
काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारणसभाले ८.७५ प्रतिशत नगद लाभांश वितरण घोषणा गरेको छ ।
इन्स्योरेन्स अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा मंगलबार साधारणसभा सम्पन्न भएको थियो । साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीको सेयरधनी दर्ता १५ फागुनमा बन्द गरिएको थियो । १४ फागुनसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिई कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।
उक्त साधारणसभाबाट गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन आदि पारित गर्नुका साथै सोही आवको मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले हुन आउने २१ करोड ८७ लाख ६३ हजार ७ सय ७३ रुपैयाँ बराबर नगद लाभांशसमेत पारित गरिएको कम्पनीले जनाएको छ ।
साधारणसभाबाट चालु आव २०८१/८२ का लागि कम्पनीको वाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक समेत लेखा परीक्षण समितिले सिफारिस गरिए बमोजिम अनुमोदन गरिएको कम्पनीले जनाएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले कम्पनीको प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालीन रूपमा स्रोतहरूको परिचालन गरी दिगो लाभ लिन सकिने विश्वास लिएको बताए ।
उनले सबै सरोकारवालाको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बीमा क्षेत्रमा अग्रणी रूपमा स्थापित हुनेमा आफू पूर्णरूपमा विश्वस्त रहेको पनि उल्लेख गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठले नवीनतम प्रविधि प्रयोगबाट निर्जीवन बीमाका ग्राहकलाई सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित संस्था बनाउने आफ्नो अधिकतम प्रयास रहेको बताइन् ।
प्रतिक्रिया 4