+
+
Shares

केन्द्रीकृत मानसिकता संघीयता कार्यान्वयनको बाधक : सिटौला

संविधानले कानुन निर्माणको अधिकार स्पष्ट गरे पनि व्यवहारमा केन्द्रीकृत मानसिकताको कारण संघीयता कार्यान्वयमा बाधा पुगिरहेको कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २४ गते १९:०४

२४ फागुन, ललितपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीयता कार्यान्वयनमा केन्द्रीकृत मानसिकता बाधक बनिरहेको बताएका छन् ।

संविधानले कानुन निर्माणको अधिकार स्पष्ट गरे पनि व्यवहारमा केन्द्रीकृत मानसिकताको कारण संघीयता कार्यान्वयमा बाधा पुगिरहेको उनको भनाइ छ ।

‘प्रदेशले आफ्नो अधिकार कार्यान्वयन गर्न सकेन । कानुन निर्माणको अधिकार संविधानले परिभाषित गरेको छ । तर किन बनाउँदैन ? किनकि व्यवहारमा केन्द्रीकृत छ, मानसिकतामा केन्द्रीकृत छ,’ उनको भनाइ छ ।

कानुन बनाउने थलो संसद् दलीयकरणबाट मुक्त हुन नसकेको उनले बताए ।‘ सांसदहरूले दलीय सीमा नाघ्न सक्ने अवस्था बनेको छैन । सदन दलीयकरणको प्रभाबबाट मुक्त हुने राजनीतिक परिस्थिति बनि सकेको छैन,’ उनले भने, ‘त्यसको प्रभाव कानुन निर्माणमा पर्दै गएको छ ।’

संसदीय मामिला पत्रकार समाजद्वारा शुक्रबारदेखि छलफल कार्यक्रमको शनिबार समापन समारोहमा राष्ट्रय सभा सदस्यसमेत रहेका नेता सिटौलाले यस्तो बताएका हुन् । कार्यक्रममा राष्ट्रिय सभाको औचित्य, कानुन निर्माणका चरण, सांसदको भूमिकालगायत विषयमा छलफल भएको थियो ।

नेता सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा आवश्यक भइसकेको पनि बताए । ‘साझा नजरले हेर्दा पनि संशोधन आवश्यक भइसकेको छ । संशोधनका लागि साझा एजेन्डा पनि तयार गर्न सकिन्छ । साझा एजेन्डा तयार गरेर संशोधन विधेयक प्रस्तुत गर्ने समयमा बहुमत (दुई तिहाइ) पुग्नुपर्छ । त्यो पुग्न पनि अहिलेसम्म संविधान कार्यान्वयनको अवस्थाका बारेमा समीक्षा हुनु आवश्यक छ,’ उनले भने, ‘संविधान संशोधन पार्टीका लागि हैन जनताका लागि हुुनुपर्छ ।’

सबै राजनीतिक दलको सहमति र समन्वयमा समीक्षा गरी सोका आधारमा राज्य सञ्चालन प्रणालीमा देखिएका कमीकमजोरी सच्याउन सकिने सांसद सिटौलाले धारणा राखे ।

‘संविधान कार्यान्वयन किन भएन, किन कानुन बनेन, संविधानअनुसार जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता मौलिक अधिकारको व्यवस्था गरेर किन प्रभावकारी कार्यान्वयन भएन । संवैधानिक आयोगहरूले के काम गरे, उनीहरूले दिएका सुझावहरू के कति कार्यान्वयन गर्न सक्यौंलगायत विषयमा मूल्यांकन हुनुपर्छ । समग्रमा संविधान कार्यान्वयको समीक्षा गर्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?