
२ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक र सांस्कृतिक मान्यताको कारण महिला पछाडि पारिएको बताएका छन् ।
एमाले केन्द्रीय कार्यालयमा शनिबार एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले गरेको राजनीतिमा महिलाको प्रतिनिधित्व र सहभागिता प्रवर्द्धनका लागि राजनीतिकर्मी भूमिका’ विषयक कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन् ।
समाजमा विद्यमान कतिपय कुरीति र सामाजिक एवं सांस्कृतिक मान्यतालाई बदल्न आवश्यक रहेको महासचिव पोखरेलले टिप्पणी गरे । महिलालाई आर्थिक रूपमा सबल बनाउनुपर्नेमा जोड दिएका पोखरेलले देशको संविधान र निर्वाचनसम्बन्धी कानुनले महिलाका निम्ति गरेको व्यवस्थाको पालना हुनुपर्नेमा जोड दिए ।
महिलालाई नीति निर्माणको तहसम्म पुर्याउन आफ्नो पार्टीले विशेष भूमिका खेलेको पनि उनले बताए । समावेशिता लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भएको भन्दै उनले संविधानमा समावेशितालाई संघीय लोकतान्त्रिक गणतन्त्रको बलियो आधारका रूपमा स्वीकार गरिएको बताए ।
महासचिव पोखरेलले महिला सहभागिताको हिसाबले नेकपा एमाले अन्य दल भन्दा फरक रहेको बताउँदै पार्टीले अधिकभन्दा अधिक महिलालाई नीति निर्माणका स्थानमा अवसर दिएको बताए ।
प्रतिक्रिया 4