
काठमाडौं । ‘आउट ल : दफा २१९’ अहिलेसम्मको अब्बल नेपाली एक्सन फिल्ममध्ये एक हो । यसको एक्सन कोरियोग्राफी र सुशील श्रेष्ठको एक्सनको चर्चा अहिले निकै भैरहेको छ ।
आफूलाई ‘एक्सन स्टार’को रुपमा सुशीलले जसरी पेश गरेका छन्, यसले घरेलु फिल्ममा एक्सन जनराका फिल्मको भविष्यलाई जीवन्त तुल्याउँछ । यो फिल्मका लागि सुशीलले यति मिहिनेत गरेका छन् कि दृश्य छायांकनको लागि उनले वास्तविक रुपमै कुटाइ खाए ।
दृश्यलाई यथार्थ तुल्याउन उनले वास्तविक कुटाइ खाएको ‘क्यामेरा पछाडिका केही दृश्य’ सार्वजनिक गरेका छन् । फरार ‘मस्ट वान्टेड’ कैदी पक्राउ परेपछि हिरासतमा यातना दिने सन्दर्भमा उक्त दृश्य छायांकन भएको छ ।
सामाजिक संजालबाट उनले सेयर गरेका भिडियो र तस्वीरमा शरीरमा कुटाइका दागहरू स्पष्ट देखिन्छ । निर्देशकले वास्तविक दृश्य नखिचौं भनेर आग्रह गर्दा दृश्यलाई वास्तविक तुल्याउन सके, दर्शकले गहिरो गरेर महसुस गर्न सक्ने भएकाले खिचेको उनले उल्लेख गरेका छन् ।
संवेदनशील विषय उठाएर नेपाली एक्सन फिल्मलाई नयाँ उचाइमा लैजाने उद्देश्यस्वरुप आफूहरू यो कार्य गर्न तयार रहेको उनले बताएका छन् । ‘तपाईंहरूको साथ र समर्थन हाम्रो लागि अमूल्य छ’ उनले भनेका छन् ।
यो फिल्ममा सुशीलले ‘एन्टीहिरो’ भूमिका निर्वाह गरेका छन्, जो कानून आफैं हातमा लिएर विकृतिलाई रोक्नेतर्फ अघि बढ्छ । फिल्मको दोस्रो श्रृंखला पनि बन्ने भएको छ । ‘चेज इज कन्टिन्यू’ लेख्दै निर्देशकले फिल्मको दोस्रो सिक्वेल आउने स्पष्ट उल्लेख गरेका छन् ।
फिल्मको अन्त्यमा सुशील र उनकी प्रेमिकालाई विमानस्थलबाट विदेश जाँदै गरेको देखिन्छ । यसको अर्थ, कथा सकिएको छैन र निर्देशकले भनेजस्तै ‘चेज इज कन्टिन्यू ।’
प्रतिक्रिया 4