२७ फागुन, काठमाडौं । अस्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न क्रिकेट मैदानमा पहिलोपटक पुरूष क्रिकेट टिमकाबीचमा ‘डे-नाइट’ टेस्ट म्याच हुने भएको छ ।
सन् २०२७ को मार्चमा पुरूष टेस्ट क्रिकेटको सुरुवात भएको १५०औं वर्षको अवसरमा डे-नाइट टेस्ट म्याच खेलिने क्रिकेट अस्ट्रेलियाले घोषणा गरेको हो ।
२०२७ मार्च ११-१५ मा हुने अस्ट्रेलियाकबीचको टेस्ट खेलमा पिंक बलको प्रयोग गरी अर्थात् रातको समयमा पनि खेलाइने भएको हो ।
सन् १८७७ मा सुरुवात हुँदा र १९७७ मा १००औं वर्ष पूरा भएका बेला दिवा समयमै मेलबर्न क्रिकेट मैदानमै रेड बल टेस्ट म्याच खेलिएको थियो ।
डे नाइट टेस्ट म्याच यसअघि नै खेलिने गरेको भएपनि मेलबर्न क्रिकेट ग्राउण्डमा पुरूष टिमका बीचमा खेलिएको छैन । पुरूष टिमको डे-नाइट टेस्ट म्याच सिड्नीमा खेलिँदै आएको छ ।
यद्यपी महिला एसेज अर्थात् अस्ट्रेलिया र इंग्ल्याण्ड महिला टोलीका बीचमा मेलबर्नमै डे-नाइट टेस्ट खेलिएको थियो ।
क्रिकेट अस्ट्रेलियाका प्रमुख टड ग्रिनबर्गले यो अवसर खेलको इतिहास र यसको विकासको उत्कृष्ट प्रतीक हुने बताउँदे भनेका छन्, ‘मेलबर्नमा हुने १५०औं वार्षिकोत्सव टेस्ट क्रिकेटको समृद्ध इतिहास र यसको आधुनिक विकासको उत्सव मनाउने शानदार अवसर हुनेछ। फ्लडलाइटमा खेलिनुले अझ बढी दर्शकहरूलाई उपस्थित हुन र यो ऐतिहासिक खेल हेर्न सजिलो बनाउनेछ।’
१९७७ को शताब्दी टेस्टमा डेविड हुक्सले टोनी ग्रेगको बलमा पाँच लगातार चौका प्रहार गर्नु, रिक म्याकस्करले भाँचिएको चिउँडोका साथ ब्याटिङ गर्नु र डेरेक रान्डलले शानदार शतक बनाउनुजस्ता कार्यले १००औं टेस्ट यादगार बनेको थियो । यसैगरी १५०औं टेस्टले पनि यादगार क्षणहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।
यो टेस्ट खेल विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत भने जोडिने छैन, तर यो सिजनका १२ टेस्टमध्ये एक हुनेछ। यस सिजनमा अस्ट्रेलियाले श्रीलंकामा तीन टेस्ट, घरमा न्युजिल्याण्डविरुद्ध तीन टेस्ट, र भारतमा पाँच टेस्ट खेल्नेछ। साथै, अस्ट्रेलियाले इंग्ल्याण्ड भ्रमण गरेर एसेज सिरिज खेल्नेछ र त्यसपछि दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकपमा भाग लिनेछ।
क्रिकेट अस्ट्रेलियाले भिक्टोरियन सरकार र मेलबर्न क्रिकेट क्लबलाई यो ऐतिहासिक खेल आयोजना गर्न सहयोग गरेकोमा धन्यवाद समेत दिएको छ।
प्रतिक्रिया 4