
काठमाडौं । पोखराबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा जुटेका राजावादीको प्रदर्शनका दृश्यलाई अब फिल्मको पर्दामा समेत हेर्न पाइने भएको छ । फिल्म ‘माग्ने राजा’ले विमानस्थलदेखि महाराजगञ्जसम्मको दृश्यलाई क्यामेरामा कैद गरेको छ ।
एयरपोर्ट, गौशाला, चाबहिल, गोपीकृष्ण हल हुँदै महाराजगञ्जसम्मको जुलुसको दृश्य खिच्न फिल्मका ७ जना क्यामेराम्यान खटिएका थिए । राजालाई स्वागत गर्न पुगेको भीडलाई ड्रोन लगायतका क्यामेराको मद्दतमा खिचिएको निर्देशक ऋषि लामिछानेले जानकारी दिए।
यी दृश्य खिच्न आयोजकबाट स्वीकृतिसहितको पत्र लिएर मात्रै खिचिएको उनले बताए । उनका अनुसार स्वीकृतिपछि एयरपोर्टमा २, गौशालामा २, चाबहिलमा २, गोपीकृष्ण हलदेखि महाराजगन्ज चोकसम्म एक क्यामेराले दृश्य खिचिएको थियो ।
‘फिल्मका लागि आवश्यक भएर खिचेका हौं । छलफल र सल्लाह गरेर खिचेका हौं । हामीले सुन्दर मौकाको फाइदा उठायौं’ निर्देशक लामिछानेले अनलाइनखबरसँग भने, ‘हामीले पार्टीको झण्डा र नारावाजी भन्दा पनि नेपालको झण्डा भएका दृश्य खिचेका हौँ । हामी सबै पार्टीको मुद्दालाई समर्थन गर्छौं तर पार्टीभन्दा माथि देश हो ।’
खिचिएका दृश्य फिल्मको २ देखि ३ मिनेटसम्म प्रयोग हुने उनले बताए । तर, जुलुसमा खिचिएका पोस्टर र आवाज भने फिल्ममा समावेश हुनेछैनन् । लामिछानेको निर्देशनमा अहिले ‘माग्ने राजा’ फिल्मको छायांकन भैरहेको छ । गाउँको २५ प्रतिशत छायांकन सकिएको छ र बाँकी दोस्रो चरणको छायांकन दुई दिनपछि सुरु हुनेछ ।
यो फिल्मलाई नरेन्द्र मैनालीले खिचिरहेका छन् । फिल्ममा शीर्ष पात्र केदार घिमिरे ‘माग्ने राजा’को भूमिकामा छन् । मुनाल घिमिरेको निर्माणमा बनिरहेको फिल्ममा वर्षा सिवाकोटी, आर्यन सिग्देल लगायतको पनि अभिनय छ । आगामी तीजमा छायांकन हुने बताइएको छ ।
यसअघि विभिन्न प्रदर्शनको क्रममा केही नेपाली निर्देशकले पनि मौकालाई छोप्दै दृश्य खिचेका छन् ।
प्रतिक्रिया 4