
भारतको अहमदावाद शहरको सडकमा खैरो लगुंरको समूह रमाइरहेको देखिन्छ । पूर्वीलन्डनको एक आवासीय क्षेत्रमा केही मृगहरू डुलिरहेका छन् । जापानको नारा शहरको एक सुनसान सडकमा एक मृगले बाटो काटिरहेको छ ।
टर्कीको इस्तानबुल विमानस्थलको सडकमा बाख्राका बथान निस्फिक्री डुलिरहेका छन् । थाइल्यान्डमा पर्यटकले भरिने अति व्यस्त शहर लोपबुरीको सडक बाँदरले भरिएको छ।
यी दृश्य कोभिड-१९ महामारीले निम्त्याएको विश्वव्यापी लकडानको परिणाम थिए ।
मानिस घरभित्रै कैद भएको समयमा जनावरहरू भने शहर, बजार र बस्तीमा आनन्द लिइरहेका भेटिन्थे । यस्ता दृश्य विश्वभर नै देखिए ।
भारतको जालन्धर शहरबाट २०० किलोमिटर टाढाको हिमाञ्चल प्रदेशको धौलाधर हिमश्रृङखला प्रष्ट देखियो । वायुप्रदूषण स्वाट्टै ओरालो लागेपछि यो सम्भव भयो । कोभिडको दौरान विश्वव्यापी कार्बन उत्सर्जनमा समेत व्यापक कटौती भएको थियो ।
सवारी साधन, कलकारखाना, उद्योग बन्द हुँदा प्रकृतिले सास फेर्न पायो।
काठमाडौंमा पनि नदी किनारमा ढकमक्क फूल फुले, लामो समयसम्म आकाश निलो सफा देखियो । त्रिचन्द्र कलेज र घण्टाघर आसपास निलो सफा आकाशमुनि प्याजी रङमा फुलेको ज्याकाराण्डा फूलका तस्विरहरू सामाजिक सन्जालभरि छाए ।
धोबीखोला किनारमा उन्मुक्त भई फुलेका फूलहरूले धोवीखोला करिडोरलाई सुन्दर बनाइदिए । सधैँ धुलो, धुवाँले छपक्कै छोपिने सडक किनार र सडक बीचमा रोपिएका रुख, बिरुवाले आफ्नो सुन्दर प्राकृतिक स्वरुप दिखाउन सके।
ग्लोबल लकडाउनको सकारात्मक असर ‘अर्थ ओभरसुट डे’ मा पनि प-यो । सन् २०२० को ‘अर्थ ओभरसुट डे’ १३ दिन धकेलिएर अगस्ट १६ मा पुग्यो । अघिल्लो वर्ष अगस्ट ३ मा थियो ।
अर्थ ओभरसुट डे भनेको वर्षभर पृथ्वीको नवीकरणीय जैविक स्रोत र त्यो वर्ष खपत गरिने उक्त जैविक स्रोतको अनुपात हो ।
सन् २०१९ मा पृथ्वीको नवीकरणीय जैविक स्रोतको उपभोग हामीले अगस्ट ३ तारिखमै सक्कायौँ । बाँकी ४ महिना २७ दिन हामीले पृथ्वीको स्थिर मौज्दात झिक्यौँ ।
तर वैश्विक लकडाउनमा सुस्त भएको उत्पादन र उपभोगका कारण हामीले २०२० मा थप १३ दिन हामी पृथ्वीको स्थिर मौज्दात खोतल्नु परेन । ‘अर्थ ओभरसुट डे’ को गणना गर्न सुरु गरिएको वर्ष सन् १९७१ मा अर्थ ओभरसुर डे डिसेम्बर २५ थियो । त्यो वर्ष वर्षभरको पृथ्वीको नवीकरणीय जैविक स्रोतले झण्डैझण्डै वर्षभरको उपभोगलाई धानेको थियो ।
तर बितेका ५४ वर्षमा हामीले पृथ्वीको दोहन यति गर्यौँ कि, हामीलाई पृथ्वीको वार्षिक नवीकरणीय उत्पादनले ७ महिना मात्र पुग्ने भयो बाँकी ५ महिना स्थिर भण्डारणबाट झिक्नुपर्ने अवस्था छ।
अप्रत्यासित रुपमा आएको कोभिड-१९ महामारी र त्यसले सिर्जना गरेको विश्वव्यापी लकडाउनले मानिसको नियमित कार्यतालिकालाई खलबल्याइदियो । मानिसमा डर, अन्योल, निराशा सँगसँगै केही सकारात्मक र रचनात्मक प्रभाव पनि छोड्यो ।
‘वर्क फ्रम होम’, ‘स्टडी फ्रम होम’ को अवधारणाले जरो गाड्यो। रुटिन जिन्दगी बाँचिरहेको मानिसले एकछिन सुस्ताएर छुटेका र गुमेका कामहरू, सम्बन्धहरू पर्गेल्न थाल्यो, कसैले फेसबुकमा पुराना तस्वीर कोट्याएर ‘नोस्टाल्जिक’ भए । कसैले वर्षौ थन्किएका पुस्तक पढ्ने जमर्को गरे । कसैल झण्डै बिर्सिइसकेका सम्बन्धहरू नवीकरण गरे ।
लेखक साहित्यकार, सङ्गीतकार, सिनेमाकर्मी र रङ्गकर्मीले आ–आफ्नो क्षेत्रमा नयाँ प्रयोग गरे । वर्षौसम्म माटो नछोएकाहरू करेसाबारी पसे । ‘जान रहे तो जहान है’ भन्दै शहर पसेकाहरू गाउँ फर्किए, विदेशीएका देश फर्किए ।
कोभिडले लखेटेपछि म पनि आफ्नो कर्मथलो घोराही दाङबाट आफ्नो घर खलंगा सल्यान पुगेँ । २०६१ सालपछि दशैं र तिहारबाहेक अरु समयमा घर पुगेको थिइँन ।
बन्दाबन्दीको समयमा कफ्र्यू लागेजस्तै सडक सुनसान थियो । कोरानाले आज यति जनाको मृत्यु भन्ने बुलेटिन आइरहन्थे । घरमा आमाबुबा मात्र भएकोले म घर हान्निएँ ।
मुल राजमार्ग छलेर भित्री बाटो हुँदै घर पुगेँ । बाटोमा सिम्ला, कालापहाडतिर मजदुरी गर्न पुगेका मानिसहरू रुपैडिहा, नेपालगन्ज दाङ हुँदै सल्यानसम्म हिँडदै गरेका भेटिए। बेरोजगारी, गरिबी, दुःख, अन्योल र अनिश्चितताका बाबजुद पनि
घर परिवार एक आशा र भरोसा थियो।
घर पुगे त जसरी पनि बाँचिएला नि, भन्दै गह्रौ भारी बोकेर एकनासले हिँडिरहेका थिए । त्यो एक महिनाको घर बसाइ मेरा लागि सबैभन्दा उत्पादनमूलक र सिर्जनात्मक समय रह्यो । तर दैनिक गर्जो टार्न समस्या हुनेका लागि उत्तैकै सकसपूर्ण पनि थियो।
‘समृद्धि’को तिर्सना मेट्न निरन्तर जोतिइरहने मानवीय प्रवृत्ति हो । तर त्यो ‘समृद्धि’को कुनै सीमारेखा छैन । कोभिडजस्तै अप्रत्याशित घटनाले मानिसको त्यो निरन्तर भोगको यात्रामा लगाम लगाइदिन्छ ।
मानिस केहीबेर रोकिन्छ, सोच्छ र आन्त्मचिन्तनको प्रयास गर्छ । यस्तो प्रवृत्ति २०७२ को भूकम्पमा देखिएको थियो । तर केहीबेरको विश्रामपछि फेरि उही …।
कोभिड एक अप्रत्याशित र भयभीत ढंगले आयो । लकडाउनको पूर्वतयारी थिएन । पिँधका मानिसले पर्याप्त रासनपानी, औषधि र गुजारा गर्ने रकमको जोहो गर्नै सकेनन् । मौज्दात छैन, काम गर्ने अवस्था छैन । परिणाम चरम गरिबी ।
विकिपिडियाको पछिल्लो अध्यावधिक रिपोर्ट अनुसार हालसम्म कोभिड–१९ का कारण विश्वभर मृत्यु हुनेहरूको संख्या ७० लाख हो । कोभिडको असरबाट सबैभन्दा पीडित हुनेहरूमा गरिब, किसान, मजुदर, श्रमिक रहे अप्रत्याशित
लकडाउनले बेरोजगारी निम्त्यायो, बेरोजगारीले गरिबी ।
राष्ट्रिय योजना आयोगको तथ्यांक अनुसार कोभिड–१९ को कारण थप १२ लाख मानिस गरिबीको रेखामुनि धकेलिए । कोभिडअघि ५६ लाख जनसंख्या गरिबीको रेखामुनि रहेकोमा कोभिडपछि त्यो संख्या ६८ लाख पुग्यो ।
प्यू रिसर्च सेन्टरका अनुसार कोभिडका कारण बढेको विश्वव्यापी गरिबी मध्ये ६० प्रतिशत त भारतीय नै थिए। कोभिडका दौरान विश्वव्यापी गरिबी जनसंख्या ६७ करोडबाट बढेर ८० करोड पुगेको थियो । त्यो गरिबीको असर लामो समयसम्म
बहुआयामिक रुपमा रहिरहन्छ।
तर अर्को रोचक तथ्यांक के हो भने विश्वभर कोभिडका कारण जति मानिसको मृत्यु भयो त्यति मृत्यु त वायुप्रदूषण र यसबाट सिर्जित रोगकै कारण एक वर्षमै हुन्छ ।
फरक यत्ति हो, कोभिडले तुरुन्तै मार्यो। प्रदूषणजन्य रोगका कारण हुने मृत्युले बिस्तारै मार्छ । कोभिडकोले एकैपटक मार्छ र हल्लाखल्ला हुन्छ । तर प्रदूषणको कारणले हुने मृत्युलाई स्वभाविक र कालगतीले हुने मृत्यु मान्न थालियो।
मानवीय गतिविधिका कारण पृथ्वीको दोहन अनियन्त्रित रुपमा बढेको बढ्यै छ। के हामी पृथ्वीलाई आराम दिन, सुस्ताउन दिन फेरि लकडाउन गर्न सक्छौँ त ?
ओहो कस्तो स्टुपिड प्रश्न ? लकडाउन गर्नलाई कुनै महामारी आउनुप-यो, कुनै मानवीय संकट आउनुपर्यो।
तर वायुप्रदूषण र यसको कारण वार्षिक ७० लाख बढी मानिसको मृत्यु हुनु, प्रदूषणजन्य रोगकै कारण मेडिकल खर्च बढ्नु र औषत आयु घट्नु पृथ्वीको नवीकरणीय स्रोतले ७ महिना पनि नधान्नु, चरम मौसमी घटनाको तीव्रता बढेको बढ्यै
हुनु, पछिल्ला २० मध्ये १९ महिनाको पृथ्वीको औषत तापमान पूर्वऔद्योगिक कालको तुलनामा १.५ डिग्री सेल्सियस बढी हुनु के कुनै महामारी वा मानवीय संकट भन्दा कम हुन् ?
यसमा अत्याधिक कार्बन उत्सर्जन गरेका र गर्दै आइरहेका धनी र औद्योगिक राष्ट्रबाट एक राहत कोष निर्माण गरी पिँधमा रहेका गरिब, श्रमिक, किसान, मजुदर, अपाङ्ग, बिरामी र विपन्न समुदायलाई पर्याप्त राहत उपलब्ध गराएर वर्षमा एक
महिना विश्वव्यापी लकडाउन गरी पृथ्वीलाई आराम गर्ने मौका किन नदिने ?
बलिउड सिनेमा ’थ्री इडिएड्ट’ मा मानवीय स्वभावबारे एक डाइलग छ ‘दोस्त फेल हो जाए तो दुख होता है, लेकिन दोस्त फर्स्ट आ जाए तो ज्यादा दुख होता है।’ तर लकडाउनमा एक समान रुपले अत्यावश्यकबाहेक सबैको काम बन्द हुन्छ।
सबैको काम भए दुखः हुने कुरा पनि भएन ।
सफा हावा, सफा खोला नदी नाला, हरियाली, निलो आकाश, उन्मुक्त भई सार्वजनिक स्थलमा विचरण गरिरहेका जनावर, धुलोधुवाँ र कोलाहलरहित सडक हाम्रा लागि जति मृगतृष्णा हुन् त्यत्तिकै स्वैरकल्पना वा ‘स्टुपिड’ तर्क हो यो बिना
आपतकालको वैश्विक लकडाउन पनि । तर बिग्रने त केही थिएन ।
प्रतिक्रिया 4