
काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको फिल्म ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सपुतसहित शीर्ष कलाकार स्वस्तिमा खड्का पोस्टरमा फिचर्ड छन् ।
प्रेमिल भावको पोस्टरमा यी दुई पात्र स्कुलतिर गैरहेको देखिन्छ । पृष्ठभूमिमा फुलेको लालीगुराँस र पहाडी भूगोलले फिल्मको सेटिङ र परिवेशलाई दर्शाउँछ ।
पोस्टर सार्वजनिक गर्दै सपुतले लेखेका छन्, ‘जसरी प्रकृतिका विभिन्न रङहरू समेटेर वसन्त ऋतु आएको छ । त्यसरी नै समाजका विभिन्न रङ समेटेर सिनेमा ‘वसन्त’ तयार भएको छ । ती रङमध्ये सबैभन्दा सुन्दर रङ हो प्रेमको रङ । ‘वसन्त’ एउटा सुन्दर प्रेमको रङले बनेको छ ।’
चैत २२ गतेदेखि नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने फिल्ममा प्रभातपाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा निर्देशक, पटकथा र संगीत पनि सपुतकै छ । दलित परिवारको एक युवकको लेखक बन्ने सपना र त्यसलाई पछ्याउन उसले गर्ने संघर्षको कथामा फिल्म बनेको छ । शीर्ष भूमिका वसन्तको रोलमा पनि प्रकाश स्वयम देखिएका छन् ।
सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्म खिचिएको हो । सुसन प्रजापतिले फिल्म खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछन् ।
प्रतिक्रिया 4