+
+
Shares

काठमाडौं स्कुल अफ लका सञ्चालक संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहारको आरोप

वार्षिक परीक्षा आउन लागेको भन्दै रोकिएको थियो छानबिन

संग्रौलाले कलेजमा छात्राहरुसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १ गते २०:१९

१ चैत, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा एक विद्यार्थीले पूर्वमहान्यायाधिवक्ता समेत रहेका संग्रौलाले कलेजमा छात्राहरुसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको उल्लेख गरेकी छिन् ।

संग्रौलामाथि यौन दुर्व्यवहारका थुप्रै आरोप लाग्ने गरेको उल्लेख गर्दै उनले भनेकी छन्, ‘उहाँले विद्यार्थीहरुलाई ब्याक मसाज गर्न बाध्य पार्नुभएको समेत छ ।’

उनले यो विवरण पोस्ट गरेको केही समयपछि कार्यकक्षमा संग्रौलालाई कसैले टाउको थिच्दै गरेको तस्वीर समेत सार्वजनिक भएको छ ।

ती विद्यार्थीले केएसएलका विद्यार्थीहरुसँग संग्रौला अनुचित रुपमा बोल्ने गरेको भन्दै उनको गतिविधि कुनै पनि शैक्षिक संस्थामा स्वीकार्य नहुने भनेकी छन् ।

‘प्रेमीले केबल शारीरिक सम्बन्धको चाहना राख्छ भन्दै उहाँले मलाई पुरुषहरुसँग नसुत्न, विवाह गर्न र सम्बन्धहरुबाट टाढा बस्न भन्नुभयो । तपाईंलाई यस्तो टिप्पणी गर्ने अधिकार कसले दियो ?’, उनले भनेकी छन्, ‘उहाँले महिलाको भविष्यका बच्चाहरुको आकारबारे पनि अड्कल गर्नुहुन्छ, मानौं उनीहरु पशु हुन् ।’

उनले संग्रौलाले यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिको अधिकारको समर्थन गर्ने विद्यार्थीहरुलाई निष्काशन गर्ने धम्की दिने गरेको दाबी गरेकी छन् । संग्रौलाले दुर्व्यवहार गरेको भन्दै ६ वर्षअघि पनि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका एक व्यक्तिले सार्वजनिक रुपमा बोलेका थिए ।

संग्रौलाले यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिको अधिकारको समर्थन गर्ने विद्यार्थीलाई निष्काशनको धम्की दिने गरेको दाबी ती विद्यार्थीको छ ।

‘उनी निरन्तर अपमानजक, लज्जास्पद, घिनलाग्दा टिप्पणीहरु गर्छन् । एकपटक उत्तर दिन नसकेका कारण उनले सबै आमाहरुले गर्भपतन गर्नुपर्ने थियोसम्म भनेका छन्,’ उनले अगाडि भनेकी छिन्, ‘जब कोही विद्यार्थीले आवाज उठाउँछन्, उनीहरुलाई धम्की दिइन्छ र चुप लाग्न बाध्य पारिन्छ ।’

ती विद्यार्थीले कलेजका अन्य प्राध्यापकहरुले समेत विद्यार्थीहरुलाई दुर्व्यवहार गर्ने जिकिर गरेकी छन् । ‘उनीहरु विवाहपछिको बलात्कारको अस्तित्वलाई अस्वीकार गर्छन्,’ उनले भनेकी छन् ।

उनले पहिले आफूलाई यसबारे निवेदन दिन भनिएअनुसार १२ डिसेम्बर २०२४ मा उजुरी दिए पनि कुनै सुनुवाइ नभएपछि सामाजिक सञ्जालमा पोस्ट गर्नुपरेको भनेकी छन् ।

‘तिमी सोच्छौं- डर देखाएर हामीलाई मौन राख्न सक्छु । तिमी सोच्छौं- धम्कीले हामीलाई पछाडि हटाउँछ’, उनले कलेजलाई दिएको निवेदन समेत राख्दै भनेकी छिन्, ‘तर, अहिले म डराएको छैन, कहिल्यै पनि डराउने छैन ।’

विद्यार्थीले कलेजमा दिएको निवेदनमा कार्यकारी निर्देशक संग्रौलालाई तत्काल निलम्बन गरेर छानबिन गर्नुपर्ने सहितका ५ बुँदे माग राखेकी छन् ।

‘दुर्व्यवहार र उत्पीडनविरुद्ध शून्य सहनशीलताको नीति लिनुपर्छ, यी समस्याको समाधान गर्न पूर्वाग्रह वा प्रतिशोधविना यसको सम्बोधनका लागि स्वतन्त्र समिति बनाउनुपर्छ,’ निवेदनमा माग गरिएको छ, ‘प्राध्यापक तथा कर्मचारीहरुलाई अनिवार्य संवेदनशीलता र नैतिकताको प्रशिक्षण दिनुपर्छ ।’

उनले दुर्व्यवहारको उजुरीमा छानबिन गरेर पटकपटक यस्ता गतिविधिमा संलग्नलाई बर्खास्त गर्नेसम्मका कारबाही गर्नुपर्ने भनिएको थियो । तर यो उजुरीमाथि कुनै सुनुवाइ नगरिएको उनले भनेकी छन् ।

यो विषय सार्वजनिक भएपछि कलेजले विज्ञप्ति जारी गर्दै प्रशासनबाट आन्तरिक उजुरी तथा गुनासो समितिमा निवेदन पेस हुने वित्तिकै त्यसलाई जानकारीमा लिएर आवश्यक जाँचबुझ प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ ।

उनले सार्वजनिक रुपमा बोलेपछि अन्य विद्यार्थीहरुले समेत केएसएलमा संग्रौलाले गरेका टिप्पणीहरुबारे बोल्न थालेका छन् । उनको पोस्ट सेयर गर्दै अर्की एक जना पूर्वविद्यार्थीले आफूले पनि कलेजमा भएको दुर्व्यवहार र महिलाविरोधी टिप्पणी कयौंपटक भोगेको भनेकी छन् ।

‘यो लेख्दै गर्दा म वर्षौंदेखि सार्वजनिक रुपमा बोल्नका लागि मेरो आफ्नै हिच्किचाहटको बारेमा सोच्दैछु, म एउटा साथीबारे सोच्दैछु जसले विद्यार्थी हुँदा भएको दुर्व्यवहारबारे उदाहरण पेस गरे पनि संग्रौला शक्तिशाली मान्छे भएकाले बोल्न डराउँछु भन्नुभएको थियो’, उनले भनेकी छन्, ‘म ती साथीहरुको बारेमा पनि सोच्दैछु, जो निजी च्याटमा के-कसरी आफ्नो पोस्ट लेख्ने सोचिरहेका छन्, म… र ती सबैलाई धन्यवाद दिन चाहन्छु, जसले बोल्नका लागि मलाई हिम्मत दिएका छन् ।’

काठमाडौं स्कुल अफ ल पढेका अर्का एक जना पूर्वविद्यार्थीले समेत अनलाइनखबरसँग कुरा गर्दै जोसुकै इमान्दार विद्यार्थीलाई सोधे पनि कलेजमा हुने दुर्व्यवहारबारे थाहा हुने बताएका छन् । उनले भने, ‘त्यहाँ खुलेआम यस्ता किसिमका दुर्व्यवहार भएका छन्, यौनिक अल्पसंख्यक समुदायलाई हेयको भाषा प्रयोग गर्ने गरिएको छ ।’

यो विषय सार्वजनिक भएपछि कलेजले विज्ञप्ति जारी गर्दै प्रशासनबाट आन्तरिक उजुरी तथा गुनासो समितिमा निवेदन पेस हुने वित्तिकै त्यसलाई जानकारीमा लिएर आवश्यक जाँचबुझ प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ । यसमा वार्षिक परीक्षा आउन लागेकाले निवेदक समेतको हितलाई ध्यानमा राखेर छानबिन रोकिएको समेत उल्लेख छ ।

‘निवेदनमा कलेजका पदाधिकारी एवं शिक्षकहरुलाई समेत इंगित गरिएको सन्दर्भमा आन्तरिक रुपमा बुझबुझारथ गर्ने कार्य सम्पन्न भई निवेदनसँग दाबी गरिएको विषयसँग सम्बन्धित थप विवरण भए संकलन गर्ने निर्णय भएकोमा…’, विज्ञप्तिमा भनिएको छ, ‘एकेडेमी इन्चार्जबाट अहिले विश्वविद्यालयको वार्षिक परीक्षा सन्निकट रहेको र यतिबेला निवेदनलाई आमन्त्रण गरी छलफल गर्दा यसको नकरात्मक प्रभाव निवेदकको परीक्षामा समेत पर्ने सम्भावना देखिएकाले निवेदनकको उच्चतम हित र भलाइलाई मध्यनजर गरी वार्षिक परीक्षाको समापनपछि छलफलको लागि बोलाउन उपयुक्त हुने सल्लाहअनुसार निवेदकलाई परीक्षापछि आमन्त्रण गर्ने निर्णय भएको हो ।’

आन्तरिक उजुरी तथा गुनासो समितिकी सदस्यसचिव लक्ष्मी सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा कलेजमा पेस गरेको निवेदन सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको

अवस्थामा गाम्भीरतालाई मध्यनजर गरेर समितिमा उपस्थित भएर उजुरीको कारबाही र किनारामा सहयोग गर्न पत्राचार गरिसकिएको भनिएको छ ।

‘निवेदनमा कलेजका पदाधिकारीहरुको सन्दर्भ जोडिएको विषयलाई समेत हेर्न एउटा स्वतन्त्र छानबिन समिति गठन गर्ने प्रक्रिया समेत अगाडि बढिसकेको हुँदा छानबिन प्रक्रिया सम्पन्न नभइन्जेल धैर्यधारण गर्न सम्बन्धित सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?