
४ चैत, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिड बढेको छ ।
सरदर ४० देखि ८० जनासम्मको क्षमता रहेको प्रशासन कार्यालय गुल्मीमा आइतबार एकै दिन ३ सय ३ जनाले सेवा लिएका थिए । तीमध्ये १३७ जनाले राष्ट्रिय परिचयपत्र प्राप्तीका लागि विवरण दर्ता गराएका जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।
१५१ जनालाई परिचयपत्र वितरण गरिएको छ । १५ जनाको विवरण सच्चाउने काम गरिएको गैरेले बताए ।
फागुन २७ गतेदेखि ३ दिनसम्म सर्भरमा समस्या भएर राष्ट्रिय परिचयपत्रको सेवा अवरुद्ध भएको थियो । आइतबारदेखि सेवा सुरु भएको थियो । त्यसैले भिड पनि बढी भएको अनुमान छ । त्यसो त सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिएपछि परिचयपत्र बनाउनेको संख्या पनि बढेको बताइन्छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा पछिल्लो केही दिनयता एक सातामा १ हजार ३ सय जना राष्ट्रिय परिचयपत्रका लागि सेवा लिन आउने गरेका छन् ।
अहिले प्रशासन कार्यालयमा ३ वटा स्टेशनबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य गरिएको छ । तर अहिले सेवाग्राहीको संख्या दोब्बरले बढ्दा लामो समय पालो कुर्नुपर्ने बाध्यता छ ।
जिल्लाबाट हालसम्म करिब ८० हजार बढीलाई राष्ट्रिय परिचयपत्र वितरण भएको छ । जिल्लामा हालसम्म २ लाख १० हजार बढीले राष्ट्रिय परिचयपत्र प्राप्तीका लागि विवरण दर्ता गराएका छन् । त्यसमध्ये १ लाख ८९ हजारको राष्ट्रिय परिचयपत्र बनेर आएको छ ।
राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचाहन सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।
वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान/श्रीमतिको नाम, स्थायी/अस्थायी ठेगाना पर्दछन् ।
जैविकविवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । नागरिकका सेवा सुविधाहरुसहित अपराध नियन्त्रण गर्न पनि यो परिचयपत्र महत्वपूर्ण हुने ठानिएको छ ।
परिचयपत्र विवरण दर्ता संकलन गर्न नागरिकता, बसाइँसराइको गरेको हकमा बसाइँसराइको सक्कल कागजपत्र चाहिन्छ । राष्ट्रिय परिचयपत्र लिँदा पुनः जैविक विवरण जाँच गरी वितरण गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता, राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्दाको सक्कली रसिद अनिवार्य लिएर प्रशासन कार्यालयमा आउनुपर्ने हुन्छ ।
प्रतिक्रिया 4