमिक महिलाहरूको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्तिको लागि गरिएका महत्वपूर्ण आन्दोलनको सम्झना र सम्मानको रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको थालनी भएको हो ।
सन् १९११ देखि यस दिनलाई विश्वका विभिन्न देशमा महिला अधिकारको आन्दोलनको प्रतीकका रूपमा मनाउन थालियो । यस दिवसको ऐतिहासिकता नै श्रमिक महिलामाथि भएको असमानता, अन्याय र विभेद हो । तसर्थ नेपालमा श्रमिक महिलाको अवस्था कस्तो छ भन्नेबारे यहाँ चर्चा गर्ने प्रयास गरेको छु ।
नेपालको राष्ट्रिय जनगणना, २०७८ का अनुसार काम गर्ने उमेर समूहको जनसंख्या (१५ वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्या) कूल जनसंख्याको ७१.१ प्रतिशत रहेको छ । काम गर्न सक्ने उमेरको जनसंख्या महिला ५५.६ प्रतिशत र पुरुष ४४.४ प्रतिशत रहेको छ । यसरी हेर्दा काम गर्न सक्ने जनसंख्या पुरुषभन्दा महिला धैरै रहेको छ ।
नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४ का अनुसार नेपालको कूल श्रमशक्ति सहभागिता दर ३८.५ प्रतिशत रहेको छ । त्यसमा पनि पुरुषको दर ६२ प्रतिशत छ भने महिलाको दर ३८ प्रतिशत मात्र रहेको छ । श्रमशक्तिभन्दा बाहिर कूल ६१.५ प्रतिशत जनसंख्या रहेकोमा पुरुष ३३.३ प्रतिशत र महिला ६६.७ प्रतिशत रहेको छ । नेपालको श्रमशक्ति सहभागिता दर न्यून त छँदैछ, लैंङ्गिक रुपमा ठूलो अन्तर पनि छ । यसका साथै करिब दुई तिहाइ महिलाहरू श्रमशक्तिमा संलग्न छैनन् जबकि, एक तिहाइ पुरुषहरु श्रमशक्तिभन्दा बाहिर छन् ।
नेपालमा हाल रोजगारमा संलग्नमध्ये ६३.७ प्रतिशत पुरुष छन् भने ३६.३ प्रतिशत मात्र महिला छन् । तर काम गर्न सक्ने उमेरका महिलामध्ये २२.९ प्रतिशत मात्र रोजगारीमा छन् । स्वरोजगारमा संलग्नता भने महिला र पुरुष अनुपात खासै फरक छैन । स्वरोगार हुनेमा पुरुष ५०.६ प्रतिशत र महिला ४९.४ प्रतिशत रहेका छन् । रोजगारदातामा भने महिलाको अनुपात एक चौथाइ मात्र देखिन्छ । तर घरायसी काममा संलग्नता भने ५९.६ प्रतिशत महिला र ४०.४ प्रतिशत मात्र पुरुषको सहभागिता रहेको छ ।
नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४ का अनुसार कूल रोजगारीमा औपचारिक क्षेत्रमा १५.४ प्रतिशत मात्र रहेका छन् भने बाँकी ८४.६ प्रतिशत अनौपचारिक क्षेत्रमा रहेका छन् । अनौपचारिक क्षेत्रमा घरेलु श्रम, कृषि मजदुर, निर्माण क्षेत्र, मनोरञ्जन क्षेत्र रहेको पाइन्छ । जसले अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । रोजगारमा संलग्न महिलामध्येमा दुई तिहाइ अनौपचारिक क्षेत्रमा कार्यरत छन् ।
अनौपचारिक क्षेत्रको रोजगारमा न्यून पारिश्रमिक, रोजगारीको अस्थिरता र सामाजिक सुरक्षामा सीमित पहुँचले परिचित छ । यस क्षेत्रको चुनौती भनेको महिलाहरूलाई शोषण र आर्थिक अस्थिरताको जोखिममा पर्नु हो । अनौपचारिक क्षेत्रमा रहेका महिलाहरूले ज्याला, बिदा, सामाजिक सुरक्षा, लाभ तथा स्वास्थ्य बीमाजस्ता सुविधाबाट वञ्चित रही आर्थिक स्वतन्त्रतामा महत्त्वपूर्ण अवरोधको सामना गरिरहेका छन् ।
महिलाहरू अप्रत्यक्ष रूपमा घरायसी श्रममा अत्यधिक संलग्न छन्, जसले उनीहरूको आर्थिक स्वतन्त्रता र जीडीपी योगदानलाई सीमित पारिरहेको छ । उज्यालो नहुँदै उठेर घरको सरसफाइ गरेर खानेकुराको जोहो गरेर बालबच्चालाई स्कुल पठाउनेदेखि वस्तुभाउको हेरचाह गर्ने र खेतबारीमा मजदुरी गर्नेसम्मका महिलाले गर्ने तमाम कामहरूको कुनै ज्याला निर्धारित हुँदैन ।
महिलाहरूले गरेको कामको पारिश्रमिक पनि न्यून प्राप्त गर्छन् । नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४ का अनुसार रोजगारमा रहेका र तलब तथा ज्याला प्राप्त गर्नेहरूको औसत मासिक आम्दानी रु. १७,८०९ रहेकोमा पुरुषको औसत मासिक आम्दानी रु. १९,४६४ र महिलाको औसत मासिक आम्दानी रु. १३,६३० रहेको छ । यस अनुसार नेपाली महिलाले पुरुषको तुलनामा औसत मासिक रु. ५,८३४ (३० प्रतिशत) कम कमाउँछन् ।
समान कामको समान ज्याला सरकारी स्तरमा लागू गरिए पनि निजी र असंगठित क्षेत्रमा आज पनि ज्यालाको विभेद कायमै छ । बाल श्रममा पनि महिला नै अघि छन् । नेपालमा १५. ३ प्रतिशत बालबालिकाहरू (५ देखि १७ वर्ष) वाल श्रममा संलग्न रहेका छन् जसमा बालक १३.९ प्रतिशत र बालिका १६.८ प्रतिशत रहेका छन् ।
पछिल्लो समयमा श्रम बजारमा यौन श्रमलाई पनि समेटिनुपर्ने आवाज उठ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय यौन तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार सन् २०२४ सम्ममा नेपालमा ८६ हजार ८ सय ९ जना महिला यौन श्रमिक छन् । यति धेरै संख्यामा महिला यौन श्रमिक भए तापनि प्रचलित कानूनले सहमितमा हुने यौन कार्यलाई अपराध मानिएको छ । यौन श्रमसमेत एक प्रकारको श्रम नै भए तापनि यौन श्रमिकहरू कानुनतः व्यवस्था गरिएका हक/अधिकार र मानव अधिकारबाट वञ्चित हुन परेको छ ।
महिलालाई घरधन्दा तथा प्रजनन भूमिकामा सीमित राखिएको छ । विद्यमान श्रम ऐन र सामाजिक सुरक्षा ऐनले महिलाको श्रमलाई उनीहरुमाथि हुने हिंसासँग जोडेर सम्बोधन गर्न सकेको छैन । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको ठूलो संख्या महिलाको रहेको भए तापनि उक्त श्रमको योगदानलाई कदर गरेको अवस्था छैन । प्रत्यक्ष रूपमा आय नहुने काम महिलाको नै हो भन्ने मानसिकता व्याप्त रहेको छ हाम्रो समाजमा । जसलाई कम पारिश्रमिक दिँदा पनि हुन्छ, बढी मूल्य दिनुपर्दैन भन्ने मान्यता छ ।
जबसम्म महिलाको श्रमको पहिचान, मान्यता एवं रोजाइको काम गर्न पाउने अधिकार सुनिश्चित हुँदैन, तबसम्म महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिँदैन । यसलाई परिवार र समाजमा अनौपचारिक श्रम क्षेत्र र महिला श्रमिकको योगदानबारे जनचेतनामूलक अभियान लगायतका कार्यक्रमहरू समुदायमा सञ्चालन गर्न जरुरी छ ।
समानता र सामाजिक न्यायसहितको समाज तब मात्र सम्भव छ, जब महिलाको श्रमको निःशर्त सम्मान हुने वातावरण बन्छ । महिला श्रमिकको हक-अधिकारको पृष्ठभूमिबाट नै सुरु भई विश्वमा नै इतिहास बोकेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ११५औं संस्करणको अवसरमा सम्पूर्ण श्रमिक महिलाहरूमा हार्दिक शुभकामना ।
(लेखक श्रेष्ठ जेन्डर मास्टर प्रशिक्षक हुन् )
प्रतिक्रिया 4