
२८ फागुन, काठमाडौं । पाकिस्तानमा जाफर एक्सप्रेस रेलमा आक्रमण गरी यात्रीलाई अपहरण गरेको जिम्मा बलुच लिबरेसन आर्मी (बीएलए)ले लिएको छ ।
पाकिस्तानी सेनाले यात्रीहरुलाई अपहरणमुक्त गराउने प्रयास जारी राखेको छ । सैनिक अप्रेसनको २४ घण्टाको अवधिमा २७ अपहरणकारी र ३० सैनिक मारिएका छन् । साथै १५५ जनालाई अपहरण मुक्त गराइएको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।
बलुच लिबरेसन आर्मी (बीएलए)को हतियारधारी समूहले मंगलबार क्वेटा शहरबाट पेशावर सहरतर्फ गइरहेको रेललाई बीच बाटोमा आक्रमण गरेर त्यहाँ सवार यात्रुहरुलाई अपहरण गरेको थियो । समाचार एजेन्सी एएफपीका अनुसार रेलमा सवार ४०० बढी यात्रीहरुमध्ये पाकिस्तानी सेना र केही प्रहरीहरु समेत थिए ।
बीएलले ती यात्रीहरुलाई युद्धबन्दी भनेको थियो । र, यात्रीहरु सकुशल रिहाइ चाहने हो भने आफ्ना कार्यकर्ताहरुलाई ४८ घण्टाभित्र विनासर्त रिहाइ गर्न सरकारसँग माग गरेको थियो ।
बलुचिस्तान लिबरेसन आर्मी कति शक्तिशाली छ ?
बलुचिस्तान हाल पाकिस्तानको एक प्रान्त हो । यहाँ बसोबास गर्ने केही व्यक्तिहरुले अलग्गै स्वतन्त्र देश माग गर्दै सशस्त्र संघर्ष सुरु गरेका थिए । उनीहरु भारतबाट पाकिस्तान अलग हुँदादेखि नै स्वतन्त्र देश चाहन्थे । तर उनीहरुको माग सुनुवाइ भएन । त्यसैले अहिलेसम्म त्यहाँ सशस्त्र संघर्ष जारी छ ।
बीबीसीका अनुसार बलुचिस्तानमा स्वतन्त्रताको माग गर्ने धेरै संगठनहरु छन् । तर सबैभन्दा शक्तिशाली संगठन बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) हो । यो सन् १९७० को दशकको सुरुदेखि अस्तित्वमा आएको हो । तर यसको प्रभाव २१ औं शताब्दीमा बढेको पाइएको छ । उसको भनाइ अनुसार बलुचिस्तानका संशाधनमा त्यहाँका बासिन्दाको मात्र हक छ ।

बलुचिस्तान लिबरेसन आर्मीको प्रमुख सुरुमा नवाबजादा बालाच मिरी थिए । बालाच मिरीको मृत्यु भएपछि बेलायतमा बस्दै आएका उनका भाइ हिरबयार मिरीले नेतृत्व सम्हालेका थिए । यद्यपि उनले सशस्त्र समूहको नेतृत्व नगरेको दाबी गर्दथे ।
त्यसपछि, असलम बलोचले संगठनको नेतृत्व सम्हाले । हालको यसको नेतृत्व कसले गरिरहेको छ भन्ने विश्वसनीय र अद्यावधिक जानकारी छैन ।
यद्यपि यो संगठनले पाकिस्तान र चीनको प्रभावबाट मुक्ति दिलाउने भन्दै सशस्त्र संघर्ष जारी राखेको छ ।
यस संगठन चीन-पाकिस्तान आर्थिक ट्रान्जिट परियोजनाको विरोध गर्दछ । यसले सन् २०१८ मा कराँचीस्थित चिनियाँ वाणिज्य दूतावासमा आत्मघाती हमला गरेको थियो । हालै चिनियाँ परियोजनामा कार्यरत व्यक्तिहरु सवार एक बसमा पनि यसले हमला गरेको जिम्मेवारी लिएको थियो ।
यसको गतिविधि हिंसात्मक भएपछि पाकिस्तान सरकारले सन् २००७ मा आतंकवादी संगठनको सूचीमा राखेको थियो । यसलाई अमेरिकाले पनि आतंकवादी संगठनको सूचीमा राखेको छ ।
सिड्नीस्थित इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिसको तर्फबाट जारी वैश्विक आतंकवाद सूचकांक (जीटीआई) २०२५ रिपोर्टमा पाकिस्तानलाई विश्वको दोस्रो सबैभन्दा बढी आतंक प्रभावित देशमा राखिएको छ ।
रिपोर्ट अनुसार पाकिस्तानका खैबर पख्तुनख्वा र बलुचिस्तान सबैभन्दा बढी आतंक प्रभावित क्षेत्रमा छन् । देशभरका कूल आतंकवादी गतिविधिको ९० प्रतिशत यिनै क्षेत्रमा हुने गरेको बताइन्छ ।
रिपोर्टका अनुसार तहरिक–ए–तालिबान पाकिस्तानलाई लगातार दोस्रो वर्ष पाकिस्तानको सबैभन्दा खतरनाक आतंकवादी संगठन मानिएको छ । सन् २०२४ मा यसले ४८२ वटा घातक हमला गरेको थियो र ५५८ जनाको मृत्यु भएको थियो । यो सन् २०२३ को तुलनामा ९१ प्रतिशतले बढी हो ।
प्रतिक्रिया 4