+
+
Shares

यमनमा अमेरिकाको आक्रमणबाट ५३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १३:३८

४ चैत, काठमाडौं । यमनका हुथी विद्रोही लक्षित अमेरिकाको पछिल्लो आक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच बालबालिकाहरु पनि छन् ।

हुथी विद्रोहीहरुका अनुसार सोमबार बिहान अल जौफ र हुदैदाह क्षेत्रमा अमेरिकाले हवाई आक्रमण गरेको थियो । अमेरिकाले शनिबार पनि हुथी विद्रोहीहरुलाई लक्षित गरी आक्रमण गरेको थियो ।

हुथी विद्रोहीले रेड सीमा आक्रमणलाई गरेपछि त्यसलाई रोक्ने उद्देश्यले अमेरिकाले उनीहरुविरुद्ध आक्रमण गरेको बताइन्छ ।

आफ्नो आक्रमणबाट हुथीका केही नेताहरू मारिएको दाबी अमेरिकाले गरेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले एबीसी न्यूजसँग शनिबारको आक्रमणमा धेरै हुथी नेताहरूलाई लक्ष्य बनाइएको र मारिएको बताएका छन् । तर हुथी समूहबाट यसको पुष्टि भएको छैन ।

हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल–असबाहीले एक्स (पहिले ट्विटर) मा लेख्दै मृतकको संख्या ५३ पुगेको र तीमध्ये पाँच बालबालिका र दुई महिला रहेको जनाएका छन् । साथै, ९८ जना घाइते भएका उनले उल्लेख गरेका छन् ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले हुथी आक्रमण नरोकिएसम्म क्षेप्यास्त्र आक्रमण जारी रहने बताएका छन् ।

हुथी समूहले भने इजरायलले गाजाको नाकाबन्दी नहटाएसम्म र अमेरिकाले यमनमाथि आक्रमण नरोकेसम्म रेड सीमा अमेरिकी र इजरायलका जहाजलाई लक्षित गरी आक्रमण जारी राख्ने बताएको छ ।

हुथी नेता अब्दुल मलिक अलहुथीले भनेका छन्– ‘जबसम्म अमेरिका यमनमाथि आक्रमण जारी राख्छ, तबसम्म अमेरिकी जहाजहरू हुथीको निशानामा रहने छन् ।’

इरान–समर्थित हुथी विद्रोही समूहले इजरायललाई आफ्नो शत्रु मान्दछ । उसले यमनको राजधानी साना तथा उत्तरपश्चिम क्षेत्र नियन्त्रणमा राखेको छ ।

हुथीहरूले प्यालेस्टिनीहरूको समर्थनमा इजरायल र हमासबीच गाजामा भइरहेको युद्धको प्रतिक्रियास्वरूप आक्रमण गरिरहेको बताएका छन् । उनीहरूले इजरायल, अमेरिका वा बेलायतसँग सम्बन्धित जहाजहरूलाई मात्र लक्षित गरिरहेको दाबी गरेका छन् ।

नोभेम्बर २०२३ यता, हुथी समूहले रेड सी र गल्फ अफ एडेनमा दर्जनौं व्यापारीक जहाजहरूमाथि क्षेप्यास्त्र, ड्रोन र साना डुङ्गाबाट आक्रमण गरिसकेको छ । तिनीहरूले दुईवटा जहाज समुद्रमा डुबाएका छन् भने एउटा कब्जा गरेका छन् । आक्रमणमा चार जना चालक दलका सदस्यहरुको मृत्यु समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?