+
+
Shares

के साझा प्रकाशन बौरिन सम्भव छ ?

निस्वार्थ रूपले समय र सोच समर्पण गर्न नयाँ कार्यसमिति कति तत्पर छ, साझा बौरिन सक्ने सम्भावना यसैमा निर्भर छ।

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८१ फागुन २४ गते १२:५१

साझा प्रकाशन फेरि चर्चामा छ- कारण यसको साधारण सभाले अध्यक्ष लगायत सदस्य तथा लेखा सुपरीवेक्षण समिति संयोजक र सदस्यहरू सबैको निर्वाचन सम्पन्न गरेको छ। समाचारमा जनाइए अनुसार यी सबै पदमा निर्विरोध निर्वाचन भएको छ।

अध्यक्षमा शेखर गिरी, सदस्यमा जयन्ता पोखरेल, प्रा.डा. ध्रुव घिमिरे तथा मनोहर लामिछाने तथा लेखा सुपरीवेक्षण समिति संयोजकमा वशिष्ठ अधिकारी एवम् राजकुमार थापा र वसुधा बस्नेत पाण्डे सदस्य रहेको जनाइएको छ। साझा प्रकाशन यतिबेला संरचनागत हिसाबले पूर्ण भएको छ र यस प्रकाशनका नयाँ अध्यक्ष र टीमलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ। म पनि यो अध्यक्ष लगायत सम्पूर्ण टीमलाई बधाई भन्छु, तर सचेततापूर्वक।

साझा प्रकाशनसँग औपचारिक रूपमा मेरो सम्बन्ध वि.सं. २०४० मा स्थापित भएको हो। मेरो पहिलो कथा सङ्ग्रह ‘सुतेको समुद्र’ २०४० सालमा साझा प्रकाशनबाट प्रकाशित भएपछि त्यसबाट पाउने लेखकस्वको २० प्रतिशत स्वतः अंशियारमा परिवर्तन हुने नियमानुसार म साझा प्रकाशनको अंशियार बनेको थिएँ। त्यस समयदेखि साझा प्रकाशनको गतिविधि र अवस्थाबारे धेरथोर जानकारी राख्ने गरेको छु।

सोझो हिसाबले हेर्दा २०४६ सालको राजनैतिक परिवर्तनपछि क्रमागत रूपमा साझा प्रकाशनको ओरालो यात्रा शुरू भयो। त्यसको शुरुआत जनक शिक्षा सामग्री केन्द्रले साझा प्रकाशनलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न दिने जुन कार्य थियो, त्यो आफैंले गर्ने निर्णय गर्‍यो, जुन अनपेक्षित थियो। साझा प्रकाशन नेपालमा सबैभन्दा बढी शाखा–प्रशाखा भएको र स्थानीय एजेन्टहरू नियुक्त गर्ने सबैभन्दा ठूलो नेटवर्क भएको संस्था थियो। अझै पनि यसको नेटवर्क छ तर सुषुप्त। तर जनक शिक्षा सामग्री पनि नेपाल सरकारकै एक अङ्ग हो र साझा प्रकाशन सहकारी संस्था भए पनि सरकारकै स्नेहमा हुर्किरहेको नेपाल भाषा प्रकाशिनी समितिको उत्तराधिकारी संस्था हो। तर जनक शिक्षा सामग्रीले केही कारण देखाएर साझा प्रकाशनबाट वितरण अधिकार खोसेको थियो। तर जनक शिक्षा सामग्री केन्द्रले साझा प्रकाशनबाट जे–जे आरोप लगाएर वितरण कार्य खोसेको थियो, आफूले वितरण गर्न शुरू गरेपछि त्यसलाई पूरा गर्न नसकेपछि किन जनक शिक्षा सामग्री केन्द्रले साझा प्रकाशनबाट सो कार्य रोकेको थियो, छर्लङ्ग भएको थियो।

यसमा विचारणीय पक्ष के छ भने, साझा प्रकाशनमा ढुवानी स्वच्छ थियो भन्ने चाहिं होइन। ढुवानी कार्यमा साझा प्रकाशन पनि चोखो थिएन। तर कृष्णचन्द्रसिंह प्रधान जस्ता कडा कहलाइएका महाप्रबन्धक हुनु र जनक शिक्षाका पुस्तक वितरणबाट भएको आम्दानीले साझालाई आर्थिक रूपले टेवा मिल्नु यौटा सुखद् संयोग थियो र साझाबाट पुस्तक ढुवानीमा भएका अनियमितता कहिल्यै सतहमा आएन।

त्योभन्दा पनि जनक शिक्षाको पुस्तक वितरण कार्यको बैसाखीमा साझा प्रकाशन आत्मरतिमा रमाउनु पनि नसोचिएको अँध्यारो पक्ष थियो। त्यसैले जनक शिक्षा सामग्री केन्द्रले पुस्तक वितरण कार्य खोस्ने वित्तिकै साझा प्रकाशनका नेतृत्व वर्गको ओठमुख सुक्यो र त्यो वितरण कार्य फिर्ताका लागि अनेक कार्य गरियो। साहित्यकारहरूको हस्ताक्षर अभियानदेखि दबाबमूलक कार्यक्रमहरू भए। तर त्यसले अपेक्षित नतिजा दिन सकेन।

जनक शिक्षाबाट वितरण कार्य फिर्ता लिने आन्दोलनमा लाग्नुसँगै आत्मनिर्भरका उपायहरूमा ध्यान केन्द्रित गर्न सकिन्थ्यो, त्यतापट्टि खासै नतिजामूलक कार्यक्रम बनाउन र गतिशील हुन साझा प्रकाशन सक्षम भएन। फेरि २०४६ सालको आन्दोलनले ल्याएको दलीय विकृतिले समेत साझा प्रकाशनलाई थिलथिलो बनायो। पटक–पटक सरकार परिवर्तनको प्रत्यक्ष असर साझामा देखिन थाल्यो र साझाको नेतृत्व सोही अनुसार परिवर्तन हुन थाले।

साझाको हित, साहित्य कलाको हितका लागि भन्दा आफ्ना दलका मानिसलाई भर्तीकेन्द्र बनाउने काम हुन थाले, साझाको मूल उद्देश्यबाट साझा प्रकाशनको नेतृत्व च्यूत हुँदै गयो र आजको रुग्ण अवस्थासम्म आइपुगेको छ। यस्तो रुग्ण अवस्थामा पुगेको साझा प्रकाशन अब बौरिन कत्तिको सम्भव होला त ! आज धेरैको मनमा उब्जेको जिज्ञासा र प्रश्न यही हो। नयाँ सञ्चालक समितिसँग पनि यही जिज्ञासा र प्रश्न हो। मेरो विचारमा साझा अझै बौरिन एकदम सम्भव छ। तर कसरी ?

०००

साझा प्रकाशनमा मैले बुझेसम्म केही गम्भीर समस्या छन् जसको निराकरण गर्नु नयाँ अध्यक्ष लगायतको टीमलाई चुनौती हुनसक्छ। यो टीमले साझा प्रकाशनलाई बौराउन कुनै भिजन र मिसन तयार गरेर आएको हो कि होइन, त्यो खुलेको छैन। तर पनि यी समस्याको जानकारी होला भन्ने अनुमान भने गर्न सकिन्छ :

१, साझा प्रकाशनका कर्मचारीहरूले अद्यावधिक तलब सुविधा प्राप्त गर्न सकेका छैनन्। न उनीहरू जागिरबाट मुक्त हुनसक्ने वातावरण छ, न काम नै छ, न तलब नै पाइन्छ। यो स्थितिलाई कसरी सम्हाल्ने, निकै ठूलो चुनौती हो। कैयन् महिनाको तलब नपाए पनि जागिर धान्न विवश कर्मचारी साथीहरूको पीडालाई कसरी सम्बोधन गर्ने ? यसको समाधान कसरी गर्ने ? कर्मचारी छन्, काम गर्ने वातावरण छैन र महिनावारी तलब दिन सकिने वातावरण समेत छैन।

२, प्रेस छ, तर प्रेसको अवस्था पनि नाजुक हुँदै गएको छ। प्रेसलाई अपडेट गर्ने हो भने त्यसले आम्दानी स्रोत निकाल्न सम्भव हुनसक्छ। तर प्रेसको दुरवस्था साझा प्रकाशनको चुनौती हो।

३, साझा प्रकाशनको भवन निर्माण अधकल्चो अवस्थामा रहेको दशकौं हुँदैछ र त्यसको संरचना बिग्रँदै जाने खतरा बढेको छ। एकातिर पुरानो भवन भूकम्पपछि धरासायी अवस्थामा हुनु र नयाँ भवनको निर्माण कार्य अघि नबढ्नु आर्थिक रूपले क्रमश: घातक आर्थिक अवस्था हो। यो ठूलो चुनौती हो।

४, बजारमा माग भएका पुस्तकहरू सहजै मुद्रण गरेर आफ्नो सुनिश्चित बजारको संरक्षण र सम्वर्धन अर्को चुनौती हो।

५, नेपाली साहित्यमा साझा प्रकाशनको साहित्यिक प्रकाशन गरिमा पत्रिकाको ठूलो योगदान र महत्व रहेको थियो। तर पछिल्लो समयमा भद्दा आकार–प्रकारमा अनियतकालीन रूपमा खस्कँदो स्तरमा प्रकाशन हुँदै बन्द भएको छ। यो पत्रिका नेपाली साहित्यकार तथा साहित्यका पाठकका लागि हरेक महिना प्रतीक्षाको विषय हुन्थ्यो। यसलाई पूर्वरूपमा स्तरीय र नियमित बनाउने अर्को चुनौती छ।

६, साझा प्रकाशनबाट वितरण हुने साझा पुरस्कार, लोक साहित्य पुरस्कार, बाल साहित्य पुरस्कार जस्ता प्रतिष्ठित पुरस्कार स्थगित वा एक प्रकारले अनियमित एवम् बन्द छ। त्यस्तै गरिमा पुरस्कार पनि बन्द छ। यसलाई नियमित गराउनु अर्को चुनौती हो।

७, यी सब समस्या र चुनौतीमध्येको प्रमुख चुनौती भनेको साझा प्रकाशनलाई कसरी सबल, सक्षम र आत्मनिर्भरउन्मुख बनाउनु हो, आत्मनिर्भर बनाइहाल्न सम्भव नभए पनि। यी समस्या र चुनौती सहज हिसाबले समाधान हुने खालका अवश्य छैनन् तर असम्भव भने नि:सन्देह छैनन्।

०००

के गर्न सम्भव होला त साझा प्रकाशन बौराउन ? यसका लागि कुनै बनिबनाउ फर्मूला त छैन र हुँदैन पनि। यस संस्थाको प्रकृति अनुसार गर्न सकिने केही कुरा छन् जुन सम्भव देखिन्छ :

१, साझा प्रकाशनले निजी क्षेत्रका अग्रणी कैयन् प्रकाशनहरूसँग सम्झौता गरेर पुस्तक बिक्री गर्न सक्छ। हुनत निजी क्षेत्रका व्यक्तिगत रूपमा प्रकाशित कृतिहरू र संस्थागत रूपमा केही संघ–संस्थाका पुस्तकहरू बिक्री वितरण हुँदै आएको हो। तर फाइन प्रिन्ट, नेपालय, बुक हिल, शिखा बुक्स, साङ्ग्रिला, रत्न पुस्तक भण्डार, पेज टर्नर लगायत देशका राम्रा पुस्तक प्रकाशन गर्ने निजी क्षेत्रका संस्थाहरूका पुस्तक बिक्रीका लागि पहल गर्ने हो भने ती प्रकाशनहरूको बिक्री पनि बढ्नेछ र ती प्रकाशक पनि खुशी नै होलान् थप बिक्री भएकोमा। त्यस्तै साझा प्रकाशनले ती पुस्तक बिक्री बापत राम्रो कमिसन आर्जन गर्न सक्छ।

२, कम्तीमा काठमाडौं उपत्यकाभित्र भएका स्कूल, कलेजहरूका लागि आवश्यक स्टेशनरी र पुस्तकहरू प्रकाशन, वितरण र बिक्रीका लागि पहल गर्न सकिन्छ। देशका विभिन्न क्षेत्रमा जहाँ–जहाँ साझा प्रकाशनका शाखा–प्रशाखा छन् तिनबाट पनि यो काम गराउन सकिन्छ।

३, नेपालभरिका स्कूलका विद्यार्थी लक्षित गरेर बाल साहित्य, बाल जीवनी सक्षम बाल साहित्यका लेखकहरूबाट लेखाइ प्रकाशन र बिक्री वितरण गर्न सकिन्छ। यसको बजार निकै ठूलो छ।

४, अहिले सामाजिक सञ्जालको जमाना छ। साझाका सबै कर्मचारीहरूलाई सामाजिक सञ्जालको माध्यमबाट पुस्तक खरिदका लागि आ-आफ्ना साथीभाइ र सम्पर्कका सबैलाई निम्त्याउने र बिक्री प्रवर्धन गर्न सबै कर्मचारी वर्गबाट सहयोग लिन सकिन्छ।

५, साझा प्रकाशनले लेखकहरूबाट प्रकाशित पुस्तकको ५० प्रतिशत बिक्रीको प्रत्याभूतिका आधारमा प्रकाशन गर्ने गरेको छ। तर यसको सङ्ख्या न्यून नै छ। त्यसको साटो लेखकका कृतिहरू भाषा सम्पादन, मुद्रण, डिजाइन आदिको सेवा दिई प्रकाशनको प्याकेज दिने र सो बापतको सेवा शुल्क लिने र साझाले नै बिक्री वितरण गर्ने व्यवस्था मिलाउन सके त्यसबाट पनि साझा प्रकाशनको आम्दानीको स्रोत बढ्न सक्छ। यो काम सीमित रूपमा व्यक्तिगत रूपमा भइनै रहेका छन् भने संस्थागत रूपमा गर्दा लेखकलाई पनि सुविधा हुनेछ।

६, बहुसङ्ख्यक पाठकले रुचाउने र पाठ्यक्रममा नरहे पनि रेफरेन्सको रूपमा प्रयोग गर्न सकिने कृतिहरू लेखकहरूसँग सम्झौता गरी लेखाउने र प्रकाशन गर्ने काम पनि गर्न सकिन्छ।

७, गरिमा पत्रिकालाई नियमित गरी विशेष योजना तर्जुमा गरी विज्ञापनको माध्यमबाट नाफामूलक बनाउन सकिन्छ।

०००

अहिले साझा प्रकाशन जुन नाजुक स्थिति भोगिरहेको छ, त्यो सहजै र छिटै फूमन्तर गरेर समाधान हुन सम्भव छैन। तर यी सम्भावनालाई केन्द्रमा राखेर सञ्चालक समितिले नीति बनाउन र त्यो नीति लागू गराउन पहल गर्नुपर्दछ। तर यहाँ यौटा निश्चित कुरा के छ भने यी सब गर्नका लागि सञ्चालक समितिका सबैले मन, वचन र कर्मले दत्तचित्त भएर यो मेरो आफ्नै काम हो, यो मेरो आफ्नै व्यवसाय हो, यो कार्यकालमा हामीले साझा प्रकाशन बौराउन दिनुको विकल्प छैन भन्ने मानसिकताले काम गर्न जरूरी छ।यहीं अर्को कटुसत्य पनि छ, यो वैतनिक काम होइन। सञ्चालक समितिका अध्यक्ष वा सदस्यहरूले बैठकभत्ता मात्र पाउने हुन्, आकर्षक तलब भत्ता पाउने हैनन्।

अतः यस्तो अवस्थामा निस्वार्थ रूपले समय र सोच समर्पण गर्न नयाँ कार्यसमिति कति तत्पर छ, साझा बौरिन सक्ने सम्भावना यसैमा निर्भर छ। तलब नपाए पनि साझा प्रकाशन कुरेर बस्ने कर्मचारीहरूको पीडा बुझेर सञ्चालक समितिले योगदान गर्ने सामूहिक मनस्थितिको विकास गर्न यो सञ्चालक समिति कति उदार र तत्पर छ ? यसैमा निर्भर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?