+
+
Shares

केयूको सिनेट स्थगित, संयोजक शर्माले बुझाए आफ्नातर्फको नाम

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १९:३६

३ फागुन, काठमाडौं ।काठमाडौं विश्वविद्यालयको सोमबारका लागि बोलाइएको विशेष सभा (सिनेट) स्थगित भएको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी ओलीले उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न विशेष सभा बोलाएका थिए । उपकुलपतिको नाम छनोट गर्न गठित समितिले नाम सिफारिस नगरेपछि बैठक बोलाइएको थियो ।

तर सहमतिको प्रयासका लागि भन्दै तत्कालका लागि बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार अर्को बैठक तय भइसकेको छैन ।

विवादकाबीच छनोट समितिका संयोजक पूर्वउपकुलपति सुरेशराज शर्माले भने आफ्नो तर्फबाट प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन् ।

तीन जनाको नामसहित उनले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएका हुन् ।  संयोजक शर्माले कसकसको नाम बुझाए भन्ने सार्वजनिक गरिएको छैन ।

शर्माले शुक्रबार नै प्रधानमन्त्री ओलीलाई भेटेर प्रतिवेदन बुझाएका हुन् ।

‘सुरेश सरले आफ्नातर्फबाट रिपोर्ट बुझाउनु भएको छ । को उम्मेदवार कस्तो हो, कसरी नम्बर दिइएको छ सबै तयार पारेर रिपोर्टसहति तीन जनाको नाम दिनुभएको छ,’ संयोजक शर्मा निकट एक अधिकारीले अनलाइनखबरसँग भने ।

तर अन्य दुई सदस्यले सहमत नभएपछि संयोजक शर्माले बुझाको प्रतिवेदनले मान्यता पाएको छैन ।

‘उहाँले बुझाएको प्रतिवेदनमा दुई जना सहमत हुनुहुन्न । एक जनाले बुझाएको प्रतिवेदनलाई आधिकारिक मान्न सकिने स्थिति छैन,’ प्रधानमन्त्रीको सचिवालयका अर्का एक सदस्य भन्छन् ।

छनोट समितिमा संयोजक शर्मा, सदस्यमा डा. अर्जुन कार्की र पूर्वसचिज जनार्दन नेपाल छन् । उपकुलपतिका लागि सर्ट लिस्टमा १० जना परेका थिए ।

सबैको अन्तर्वार्ता फागुन ३ मै सकिएको हो । तर समितिमा एक मत नहुँदा नाम सिफारिस हुन सकेको थिएन ।

सर्ट लिस्टमा भोला थापा, बालचन्द्र लुँइटेल, अच्युत वाग्ले, राजेन्द्र प्रसाद कोजु, कन्हैया झा, जर्नादन लामिछाने, विभूति रञ्जन झा, वेदमणी दाहाल, श्याम नारायण लाभ र सुबोध शर्मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?