+
+
Shares

कांग्रेस प्रमुख सचेतकको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माओवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १२:११

४ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सत्तारुढ नेपाली कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राईले घिमिरेको भनाइ रेकर्डबाट हटाउन माग गरेकी हुन् ।

‘…यस्तो विचारले अनुशासित र मर्यादित रुपमा रहेको समाजलाई अराजकतातिर पुर्‍याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउन सभामुख महोदयको रुलिङको माग गर्दछु’ उनले भनिन् ।

त्यसअघि आकस्मिक समय लिएर बोल्दै राप्रपाका सांसद दिपक सिंहले भने घिमिरेको प्रस्तावको विरोध गरेका थिए ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरले देशको विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।

प्रतिनिधिसभाको बैठबमा विशेष समय लिएर बोलेका  घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई नेपालमा खुला गर्नुपर्ने बताएका थिए ।

धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने उनको आग्रह थियो ।

‘यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ,’ घिमिरेले भनेका थिए ।

कांग्रेसको प्रमुख सचेतकको यस्तो भनाइले समाजलाई अराजकतातिर लैजान सक्ने भन्दै माओवादीले संसदीय रेकर्डबाटै हटाउन माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?