
बुबाको नेपाली घर पर्वतमा भए पनि राजेश विश्वकर्मा भारतस्थित आसाम राज्यको गिग्रिगोड जिल्लामा जन्मिए । उनको बुबा त्यहाँको एउटा कम्पनीमा सेक्युरिटी गार्ड थिए ।
राजेशको सानैदेखि फुटबल/भलिबल खेलमा रुचि थियो । उनी क्लबहरूले गर्ने इन्डोर र आउटडोर गेम तथा इभेन्टमा पुग्थे । नजिकै दुलियाजन फिल्म हल थियो । लुकी–लुकी त्यता छिर्थे । यसै गर्ने भएरै चार–पाँच कक्षामा पढ्दा नै उनलाई फिल्म हेर्ने रस पसेको थियो ।
उनले हेरेको पहिलो फिल्म थियो, ‘आशा’ । फिल्मको कथामा दोस्रो बिहे भएपछि एउटी छोरीलाई बुबाले छोडेको हुन्छ । तर संयोगले ऊ खेलौना बेच्ने भएर बाउलाई भेट्थी । त्यो दृश्यले राजेशलाई धेरैतिर दुखायो । उनी हेर्दाहेर्दै घ्वाँघ्वाँ गर्दै रोए । त्यसपछि धर्मेन्द्रको ‘प्रतिज्ञा’, मिथुन चक्रवर्तीको ‘सुरक्षा’, अमिताभ बच्चनको ‘नसिब’ फिल्म हेरेको हेर्यै गरे । जुन फिल्म आयो त्यसको फ्यान भए । जुन हिरोको स्टाइल हिट भयो, त्यसैलाई कपी गरे ।
त्यहीबीच फिल्ममा उनले देख्ने गरेको दुःखद् कुरा उनीहरूको घर नजिकै आयो । उनी १४ वर्षको हुँदा आसाममा उल्फा मूभमेन्ट चल्यो ।
आसामका आदिवासी र बाहिरबाट आउनेहरूको बीच भित्रभित्रै आगो सल्किरहेको थियो । बाहिरबाट आएकाले उनीहरूको काम खोसेको स्थानीय ठान्न थालेका थिए । हुनत उनीहरू खेतको काम गर्ने भएकाले कम्पनीहरूले बोलाउँदा पनि गएका थिएनन् । कम्पनीहरूले बाहिरबाट काम गर्ने मान्छे ल्याए । उनीहरूलाई त्यसले बिझायो । हिंसा चर्कियो । त्यो चर्किंदै जाँदा एक दिन एक जना नेपालीको पनि मृत्यु भयो ।
त्यसले राजेशको परिवारलाई अत्यायो । वर्षौंदेखि बसेको ठाउँ छोड्ने बनायो । बाबाले उतै जोडिसकेको जग्गा–जमिन एक्लियो । त्यहाँबाट २०४० सालमा नेपाल आएर परिवारै बुटवलमा बस्न थाल्दा राजेश सात कक्षामा पढ्थे । यता आएपछि आठ कक्षा पढ्न थाले ।
बुटवलमा आएपछि पनि फिल्म हेर्ने बाटो छुटेन । उनको गइरहने नयाँ ठाउँ बुटवल चलचित्र मन्दिर बन्यो । उनीहरू ७ रुपैयाँ तिर्दै हिन्दी फिल्म हेर्न थाले । सँगै भुवन केसीको ‘जुनी’ जस्ता केही नेपाली फिल्म हेरे । तर खै किन–किन उनलाई नेपाली फिल्म चित्तै बुझेन । बलिउड हेर्ने बानी भएकाले उनलाई कता–कता बिझायो । त्यसपछि आएको शिव श्रेष्ठको ‘जीवनरेखा’ फिल्म भने उनीहरूलाई मनपर्यो ।
यति कुरा सुनाइसकेर राजेश हामीले मगाएको चिया गिलासमा खन्याउन थाले । किङ्स कलेज मुनिको क्याफे कोड्समा हामी कुरा गर्न बसेका थियौं । मैले उनलाई पहिलो प्रश्न सोधें, “पहिला र अहिलेको फिल्म हेराइमा के फरक छ ?”
“पहिले हामीले हेर्ने कुरा धेरै थिएनन्”, उनले चिया सुरुप्प पारे । अनि गिलास टेबलमा राख्दै भने, “बलिउडले जे ल्याए त्यो नयाँ लाग्थ्यो । नेपालमा तुलसी घिमिरे दाजुको फिल्म हेरेपछि त्यो पनि नयाँ लाग्यो । त्यसबेला मलाई कथाले त छुन्थ्यो नै, स्टारडमले झन् बढी छुन्थ्यो ।”
उनी यस्तो भन्दै पुनः आफ्नो कथामा फर्किए ।
२०४६–४७ सालको परिवर्तनपछि बुटवलतिर भिडियो फिल्मको दौर आयो । त्यसबेलासम्म उनी त्यहाँ भएको रक्तिम नाट्य परिवारसँग जोडिइसकेका थिए । त्यसैबीच उनीहरूले पनि फिल्म बनाउने कि भन्ने कुरा आयो । त्यहाँ एक जना शेरबहादुर क्षेत्री भन्ने व्यक्ति थिए । उनको टपरी उद्योग थियो । उनले भने “ल फिल्म हो भने म पैसा हाल्छु ।” उनकै पैसाको सहायतामा ‘समाजको शत्रु’ भन्ने भिडियो फिल्म बन्यो । राजेशले त्यसमा भिलेनको रोल गरे ।
त्यो फिल्म पूरा बनेन । तर अपुरै कामले पनि उनलाई भने बाटो देखायो । फिल्मको बानी लगायो । त्यसै दौरान उनले ‘कर्तव्य’ भन्ने एउटा फिल्ममा असिस्टेन्ट निर्देशकको भूमिका निभाए । ‘पागल प्रेम’ भन्ने फिल्ममा पनि जोडिएपछि भने उनलाई काठमाडौं गएर सिक्नुपर्छ भन्ने लाग्यो ।
काठमाडौंको पुतलीसडकमा प्रताप लिम्बूहरूले चलाएको ‘डायमण्ड एक्टिङ इन्स्टिच्युट’ थियो । त्यहाँ दुई महिनाको अभिनय कोर्स लिंदै गर्दा उनी अनेक डायलग फरक–फरक तरिकाले भन्न सक्ने भए । त्यसबेला उनको क्लासमेट विराज भट्ट थिए । तर अभिनय सिकेको भए पनि त्यो उति धेरै प्रभावकारी थिएन । बरु उनलाई संयोगले अर्को यात्रातिर तान्यो ।
‘सारङ्गी’ फिल्म लेखिसकेका सुरेश विश्वलाई उनी बुटवल हुँदै चिन्थे । संयोगले सुरेशले तुलसी घिमिरेको प्रोडक्सनमा काम गरिसकेका रहेछन् । त्यही दौरान तुलसीले एक दिन कोही राम्रो मान्छे भए आफूले सम्पादन सिकाउँथें भन्ने सोचेछन् । सुरेशले काम खोज्दै बसिरहेका राजेशलाई सम्झिए ।
कालीमाटी रविभवनमा राजेशको तुलसीसँग भेट भयो । त्यसबेला तुलसी बलिदान फिल्मको सुटिङ पूर्वतिर सकेर आइसकेका थिए । फिल्मका बाँकी केही सिनहरू खिच्न जाने उनको तयारी थियो । तुलसीसँग सम्पादन सिक्दै गरेको भएर त्यही दौरान राजेश पनि उनीसँग जाने भए । उनलाई निर्देशनमा असिस्ट गर्ने भए ।
नगरकोटको तेलकोटमा सुटिङ थियो । रामेश श्रेष्ठले लेखेको फिल्मको स्क्रिप्ट थियो । राजेशलाई मनपर्ने कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सेटमा थिए । क्रान्तिकारी बनेका हरिवंश पूर्व आर्मी रहेका मदनकृष्णलाई सम्झाउन जान्छन् । मदन हरिको क्रान्तिकारी सपना पत्याइहाल्दैनन् । आज तिमीहरू यहाँ लडाइँ गर्दैछौ । भोलि सत्तामा पुगेपछि तिमीहरू पनि त्यही हुने हो । उनी शङ्का गर्छन् ।
तुलसीले राजेशलाई क्ल्याप रेडी गर्न भने । उनले त्यो जानेका थिए । तर कापीमा कन्टिन्युटी सिन कसरी लेख्ने जानेका थिएनन् । त्यो कुरा पनि उनलाई तुलसीले नै सिकाए । सर्ट साइज, सर्ट नम्बर, दृश्यमा के भइरहेको छ भन्ने विवरण अनि डायलग, उनले ती सबै कुरा कापीमा लेखे । खिचिसकेपछि ओके जनाउ दिन टिक लगाए ।
मैले उनलाई यहाँ पनि पुनः केही प्रश्न सोधें । त्यो आन्दोलनको कथा थियो । विद्रोहको कथा । पुरानो व्यवस्था फालेर नयाँ ल्याउने प्रयत्नको कथा । ‘त्यसले तपाईंलाई केही सोच्ने बनायो कि बनाएन ?’
उनले भारतमा हुर्किंदा कुनै विभेद भोगेका थिएनन् । हिंसाको कारण घर छोड्नु अर्कै कुरा, तर मान्छेको रूपमा भने कुनै विभेद थिएन । नेपालमा आएपछि पनि उनले खासै धेरै भोगेनन् किनकि कसैको घरमा खान माग्न जानुपर्ने अवस्था उनको थिएन । तर जातीय विभेद छ भन्ने थाहा हुन्थ्यो ।
उनको गाउँभन्दा अलिक तल अरू विश्वकर्माहरू थिए । उनीहरू गरिब थिए । त्यहाँ भने विभेद गरेको बुझिन्थ्यो । विश्वकर्माको घरमा आरन हुन्थ्यो । त्यहाँ केही सामानहरू बनाउन जाँदा उनीहरूलाई सम्बोधन नै दबाएर गरिन्थ्यो । काम राम्रो गरे पनि नराम्रो गरे पनि उनीहरूलाई गर्ने व्यवहार तल्लो नै हुन्थ्यो ।
त्यसैले उनी सोच्छन्, “विभेदलाई सामाजिक परिस्थितिले फरक गर्ने रहेछ ।”
त्यतिबेला उनीहरूको गाउँमा मधेशीहरू खालीसिसी लिन आउँथे । कोही धानसँग मुम्फली साटेर जान्थे । ती सधैं आउने भएकाले उनीहरू चिन्थे । तिनको नाम हेपेर बोलाउँथे । उनीहरूलाई देखेबाटै हेप्थे । उनले सामान जोख्ने बेला अलिक बढी–बढी हालिदिन्थे । बिचरा ती मान्छे पनि डराएर अलिक बढी नै दिएर जान्थे । त्यसो गर्दा ऊ बेला हामीलाई रमाइलो नै लाग्थ्यो । तर अहिले सोच्छन् ती मान्छेलाई उनले नजानेर विभेद गरिरहेका थिए ।
“विभेद गैर दलितले दलितलाई मात्र हैन दलितले पनि मौका पायो भने नजानेर र जानेर पनि गर्नेरहेछ । यो त पावर कोसँग छ भन्ने कुरा रहेछ ।”
“तपाईंसँग प्रत्यक्ष भएको कुनै विभेद याद छ ?”
उनले सम्झिए । उनी धेरै समय पहिला बुबासँग पहाड गएको । बाटोको चिया पसलमा चिया खाइसकेपछि उनलाई बुबाले भनेका थिए— “धोइदे त्यो गिलास ।”
“किन ?” उनले विरोध गरेका थिए ।
“त्यस्तो कुरा गर्न छोड् । धोएर हिंड्”, बाबु झर्किएका थिए ।
“सिने क्षेत्रमा आएपछि त्यस्तो विभेद भोग्नुभएको छ कि छैन ?” मैले सोधें ।
“थिएन त्यो स्वीकार्नुपर्छ” उनले तत्कालै भने । “तुलसी दाइकोमा पनि छैन । अनि मैले जति युनिटमा काम गरें त्यो कतै पनि देखिनँ ।”
“नेपाली सिनेमा क्षेत्रमा कुनै विभेद नै छैन ?”
“अर्को किसिमको विभेद चाहिं छ । लाइट ब्वाइ, किचनम्यान जस्तालाई हेर्ने तरिकामा विभेद भने छ । तर त्यो हेय दृष्टि अहिले कम भएको छ । पहिला भने थियो ।”
“कस्तो थियो पहिला ?”
“मतलब, सँगै बसेर नखाने । अलग्गै बस्ने । त्यो टिमलाई अलग गर्ने । खाना पनि अलिक फरक हुने ।”
उनले भने अनुसार अहिले यो कुरा हट्दै गएको छ । यसले उनलाई खुशी बनाउँछ । एउटा फिल्म बनाउन सबैको हात हुन्छ । ती सबैले उस्तै सम्मान पाउनुपर्ने उनी ठान्छन् ।
उनले खन्याएको चिया सकियो । चिया खन्याउने पालो मेरो आयो । मैले चिया खन्याउन्जेल उनी गम्भीर भएर हेरिरहे । मैले उनलाई पुनः उनको कथातिर लिएर गएँ ।
तुलसी घिमिरेकै ‘साइत’ जस्ता फिल्ममा काम गरिसकेपछि उनी नवीन सुब्बासँग जोडिए । नवीनको निर्देशनमा ‘दलन’ सिरियल बन्दैथियो । जागरण मिडियाले त्यसलाई बनाउँदै थियो । जागरण मिडियामा रहेका बुटवलका विनोद परियारसँग राजेश चिनजानमै थिए । विनोदले नै उनलाई नवीनसम्म पुर्याए । उनी त्यसमा जोडिने बेलासम्म आहुतिलाई लेख्न लगाउनुभन्दा पहिला कस्तो सिरियल बनाउने भनेर त्यसको बारेमा अध्ययन भइसकेको थियो । निर्देशक बनेर नवीन सुब्बा आइसकेका थिए । ‘डाइरेक्सन डिपार्टमा एउटा दलित समुदायबाट पनि राखौं भन्ने भएपछि उनीहरूले उनलाई खोजेका रहेछन्”, उनले सम्झिए ।
त्यो टिममा उनीहरूसँग अनुप सुवेदी पनि थिए । क्ल्याप हान्न खगेन्द्र लामिछाने आएका थिए । अनुप बरालले कास्टिङ गरिसकेपछि जावलाखेलको सञ्चयकोष बिल्डिङमा उनीहरूले दुई महिना त तालिम नै गरेका थिए ।
उनी जोडिएसँगै कामले गति लियो । त्यहाँ भएका छलफल सुनेर उनको आँखा खुल्न थाल्यो । उनी दलित समुदायबाट आएको भए पनि छुवाछूत विरुद्ध भइरहेका आन्दोलनहरूबारे खासै धेरै जानकार थिएनन् ।
दलनको टिममा आहुति, नवीन लगायतसँग भेट्न थालेपछि भने धेरै कुरा फरक पर्यो ।
“के कुरा सिक्न पाउनुभयो ?”
“फिलिम वास्तवमा है छ त पोलिटिक्स । यो त सफ्ट विपन पो रै’छ ।”
पर्वत ठूलीपोखरीमा भएको पहिलो १० दिनको सुटिङमा खासै काम गर्न सकेनन् । ठूलो टिम थियो । धेरै कुरा लथालिङ्ग थियो । उनीहरू फर्किए । दोस्रो चरणमा पर्वतकै चुवा भन्ने ठाउँमा गए । कुश्माबाट चार किलोमिटर वरको त्यो गाउँमा तीन महिना जस्तो बस्दा भने एक असिस्टेन्ट डाइरेक्टरको रूपमा उनले राम्रो काम गरे ।
नवीनले सट डिभिजन गरेपछि उनी सबै तयारी गर्थे । ड्रेसहरू भए नभएको ख्याल गर्थे । प्रब्स छ कि छैन ? आर्टिस्ट रेडी छ कि छैन ? रिहर्सल गराउनुपर्ने छ कि ? यस्ता काम हेर्ने जिम्मा उनलाई आउँथ्यो । उनले गरेको काम माथि नवीनको आँखा पथ्र्यो । त्यसपछि टेक ओके हुन्थ्यो ।
उनले त्यसपछि नवीनकै ‘गुडबाई काठमाडौं’ मा पनि फस्ट एडी नै भएर काम गरे । अनि ‘सिंहदरबार’ सिरियल । अनि ‘गाउँ आएको बाटो’ । अनि दीपेन्द्र लामाको ‘नाङ्गो गाउँ’ । त्यसपछि दीपक रौनियारको ‘राजागंज’ ।
हामीले यो कुराकानी गर्दै गर्दा उनी ‘राजागंज’ फिल्मको रिलिज हुने समय पर्खिरहेका थिए । उनले आफ्नो यात्रालाई यहाँसम्म ल्याइसकेपछि बल्ल मैले उनलाई प्रश्नहरू सोध्न थालें ।
“फिल्म त पोलिटिक्स रै’छ भन्नुभयो । समाज बदलिंदै जाँदा त्यो पोलिटिक्स कसरी हुर्किंदै जाँदोरहेछ ?”
“स्ट्रक्चरको नलेज भन्ने हुँदोरहेछ । त्यसको रोलप्ले बुझियो भने फिल्मको पोलिटिक्स बुझिन्छ । एउटा फिल्मको कथामा भन्ने पोलिटिक्स । अर्को बाहिरको पोलिटिक्स । ‘गाउँ आएको बाटो’ ले जुन समुदायको कथा लिएर आयो त्यो पोलिटिकल भएर आएको छ । तर नेपाली फिल्म इन्डस्ट्री आफैंमा पनि त एउटा पोलिटिक्स थियो । महेन्द्रबाट सुरु भएको पोलिटिक्स । महेन्द्रसँग समर्थित प्रोड्युसरहरूले बनाएका फिल्ममा उनले नै सेन्सर गर्थे अरे ! फिल्मले मेरो पञ्चायती व्यवस्थालाई कसरी सपोर्ट गर्न सक्छ भन्ने उनको उद्देश्य थियो अरे !”
उनी भन्दै गए, “जसरी पहिला भएका फिल्म अर्कै थिए । लोकतान्त्रिक प्रजातान्त्रिक भिजन लिएर आएका फिल्महरू अर्कै छन् ।”
तर विडम्बना यो कुरा लेख्दै गर्दा उनकै फिल्म पनि सेन्सरको चपेटामा परेको छ । राजागंजमा भएका प्रधानमन्त्री लगायत शब्द हटाउनुपर्नेदेखि लिएर चरित्रको थर समेत सुनाउन नहुने भनिएको छ ।
“एक त इन्डिपेन्डेन्ट फिल्ममा धेरै पैसा छैन अनि तपाईं इन्डिपेन्डेन्ट फिल्म गर्नेहरूसँग जोडिनुभएको छ । तपाईंलाई चाहिं कुनै समस्या भएन ?”
“संघर्ष त भोगियो । पैसा नहुने डेरा भाडा तिर्न नसक्ने । यो त थियो । म बल्ल आफैं फिल्म बनाउन सक्छु कि भन्ने लागेको छ । तर संसारभरिका फिल्महरू हेर्दै जाँदा मलाई केही पनि आउँदैन भन्ने लाग्दोरहेछ ।”
“तपाईं फिल्मको पछाडि रहेर काम गर्नुहुन्छ । बाहिर देखिनेमा अक्सर निर्देशक हुन्छन् वा कलाकार । तपाईंलाई केले त्यता अड्यायो ?”
“हो यो चाहिं पागलपन नै हो”, उनले एकछिन गम खाँदै भने । मानौं उनले यो कुरा सुनेकै थिएनन् । “तपाईं पत्याउनुहुन्नहोला म अरू केही पनि गर्दिनँ । म सामान्य परिवारको मान्छे नै हो । तर बेलाबेला काम गर्दा पनि हामी बाँच्न सक्छौं । मलाई चैं संसारभरिका ठूल्ठूला फिल्महरू जुन बनेका छन्, त्यस्तो फिल्म केही बन्छ कि भन्ने कुराले पनि ज्यान दिएर काम गरौं भन्ने लाग्छ ।”
उनलाई नवीन सुब्बाले धेरै फिल्म हेराए । आहुतिले दलित आन्दोलनबारे सिकाए । त्यो कुराले उनलाई अध्ययन गर्ने बनायो । व्यावहारिक अभ्यासले त्यो योग्यता थप्यो ।
“तपाईं त नदेखिने कुरामा लामो समय बस्नुभयो । जे देखिएको हो त्यो एउटा हो । तर उनीहरूलाई बनाउने त अरूले नै हो । नेतालाई जनताले बनाउने हो । मान्छेलाई देखिने कुरामा किन लोभ छ ?”
“मभित्र आसामको ठाउँमा बस्दा पसेको डरले पनि हुन सक्छ । म एकछिन बाहिर जाँदा आमाले धेरै टाढा नजा है भन्नुहुन्थ्यो । आसामियाले मार्छन्, कुट्छन् भन्नुहुन्थ्यो । त्यो कुरा डेभलप भएर हुन सक्छ”, उनी गम्भीर भए । “तर मैले आफ्नो नामको लागि मात्र गर्ने त ? त्यहाँ मैले के दिएँ त ? केही दिन सक्दिनँ भने मैले फ्रन्टमा आएर के गर्नु छ ? मैले लाइफमा एउटा फिल्म बनाएर केही गरें भने ठिकै छ तर हैन भने म एज एन् असिस्टेन्ट नै ठिक छु । के फरक पर्छ र ? म नाम कमाउने चक्करमा धेरैथोक गुमाउँछु नि त ।”
“अहिलेसम्म के कमाउनुभएको छ ?”
“सबैभन्दा ठूलो कुरा त सन्तुष्टि नै हो । दोस्रो कुरा यो जान्दैछु कि म जुन सेक्टरमा छु त्यहाँबाट धेरै कुरा गर्न सक्नेरहेछु । तेस्रो आफूले चाहेको ठाउँमा काम गर्दैछु । मलाई अगाडिको मान्छेले आर्थिक कुरा मात्र हेरेर केही नसोचोस् भन्ने लाग्छ ।”
त्यसपछि हामी थप राजागंजको बारेमा कुरा गर्न थाल्यौं । दीपक रौनियार उनलाई मनपर्ने निर्देशक रहेछन् । संयोगले आफूलाई असिस्टेन्ट चाहिने भएपछि दीपकले नवीन सुब्बालाई सोधेछन् । अनि दीपेन्द्र लामालाई । दुवैले उनको नाम दीपकलाई भनिदिएछन् । त्यसपछि उनलाई फोन आयो ।
“राजेश दाइ नमस्ते चिन्नुभयो मलाई ।”
उनले आवाजले नै चिनिहाले । उनी त्यसबेला नाङ्गो गाउँ भर्खरै सकेर आएका थिए । बौद्धस्थित आफ्नो रुममा बसिरहेका थिए ।
बाँसुरी फिल्मस्को अफिस खोज्दै उनी पुगिहाले । उनको र दीपकको भेट भयो । एकछिन ‘गाउँ आएको बाटो’ र ‘नाङ्गो गाउँ’ को कुरा उनीबाट दीपकले सुने । उनले दीपकलाई उनको इम्प्रोवाइजेसन गरेर काम गर्ने शैली मन पर्ने र त्यसमा काम गर्न मन लागेको कुरा सुनाए ।
“त्यस्तो मन किन भएको ?” नवीन सुब्बा र दीपकको काम गर्ने शैली ठीक उल्टो भएको कुरा सम्झाउँदै मैले सोधें ।
“डाइमेन्सन हुन्छ नि ! एउटै आयामबाट संसारलाई हेर्नु र अर्कोबाट हेर्नुले हेर्ने भिजन अलिक खुला हुन्छ । हामी सबै चिज जडवत् भएर हेर्छौं । मूढाग्रही नभई जाँदा के हुन्छ त ? मलाई त्यो हेर्न मन थियो ।”
उनको दीपकसँगको चिनजान पुरानै थियो । ‘दलन’ को सम्पादन छिरिङ रितार शेर्पाको अफिसमा हुँदै गर्दा उनी नवीनको असिस्टेन्ट भएर जान्थे । दीपक छिरिङ रितारको । उनीहरूको त्यहाँ भेट हुन्थ्यो । पछि दीपकले ‘हाइवे’ फिल्म गर्दा उनी त्यसको मुहूर्तमा पनि गएका थिए ।
त्यसपछि दीपकले फिल्मको वानलाइन बताए । लुक्स यस्तो हुन्छ भनेर ल्यापटपमा देखाए । ती सबै सकिएपछि कुरा मिल्यो । “राजेश दाइ हामी काम गरौं । दाइको के के हो प्रोड्युसरसँग बसेर लेनदेन के के हो मिलाउनू”, दीपकले यस्तो भनेसँगै उनी टिमको भए ।
उनले त्यसपछि राजागंजको स्क्रिप्ट पढ्न थाले । कथाको फस्र्ट इम्प्रेसन लिए । “जसरी किडन्यापिङबाट कथा सुरु हुन्छ जब त्यो खुल्दै जान्छ त्यो एकदमै व्यक्तिगत हुँदै जान्छ । पर्सनल अनि महिलावादी हुँदै जान्छ । निजी हुँदै जान्छ” यस्तो भन्दै उनले दीपकको खूबी सुनाए ।
सुरु–सुरुको बेलामा त्यो कथा खुल्ने प्रक्रिया राजेशलाई अलिक मजा आइरहेको थिएन । दीपकले त्यसमा थप सल्लाह–सुझाव लिएर बाँकी काम गरे । ड्रेस कस्तो हुन्छ भन्ने कुरा आयो । आर्टमा कुरा हुन थाल्यो । त्यसको लागि मान्छे छानिए । उनीसँग असिस्टेन्ट डाइरेक्सनमा सुरज यादव पनि सँगै आए । टिम बनिसकेपछि राजेशले आफ्नो–आफ्नो डिपार्टको एउटा एउटा प्रिजेन्टेसन गरौं भन्ने कुरा ल्याए । दीपकको फिल्मको क्यानभास अन्यको तुलनामा ठूलो हुने गर्छ । त्यसले पनि समुदायमा गएर कसरी काम गर्ने होला भनेर राजेशलाई लागिरहेको थियो । त्यसकारण पनि सबैको प्रिजेन्टेसन भए सबै जना एकठाउँ आउन सजिलो हुन्छ भन्ने उनलाई भएको थियो ।
“निर्देशकको क्यानभास कसैको ठूलो हुन्छ कसैको सानो । त्यसमा असिस्टेन्ट डाइरेक्टरको रूपमा तपाईंले कसरी तयारी गर्नुहुन्छ ?” मैले सोधें ।
“दलन गर्दा वा तुलसी दाइकोमा काम गर्दा, मलाई धेरै प्रेसर हुन्थ्यो । त्यसबेला सबै काम आफैंले हेर्नुपथ्र्यो । अहिले प्रब्स वा कस्ट्युमको काम हेर्ने अरू नै हुन्छन् । हामीले आँखा लगाउनुपर्छ, तर सहज भने हुन्छ । निर्देशकलाई आफ्नो भिजनमा बसिरहन हामीले सघाउनुपर्छ । आर्ट डाइरेक्टर हुने भए पनि उसलाई पनि हामीले ध्यान दिनुपर्छ । सेटमा भएको हरेक कुरा कसरी आएको छ, केही नयाँ कुरा छ भने किन छ ? त्यो सबै हामीले हेर्नुपर्छ । नयाँ कलर आयो । त्यो कलरले हाम्रो फिल्मको इमोसनसँग म्याच गर्छ कि गर्दैन, त्यो पनि हेर्नुपर्छ । चरित्र जुन स्टेट अफ माइन्डमा छ त्यसमा त्यो कुरा म्याच गर्छ कि गर्दैन । यो सबै हाम्रो जिम्मामा हुन्छ । नयाँ कुरा आयो भने डाइरेक्टरलाई यस्तो आएको छ के गरौं भनेर त्यो पनि भनिदिनुपर्छ ।”
“तपाईंको काम बारेमा गलत बुझाइ के हो ?”
“धेरैले हाम्रो काम समय व्यवस्थापन वा यस्तै प्रशासनिक किसिमको काम हो भन्छन् । सेटमा गएपछि त्यो हो पनि । तर प्रि–प्रोडक्सनमा जब हामी बस्छौं नि तब स्क्रिप्टको उद्देश्यको बारेमा सबैको दिमागमा एउटा भिजन हुनुपर्छ । त्यो भिजन एउटै बनाउन हामी क्लियर हुनुपर्छ । नत्र प्रायशः असिस्टेन्टहरूलाई लास्ट लास्टमा बोलाउने हुन्थ्यो । त्यसले गर्दा असिस्टेन्टको काम टेक्निकल हुन्थ्यो । अहिले त्यो प्राक्टिस बल्ल फेरिंदै छ ।”
“राजागंज गर्दा असिस्टेन्ट डाइरेक्टरको रूपमा भोगेको कुनै घटना सम्झिन चाहनुहुन्छ ?”
फिल्ममा राँको बालेको सिन थियो । रातिको सिन । त्यो शहरको बीचमा गर्नुपर्ने थियो । राजेशलाई हेभी सिन गर्ने बेला जहिल्यै टेन्सन हुन्थ्यो । तर दीपकलाई केही टेन्सन नै नहुने । “ह्या टेन्सन नलिनु दाइ” उनी भनिरहेका हुन्थे । तर त्यहाँ उनीहरूले गल्ती गरे । उनीहरूले आगोको लागि टायर बाले । मोटो बनाएर कपडा बाल्नुपर्ने रहेछ । बाटो सानो थियो । त्यहाँ भीड र गाडी कट्नुपर्ने थियो । टायरवालाले बोकेको आगो गाडीमा झर्ला भन्ने उनलाई खूब डर लागेको थियो ।
“नेपाली सिनेमा क्षेत्रमा एडीको रूपमा तपाईंलाई काम गर्न सबैभन्दा अप्ठ्यारोहरू के हो ?”
“हामीलाई चाहिएको त इन्डोर सेट हो । यही सिन गर्न पनि हामीले बाटोमा पुग्नुपर्यो । इन्डोरमा भएको भए धेरै कुरा आफूले चाहेको जस्तो बनाउन सकिन्थ्यो । अनि अर्को क्राउड पनि हो । क्राउडलाई हामीले ट्रेन गरिएको हुँदैन । एउटा सिनबाट अर्को सिनमा जाँदा कन्टिन्युटीको कुरामा समस्या हुन्छ । एकदिनमा काम नसकिएर भोलि गर्नुपर्यो भने समस्या हुन्छ । भोलि त्यही कपडा लगाएर आउनु भन्यो भने उनीहरूले बिर्सिदिन्छन् ।”
“अर्को चाहिं सेटअपमा लिमिटेसन हुन्छ । कतिपय बेला बाहिर गएर लोकेसनमा काम गर्दा टाइम बाउन्ड हुन्छ । त्यसले हतार हुन्छ । सेट भए जहाँ पनि जान पाउनुहुन्छ । अर्को भनेको किचेनको सिन खिच्ने बेला हामीलाई धेरै लिमिटेसन छ । सेट हुन्थ्यो भने भित्ता हटाएर खिच्न पाइन्छ । दराज खोलेको, फ्रिज खोलेको जस्तो सिनहरू भित्रबाट खिच्नै पाइन्छ । तर हाम्रोमा गर्नै गाह्रो छ ।”
“नाइट सिन खिच्ने बेला पनि गाह्रो हुन्छ । जुनेली रात चाहियो भने त्यति धेरै लाइट पुर्याउनै सकिन्न । अहिले बाहिरतिर त बेलुन लाइट भन्ने आएको छ क्यार ! तर त्यो हामीसँग छैन ।”
“पहिला र अहिलेको एक्टरहरू कस्तो छन् ?”
“हाम्रो एक्टर सुरुमा त बलिउड वा हलिउडबाट प्रशिक्षित हुन् । त्यसैले काम गर्ने तरिका पनि पहिला त्यस्तै थियो । कलाकारलाई कथा सुनाइन्थ्यो, सेटमा बोलाइन्थ्यो, डायलग सुनाइन्थ्यो अनि बोल्न लगाइन्थ्यो । अहिले भने धेरै काम भएको छ । क्यारेक्टर प्रिपरेसन बढेको छ । अहिलेको एक्टरले स्क्रिप्ट मज्जाले पढ्छन् । उनीहरूले धेरै कुरा जानेका छन् । सबैको बडी ल्याङ्गवेज राम्रो छ ।”
“असिस्टेन्ट डिरेक्टरको कामको बारेमा किन अझै धेरै गफ हुनु जरूरी छ जस्तो लाग्छ ?”
“भन्न त हामीलाई डाइरेक्टरको डाइरेक्टर भनिन्छ । ‘दलन’ गर्दा मैले भनेको जस्तो केही सटहरू आएका छन् । राजागंजमा पनि दीपक दाइले मेरो कुरा सुन्नुभएको छ । तर अन्तिममा सबै डाइरेक्टरकै हुने हो त्यो हामीलाई थाहा छ । तर अहिले राम्रो भएको चाहिं हाम्रो काम बुझिंदै गएको छ । आजभोलि असिस्टेन्ट राम्रो चाहिएको छ भनेर फिल्मलाइनमा छलफल हुन्छ । तर त्यो खाले बहस मिडियामा अलिक कम छ । त्यो हुनुपर्छ जस्तो मलाई लाग्छ । असिस्टेन्ट भएर डाइरेक्टर हुने धेरै छन् । यहाँ केही यस्ता असिस्टेन्टहरू पनि जन्मिंदै छन् जो राम्रो असिस्टेन्ट नै भएर बस्छु भन्दैछन् । म त्यो पनि हुनुपर्छ भन्छु ।”
“तपाईंलाई सेटमा के के बजेको आवाज मनपर्छ ?” मैले कुराकानीलाई बिट मार्ने पहल गर्दै सोधें ।
प्रश्न सुनेर उनी हाँसे । अनि धेरै बेर उज्यालो अनुहार लगाएर गम्दै उनले जवाफ दिए, “मलाई ‘एक्सन’ शब्द सबैभन्दा धेरै मनपर्छ ।”
“त्यसले के गर्छ ?”
“त्यसले जुन कथा हामी भन्न खोज्दैछौं त्यो टाइममा पुर्याउँछ के । जुन हामीले कथा सिर्जना गरेका छौं, ‘साइलेन्स, रेडी फर टेक’ भन्ने बित्तिकै कलाकार पनि त्यहाँ पुग्छन् । त्यो जोन मलाई एकदमै धेरै मनपर्छ । त्यो वल्र्डमा जब हामी छिर्छौं, त्यसबेला आफ्नो मुटु धड्किएको छ कि छैन भन्ने थाहा हुँदैन । त्यसपछि त्यहाँ इम्प्रोवाइज हुन्छ । अचानक कुनै घटना घट्छ । त्यो सोचेको भन्दा राम्रो आउँछ । त्यो चैं मलाई जीवन्त भएर आएको जस्तो लाग्छ ।”
प्रतिक्रिया 4