
४ चैत, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार तथा नेकपा एमालेका नेता मोतीलाल दुगडले कर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले कर तिर्न भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।
विराटनगरका उद्योगी दुगड पूर्वसांसद पनि हुन् । उनलाई केपी शर्मा ओलीले २०७७ सालमा विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । ओलीको पछिल्लो कार्यकालमा भने दुगडले कुनै जिम्मेवारी पाएका छैनन् ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले गत फागुन २० गते कर दाखिलाका लागि भन्दै १०१ व्यावसायीक फर्म र कम्पनीका नाममा १५ दिने सूचना जारी गरेको थियो । यसमा दुगडको एसिया केमिकल कम्पनी प्रालि विराटनगर १४, एसियन केम प्रालि विराटनगर १७ र विराटनगर २ मा रहेको ह्यारिसन प्यालेस प्रालिको पनि नाम समावेश छ ।
दुगड एसियन केमिकल कम्पनीको आयकर तिरिएको छैन । ह्यारिसन प्यालेस र एसियन केम प्रालिले मूल्य अभिवृद्धि कर नतिरेको कार्यालयले जनाएको छ । सूचना प्रकाशित भइसकेपछि ह्यारिसन प्यालेसको कर भने तिरिएको आन्तरिक राजस्व कार्यालय विराटनगरका सूचना अधिकारी नवराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार अन्य कम्पनीको भने दुई वर्षदेखि कर दाखिला भएको छैन । बुझाउन बाँकी रहेको करको विवरण भने खुलाउन नमिल्ने उनले बताए ।
यता उद्योगी मोतीलाल दुगडले कर तिर्न केही ढिलो हुँदा कार्यालयले सूचना निकालेको बताए । उनले आफ्ना तीन वटा नभइ दुई वटा कम्पनीको मात्रै बक्यौता बाँकी रहेको बताए ।
‘ट्याक्सको पैसा हो, १–२ महिना मात्रै ढिलो भएको हो,’ उनले भने, ‘कहिले छिटो हुन्छ कहिले ढिलो हुन्छ, दुईवटा हो, एउटा मिलिसक्यो, अर्काेको आधा गइसक्यो ।’
सामान्यतया चार महिनामा भ्याट बिलको हिसाब बुझाउनुपर्छ । दुगडको कम्पनीले दुई वर्षदेखि बुझाएको थिएन ।
भूमि कन्स्ट्रक्सन र भूमि इन्फ्रास्ट्रक्चरले पनि तिरेनन् कर
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अभिनाष बोहराले पनि कर तिरेका छैनन् । उनको भूमि कन्स्ट्रक्सन प्रालिले दुई वर्षदेखि मूल्य अभिवृद्धिकर र आयकर दाखिला नगरेको हो ।
भावेश बोहरा सञ्चालक रहेको भूमि इन्फ्रास्ट्रक्चरले पाँच वर्षदेखि मूल्यअभिवृद्धि कर र आयकर बुझाएको छैन ।
भूमि कन्स्ट्रक्सन र भूमि इन्फ्रास्ट्रक्चर निर्माण क्षेत्रका कम्पनी हुन् । यी दुई कम्पनीले ठेक्का लिएका आयोजनाहरू अधुरै छन् ।
कर तिर्न भन्दै आन्तरिक राजश्व कार्यालयले जारी गरेको सूचना–
प्रतिक्रिया 4