२८ फागुन, काठमाडौं । काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि फ्रान्सको उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका भिन्सेन्ट कोजिएलोलाई अनुबन्ध गरेको छ ।
भिन्सेन्ट बुधबार नेपाल आइपुगिसकेका छन् । उनलाई क्लबले स्वागत गरिसकेको छ । भिनसेन्ट काठमाडौंले अनुबन्ध गरेको चौथो विदेशी खेलाडी हुन् । यसअघि काठमाडौं रेजर्सले सियरा लियोनका फरवार्ड मोहम्मद बुया तुरे, सेनेगलका गोलकिपर चेइख गुएय र सेनेगलकै विंगर अमादोउ डिओपलाई अनुबन्ध गरिसकेको छ ।
२९ वर्षीय मिडफिल्डर कोजिएलोले फ्रान्सको यू-१९, यू-२० र यू-२१ लेभलमा खेलिसकेका छन् । त्यस्तै फ्रेन्च लिग वान क्लब ओजिसी नाइस र जर्मन बुण्डेसलिगा क्लब एफसी कोल्नबाट खेलेका थिए । भिनसेन्ज कोजिएलोको आगमनले काठमाडौं रेजर्स टिम अझ बलियो बन्ने क्लबको विश्वास छ ।
पहिलो संस्करणको च्याम्पियन काठमाडौ रेजर्सले तेस्रो संस्करणका लागि युवा मिडफिल्डर रोहन कार्कीलाई नयाँ मार्की प्लेअर चयन गरेको छ । यस्तै बेल्जियमका अनुभवी प्रशिक्षक प्याट्रिक विल्डेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
काठमाडौंले दोस्रो सिजनबाट मिडफिल्डर दिपेश गुरुङ, डिफेण्डर कुलदिप कार्की र गोलकिपर अभिषेक बराललाई रिटेन गरेको थियो ।
यस्तै काठमाडौंले अक्सनबाट क्याटेगोरी ए का मिडफिल्डर दिनेश हेन्जन र फरवार्ड जिलेस्पी जंग कार्की तथा क्याटेगोरी बीबाट फरवार्ड आशिष चापागाईँसँगै डिफेण्डरहरु कमल श्रेष्ठ, दिवाकर चौधरी र अन्जल महर्जनलाई अनुबन्ध गरेको थियो ।
यसैगरी काठमाडौंले क्याटेगोरी सी को ड्राफ्टबाट भरत चौधरी, मौसम मगर, पुष्कर खड्का र पेम्बा दोर्जी लामालाई अनुबन्ध गरेको छ ।
प्रतिक्रिया 4