
सामसुङ तथा अन्य चिनियाँ ब्राण्डहरुले समेत फोल्डेबल तथा फ्लिप फोन बजारमा ल्याईसक्दा पनि एप्पलले अहिलेसम्म यो क्षेत्रमा आफ्नो कदम राखिसकेको छैन । तथापि एप्पलले फोल्डेबल फोन बजारमा ल्याउने विषय केही वर्षदेखि चर्चामा छ । पछिल्लोपटक एप्पलको आगामी फोल्डेबल फोनका विषयमा अर्को समाचार आएको छ। जस अनुसार अर्को वर्ष सन् २०२६ मा फोल्डेबल फोन ल्याउने तयारी एप्पलले गरिरहेको छ ।
बजारमा आउन लागेका विभिन्न फोन तथा प्रविधिको सटिक प्रक्षेपण गर्ने प्रविधि विश्लेषक मिंग चि कुओले एप्पलको फोल्डेबल फोनका विषयमा खुलासा गरेका हुन् । उनले आइफोनको उक्त फिचर तथा डिजाइनका विषयमा पनि जानकारी दिएका छन् ।
यस्ता हुनेछन् फोल्डेबल आइफोनका फिचर्स ?
कुओका अनुसार एप्पलले पुस्तक स्टाईलको फोल्डेबल फोन लन्च गर्नेछ । उक्त फोनमा ७.८ इन्चको क्रिज फ्री डिस्प्ले हुनेछ, जबकि बाहिरी डिस्प्ले ५.५ इन्चको हुनेछ । त्यसैगरी सो फोन ९ देखि ९.५ एमएमको हुनेछ । अनफोल्ड गर्दाचाहीँ यसको मोटाई घटेर ४.५ एमएमदेखि ४.८ एमएमसम्म हुन सक्नेछ ।
स्मार्टफोनमा डुअल लेन्स रियर क्यामरा तथा फोल्ड तथा अनफोल्ड दुबै मोडका लागि फ्रन्ट क्यामेरा हुनेछ ।
उक्त फोनमा साइड बटनका माध्यमबाट टच आइडी हुनसक्ने र त्यसमा फेस आइडी नहुने बताइएको छ । साथै फोल्डेबल फोन एआई फिचर्समा केन्द्रित हुने र मल्टिपल फंक्सनालिटी उपलब्ध हुने उनको दाबी छ ।
विश्लेषक कुओका अनुसार एप्पलका अन्य फोन जस्तै फोल्डेबल फोन पनि प्रिमियम मूल्यमा लन्च हुनेछ । यसको मूल्य करीब २ हजार डलर देखि २५ सय डलरसम्म हुनसक्ने बताइएको छ । अत्यधिक चर्को मूल्यका बाबजुत एप्पलको फोल्डेबल फोनले धेरै प्रयोगकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4