२६ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजन आगामी चैत १६ गतेदेखि सुरु हुँदैछ । त्यसका लागि आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले खेलाडीको अक्सन र ड्राफ्ट गरिसकेको छ ।
यसपटक आयोजक एनएसइएमले टिम निर्माणका लागि मिनी अक्सन र ड्राफ्ट गरेको थियो । जसबाट सहभागी टिमहरूले खेलाडीहरू अनुबन्ध गरेका छन् । क्याटेगोरी ए र बी को खेलाडीका लागि अक्सन भएको थियो भने क्याटेगोरी सी का खेलाडीको ड्राफ्ट भएको थियो ।
हरेक टिमले सुरुमा एक मार्की खेलाडी घोषणा गरेका थिए । त्यसपछि रिटेन्सन पोलिसी अनुसार टिमहरूले विभिन्न क्याटेगोरीका खेलाडी रिटेन गरे ।
हरेक टिमले क्याटेगोरी ए बाट रिटेन्सनसहित ३ र क्याटेगोरी बी बाट ६ खेलाडी लिन पाउने प्रावधान थियो । यस्तै क्याटेगोरी सी बाट ४ खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान थियो ।
मार्की, रिटेन्सन, अक्सन र ड्राफ्टपछि हरेक टिममा १४ खेलाडी पुगेको छ । यस्तै केही टिमले ट्यालेन्ट हन्ट पनि सञ्चालन गरिरहेको छ भने विदेशी खेलाडीहरू समेत अनुबन्ध गर्ने क्रम जारी छ ।
यसपटक हरेक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । जसमा एक खेलाडी एसियाबाट हुनुपर्नेछ । यस्तै क्याटेगोरी डी बाट पनि टिमले एक खेलाडी राख्न सक्नेछन् भने ट्यालेन्ट हन्टबाट एक खेलाडी राख्नुपर्नेछ ।
अक्सन र ड्राफ्टपछि सहभागि सातवटै टिमले आफ्नो खाका तयार पारेका छन् । केही टिमले विदेशी खेलाडीहरू अनुबन्ध गर्दै टिमलाई बलियो बनाएको छ ।
यसपटक पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स, दोस्रो संस्करणको विजेता ललितपुर सिटी एफसी, दुवैपटक उपविजेता बनेको धनगढी एफसीसहित पोखरा थण्डर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् । झापा एफसी दोस्रो संस्करणमा थपिएको टिम हो भने बाँकी ६ टिमले पहिलो संस्करणबाटै खेल्दै आएका छन् ।
ललितपुर सिटी एफसी
साविक विजेता ललितपुर सिटी एफसीले मार्की प्लेअरमा डिफेण्डर अनन्त तामाङलाई नै निरन्तरता दिँदै क्याटेगोरी ए बाट डिफेण्डर सनिश श्रेष्ठ र क्याटेगोरी बी बाट मिडफिल्डर आदित्य शाक्यलाई रिटेन गरेको थियो ।
अक्सनमा ललितपुरले राम्रो खेलाडी भित्र्याउन सफल भयो । अक्सनमा ललितपुरले डिफेन्स र मिडफिल्डमा जोड दिएको थियो । क्याटेगोरी ए बाट मिडफिल्डरद्वय मणि कुमार लामा र सन्तोष खत्रीलाई भित्र्याएको ललितपरले क्याटेगोरी बी बाट गोलकिपर समित श्रेष्ठ, डिफेण्डर योगेश गुरुङ र अभिषेक वाइवा, मिडफिल्डर सुदिप गुरुङ र नविन लामालाई अनुबन्ध गरेको थियो ।
यस्तै ललितपुरले ड्राफ्टबाट मनोज राई, पवन शाही, दिपेश घले र अनिश क्षेत्रीलाई अनुबन्ध गरेको छ ।
ललितपुरले विदेशी खेलाडी अनुबन्धलाई समेत तिव्र बनाएको छ । ललितपुरले भुटानका कप्तान फरवार्ड चेन्चो ग्याल्सेनलाई अनुबन्ध गरेको छ । यस्तै हाइटीका फरवार्ड केरभेन्स बेलफोर्ट र प्यालेस्टिनी मिडफिल्डर जोनाथान कान्टिलानालाई अनुबन्ध गरिसकेको छ ।
मार्की प्लेअर : अनन्त तामाङ
क्याटेगोरी ए : सनिश श्रेष्ठ (रिटेन), मणि कुमार लामा, सन्तोष खत्री
क्याटेगोरी बी : आदित्य शाक्य (रिटेन), सुदिप गुरुङ, योगेश गुरुङ, नविन लामा, अभिषेक वाइवा, समित श्रेष्ठ
क्याटेगोरी सी : मनोज राई, पवन शाही, दिपेश घले, अनिश क्षेत्री
विदेशी खेलाडी : जेफ्री बाल्टुस, जोनाथान कान्टिलाना, केरभेन्स बेलफोर्ट, चेन्चो ग्याल्सेन
काठमाडौं रेजर्स
एनएसएलको पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्सले युवा मिडफिल्डर रोहन कार्कीलाई मार्की नियुक्त गर्दा अघिल्लो सिजन खेलेका दिपेश गुरुङ, कुलदिप कार्की र अभिषेक बराललाई रिटेन गरेको थियो ।
यस्तै अक्सनबाट काठमाडौंले क्याटेगोरी ए का मिडफिल्डर दिनेश हेन्जन र फरवार्ड जिलेस्पी जंग कार्की तथा क्याटेगोरी बी बाट आशिष चापागाईँ, कमल श्रेष्ठ, दिवाकर चौधरी र अन्जल महर्जनलाई अनुबन्ध गरेको थियो ।
क्याटेगोरी सी को ड्राफ्टबाट काठमाडौंले भरत चौधरी, मौसम मगर, पुष्कर खड्का र पेम्बा दोर्जी लामालाई अनुबन्ध गर्यो ।
काठमाडौंले विदेशी खेलाडीमा सियरेलियोनका फरवार्ड बुया टुरेयलाई अनुबन्ध गरेको छ ।
काठमाडौं यस पटक कोचिङ स्टाफ पनि परिवर्तन गरेको छ । यसअघि लगातार दुई सिजन बालगोपाल महर्जन काठमाडौंको मुख्य प्रशिक्षक थिए । यस पटक भने क्लबले बेल्जियमबाट युइएफए प्रो लाइसेन्स कोच प्याट्रिक विल्डेलाई अनुबन्ध गरेको छ ।
मार्की प्लेअर : रोहन कार्की
क्याटेगोरी ए : दिपेश गुरुङ (रिटेन), दिनेश हेन्जन, जिलेस्पी जंग कार्की
क्याटेगोरी बी : कुलदिप कार्की, अभिषेक बराल (रिटेन), आशिष चापागाईँ, कमल श्रेष्ठ, दिवाकर चौधरी, अन्जल महर्जन
क्याटेगोरी सी : भरत चौधरी, मौसम मगर, पुष्कर खड्का, पेम्बा दोर्जी
विदेशी खेलाडी : बुया टुरेय
धनगढी एफसी
धनगढी एफसी यसअघि दुवै संस्करणको फाइनल पुगेर पनि पराजित भएको थियो । दुवै संस्करणमा धनगढीले राम्रो टिम बनाएर राम्रो प्रदर्शन गरेपनि उयपाधि जित्न सकेन ।
यसपटक धनगढीले पनि कोचिङ स्टाफसहित मार्की खेलाडी सबै नयाँ राखेको छ । अघिल्लो सिजन धनगढीबाटै खेलेका मिडफिल्डर कृतिशरत्न छुन्जुलाई मार्की प्लेअर बनाएको छ । यस्तै देवेन्द्र तामाङ, रामचन्द्र वाजी र रनदिप पौडेललाई धनगढीले रिटेन गरेको थियो ।
धनगढीले अक्सनबाट क्याटेगोरी ए पासाङ लामा र विवेक पौडेललाई अनुबन्ध गर्दा क्याटेगोरी बी बाट जर्ज प्रिन्स कार्की, प्रशान्त लक्षम, अशोक खवास, जियारथ शेखलाई भित्र्याएको थियो । यस्तै क्याटेगोरी सी को ड्राफ्टबाट धनगढीले अमृत श्रेष्ठ, रोहन खड्गी, हरिश राज भट्ट र सन्तोष महतलाई अनुबन्ध गरेको छ ।
यसअघि दुवै सिजन धनगढीबाट खेलेका नाइजेरियन फरवार्ड ओलावाले आफिजलाई पनि धनगढीले नयाँ सिजनका लागि निरन्तरता दिने भएको छ । यस्तै लेवनानका फरवार्ड अहमद हिजाजीले पनि धनगढीबाटै खेल्नेछन् । यसैगरी धनगढीले मोरोक्को यू२३ टिमबाट खेलेका मोहम्मद अल जाउएनीलाई पनि अनुबन्ध गरेको छ ।
धनगढीले स्पेनका युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक जुवान म्यानुएललाई पनि अनुबन्ध गरेको छ ।
मार्की प्लेअर : कृतिश रत्न छुन्जु
क्याटेगोरी ए : देवेन्द्र तामाङ (रिटेन), पासाङ लामा, विवेक पौडेल
क्याटेगोरी बी : रनदिप पौडेल र रामचन्द्र वाजी (रिटेन), जर्ज प्रिन्स कार्की, प्रशान्त लक्षम, अशोक खवास, जियारथ शेख
क्याटेगोरी सी : अमृत श्रेष्ठ, रोहन खड्गी, हरिश राज भट्ट, सन्तोष महत
विदेशी खेलाडी : ओलवाले आफिज, अहमद हिजाजी, मोहम्मद अल जाउएनी
पोखरा थण्डर्स
पोखरा थण्डर्स दोस्रो संस्करणमा लिग चरणमा शीर्ष स्थानमा रहेर पनि दुवै क्वालिफायरमा पराजित हुँदा तेस्रो भएको थियो । यसपटक पोखराले पनि मार्की र कप्तान सहित कोचिङ स्टाफ सबै परिवर्तन गरेको छ ।
युवा फरवार्ड समिर तामाङलाई नयाँ मार्की बनाएको पोखराले यसअघिका मार्की खेलाडी आयुष घलानलाई कप्तान नियुक्त गरेको छ । यस्तै सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
पोखराले आयुषसँगै क्याटेगोरी बी बाट पदम भट्टराई र क्याटेगोरी सी बाट नरेन्द्र चौधरीलाई रिटेन गरेको थियो ।
पोखराले अक्सनमा क्याटेगोरी ए बाट सुरज ज्यु ठकुरीलाई मात्र अनुबन्ध गर्दै एक खेलाडी एनआरएनए कोटाबाट राख्ने जनाएको छ । यस्तै क्याटेगोरी बी बाट पोखारले अक्सनमा राम थापा, चन्दन दास, विशाल तामाङ, कृशल मोक्तान, एकराज बुढाथोकीलाई अनुबन्ध गरेको थियो । तर राम थापालाई बी डिभिजन क्लब प्लानिङ ब्वाइजले रिलिज नगरेपछि उनको स्थानमा पोखराले फरवार्ड नवयुगलाई अनुबन्ध गरेको हो । नवयुग पहिलो संस्करणमा पोखराका मार्की खेलाडी थिए ।
मार्की प्लेअर : समिर तामाङ
क्याटेगोरी ए : आयुष घलान (रिटेन), सुरज ज्यु ठकुरी
क्याटेगोरी बी : पदम भट्टराई (रिटेन), नवयुग श्रेष्ठ*, चन्दन दास, विशाल तामाङ, कृशल मोक्तान, एकराज बुढाथोकी
क्याटेगोरी सी : नरेन्द्र चौधरी (रिटेन),गौरव श्रेष्ठ, सकल रेग्मी, प्रविन कुमार सुनार
*नोट: पोखराले अक्सनबाट राम थापालाई अनुबन्ध गरेपनि उनी एनएसएलका लागि उपलब्ध नभएपछि उनको स्थानमा नवयुग श्रेष्ठलाई राखेको हो ।
एफसी चितवन
अघिल्लो दुई सिजनमा राम्रो प्रदर्शन गर्न नसकेको एफसी चितवनले तेस्रो सिजनका लागि मार्की खेलाडी देखि प्रशिक्षक परिवर्तन गर्दै नयाँ टिम निर्माण गरेको छ ।
राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक गोल गरेका अन्जन विष्टलाई मार्की प्लेअर नियुक्त गरेको चितवनले नविन न्यौपानेलाई मुख्य प्रशिक्षकको रुपमा भित्र्याएको छ । यस्तै अघिल्लो सिजन मार्की रहेका गोलकिपर विशाल श्रेष्ठसहित डिफेण्डर छिरिङ गुरुङ र मिडफिल्डर रोशन राना मगरलाई चितवनले रिटेन गरेको थियो ।
अक्सनअघि नै हरेक पोजिसनमा खेलाडी राखेको चितवनले अक्सनबाट पनि राम्रो खेलाडीहरू पायो । अन्जनसँगै एनआरटी क्लबबाट गोल्डकप खेलेका क्याटेगोरी ए का अभिषेक लिम्बु र सुमित श्रेष्ठ तथा क्याटेगोरी बी का शिशिर लेखी र जय गुरुङलाई चितवनले अक्सनबाट अनुबन्ध गर्न सफल भयो । यस्तै चितवनले क्याटेगोरी बी का मिलन राई र निरज चौधरी जस्ता खेलाडी पनि अक्सनबाट लिएको थियो ।
क्याटेगोरी सी को ड्राफ्टबाट चितवनले विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्गतान र प्रदिप भण्डारीलाई अनुबन्ध गर्यो । चितवनको टिममा क्लब फुटबलमा एक साथ खेलिरहेका खेलाडी हुँदा टिम सन्तुलन राम्रो बन्न सक्छ । एनआरटीबाहेक मछिन्द्रबाट सँगै खेल्दै आएका विशाल श्रेष्ठ, रोशन राना, छिरिङ गुरुङ र प्रदिप भण्डारी पनि यसै टिममा छन् । विशाल र प्रदिप दुवै गोलकिपर हुन् ।
यस्तै चितवनले लोकल स्टारको रुपमा रोजल दाहाल र ट्यालेन्ट हन्टबाट रुकी गणेश नेपालीलाई अनुबन्ध गरेको छ ।
चितवनले अझै विदेशी खेलाडीहरू अनुबन्ध गर्न बाँकी छ । विदेशी खेलाडीको अनुबन्ध पछि चितवनको टिम अझ राम्रो बन्न सक्छ ।
मार्की प्लेअर : अन्जन विष्ट
क्याटेगोरी ए : विशाल श्रेष्ठ (रिटेन), अभिषेक लिम्बु, सुमित श्रेष्ठ
क्याटेगोरी बी : छिरिङ गुरुङ र रोशन राना मगर (रिटेन), मिलन राई, शिशिर लेखी, जय गुरुङ, निरज चौधरी
क्याटेगोरी सी : विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्गतान, प्रदिप भण्डारी
लोकल स्टार : रोजल दाहाल
रुकी : गणेश नेपाली
बुटवल लुम्बिनी एफसी
बुटवल लुम्बिनी एफसीले पनि एनएसएलको नयाँ सिजनका लागि मार्की प्लेअर र मुख्य प्रशिक्षक नयाँ नियुक्त गरेको छ ।
राष्ट्रिय टिमका मिडफिल्डर मनिष डाँगीलाई नयाँ मार्की प्लेअर नियुक्त गरेको बुटवल लुम्बिनीले भुटानी क्लब पारो एफसीका पुष्पलाल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
यस्तै स्थानिय रितेश मल्ललाई सहायक र दिलिप क्षेत्रीलाई गोलकिपर प्रशिक्षक नियुक्त गर्दा याम गुरुङलाई टेक्निकल डिरेक्टरमा नियुक्त गरेको छ ।
बुटवल लुम्बिनीले दोस्रो सिजन मार्की तथा कप्तान रहेका मिडफिल्डर एरिक विष्टसहित सरोज तामाङ र निराजन धामीलाई रिटेन गरेको थियो । यस्तै अक्सनबाट क्याटेगोरी ए का प्रदिप लामा र दिप कार्की तथा क्याटेगोरी बी का फत्तेमान घले, विमल पाण्डे, टिकेन्द्र थापा र सन्दीप कार्कीलाई बुटवलले अनुबन्ध गरेको थियो ।
यस्तै क्याटेगोरी सी को ड्राफ्टबाट बुटवल लुम्बिनीले सुमन श्रेष्ठ, निङसाङ लिम्बु, खेमराज श्रेष्ठ, मनिष सेढाईँलाई अनुबन्ध गरेको छ ।
मार्की प्लेअर : मनिष डाँगी
क्याटेगोरी ए : एरिक विष्ट (रिटेन), प्रदिप लामा, दिप कार्की (विसलिस्ट)
क्याटेगोरी बी : सरोज तामाङ र निराजन धामी (रिटेन), फत्तेमान घले, विमल पाण्डे, टिकेन्द्र थापा, सन्दीप कार्की
क्याटेगोरी सी : सुमन श्रेष्ठ, निङसाङ लिम्बु, खेमराज श्रेष्ठ, मनिष सेढाई
झापा एफसी
दोस्रो सिजनबाट एनएसएलमा डेब्यु गरेको टिम हो झापा एफसी । अघिल्लो सिजन अन्जन विष्टलाई मार्की नियुक्त गर्दै स्पानिस प्रशिक्षक भित्र्याएको झापा प्लेअफमा पुग्न भने सकेन ।
यस सिजन झापाले पनि मार्की प्लेअर र कोचिङ स्टाफ परिवर्तन गरेको छ । यस्तै झापाले टिम पनि नयाँ बनाएको छ । अघिल्लो सिजन टिममा रहेपनि चोटका कारण खेल्न नपाएका मिडफिल्डर लकेन लिम्बुलाई झापाले नयाँ मार्की बनाएको छ भने डिफेण्डर छिरिङ लामालाई मात्र रिटेन गरेको छ ।
यसैगरी मछिन्द्र एफसीलाई लगातार दुई सिजन ए डिभिजन लिग च्याम्पियन बनाएका स्थानिय प्रशिक्षक प्रवेश कटुवाललाई झापाले नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यस्तै कुमार गिरीलाई सहायक र मिन बस्नेतलाई गोलकिपिङ प्रशिक्षक नियुक्त गरेको छ ।
अक्सनमा झापा केही अभागी बनेको थियो । झापाले अक्सनमा क्याटेगोरी ए बाट आशिष गुरुङलाई अनुबन्ध गर्दा एनआरएनए कोटाबाट प्रविन बस्नेतलाई भित्र्याएको छ । यस्तै क्याटेगोरी बी बाट झापाले अभिनाश स्याङ्गता, दिपेश धिमाल, अन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक, उज्वल राईलाई अक्सनमा अनुबन्ध गरेको थियो ।
झापाले क्याटेगोरी सी बाट सृजन दानी, आरोन थापा, श्याम मुर्मु, अभिषेक गुरुङलाई अनुबन्ध गरेको छ ।
यस्तै झापाले विदेशी खेलाडीमा उज्वेकिस्तानका अजामात अब्दुलेभ र सर्वियाका लाजर अर्सिकलाई अनुबन्ध गरेको छ ।
झापाले यस पटक कोशी प्रदेशको एक्लो क्लबको रुपमा प्रतिनिधित्व गर्नेछ । पहिलो सिजन पूर्वबाट विराटनगर सिटी एफसीले एनएसएल खेलेको थियो । तर दोस्रो सिजन विराटनगरले नाम फिर्ता लिँदा पूर्वबाट झापा एफसी र स्पोर्टिङ इलाम एफसी नयाँ टिमको रुपमा थपिएको थियो । तेस्रो सिजनमा इलामले नाम फिर्ता लिएपछि झापा मात्र पूर्वको क्लबको रुपमा रहेको हो ।
मार्की प्लेअर : लकेन लिम्बु
क्याटेगोरी ए : छिरिङ लामा (रिटेन), आशिष गुरुङ, प्रविन बस्नेत (एनआरएन)
क्याटेगोरी बी : अभिनाश स्याङ्गता, दिपेश धिमाल, अन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक, उज्वल राई
क्याटेगोरी सी : सृजन दानी, आरोन थापा, श्याम मुर्मु, अभिषेक गुरुङ
विदेशी खेलाडी : अजामात अब्दुलेभ, लाजार अर्सिक
प्रतिक्रिया 4