
दीपक शर्मा, नेपाली संगीत वृत्तका लोकप्रिय संगीतकार । सरल शब्द, मीठो धुन र हृदयस्पर्शी संगीत सिर्जनाका लागि उनी परिचित छन् । तपाईं नेपाली संगीत पछ्याउनुहुन्छ भने उनको नाम नयाँ होइन ।
बाल्यकालदेखि संगीतमा रुचि राख्ने दीपक म्याग्दीको मंगला-१ मा जन्मिए । हुने विरुवाको चिल्लो पात भनेजस्तै, सानैदेखि गाउने, बजाउने र संगीत सिर्जनामा पोख्त । संगीतमा लागेर नाम र दाम कमाउन सकिन्छ भन्ने सोच उनमा थिएन । ११ वर्षको उमेरदेखि गीत कोर्थे । त्यो विन्दुमा गीत रचना गर्ने क्षमतालाई संगीतकार भनिन्छ भन्नेमा उनी अनविज्ञ थिए ।
२०५९ सालमा एसएलसी दिएपछि २०६१ सालतिर काठमाडौँ आए । गायक बन्ने सपना बोकेर राजधानी छिरेका उनले ‘ढल्के पिपल’ गाएर संगीतमा डेब्यु गरे । यो गीत सफल भने भएन । लगातार गीत रेकर्ड गर्दै गए । यो क्रममा उनले आफू गायनको लागि नबनेको महससु गरे । बरु, उनले संगीत सिर्जनामा भविष्य देखे । अनि सुरु भयो, संगीत सिकाइको सिलसिला ।
२० वर्षको उमेरमा शर्माले ‘तेजाब’ फिल्मबाट संगीतकारको रुपमा व्यवसायिक करिअर थाले । यसले उनको करिअरमा सोचेजस्तो नतिजा दिएन । आफूमा अझै कमजोरी छन् भन्ने सोचेर उनले फेरि ४ वर्ष संगीत सिके । सिकाइको यो मेसोमा अनेक अवरोध सामना गरे । यसले संगीतप्रतिको लगावमा कमी ल्याएन ।
करोड क्लबका अग्रणी
संगीत सिकेपछि फिल्म ‘सम्झी राख है’मा उनले काम गरे । यो उनको पहिलो सफल संगीत सिर्जना थियो । त्यसपछि ‘आँधी खोला उर्लिएर’ बोलको गीत रचे । यो गीतले उनलाई फिल्मको अवार्ड पनि दिलायो । त्यसयता दीपकलाई पछाडि फर्केर हेर्नुपरेको छैन । उनी यतिबेला घरेलु फिल्मका ब्यस्त र करोड क्लबका संगीतकार हुन् ।
ग्राफिक्स : अरुण देवकोटा
२०६१ सालदेखि व्यवसायिक संगीत थालेका उनले अहिलेसम्म हजारभन्दा धेरै गीतमा संगीत भरेका छन् । ‘दर्शन सलाम’, ’छुटिएर तिमीसँग’, ’दाह्री फुल्यो बैंसैमा’, ’पर्ख पर्ख मायालु’, ’पहिलो नम्बरमा’, ’पिरिम नलाउने’, ’देख न चम्पा’, ’बिहे भएको छैन’, ’ए है माया’ लगायतका गीतलाई युट्युबमा करोडभन्दा धेरै पटक हेरिएको छ ।
जसमध्ये ’पिरिम नलाउने’ले ११ करोड ६० लाख भ्यूज पाएको छ । ‘पहिलो नम्बरमा’ गीतले ६ करोड भ्यूज पाएको छ । उनले लोकपप, आधुनिक र फिल्मी गीतमा संगीत दिएका छन् । नेपाली मौलिकतालाई जोगाउँदै नयाँपन भर्नु उनको सांगीतिक विशेषता हो । यसअर्थमा उनी अन्य संगीतकर्मीभन्दा भिन्न छन् ।
श्रोता र दर्शकको रुचिअनुसार संगीतमा परिवर्तन र अनुकूलन गर्न सक्ने क्षमता उनी राख्छन् । जसले उनलाई सान्दर्भिक र लोकप्रिय तुल्याएको छ । यसैको फलस्वरुप, २०७८ सालमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार पाए । गतवर्ष राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट जनसेवा श्री पञ्चम विभूषण पुरस्कारबाट सम्मानित भए । फिल्म तथा गीतबाट २ दर्जनभन्दा धेरै उत्कृष्ट संगीतकारको अवार्ड पाएका छन् ।
भाइरल प्रवृत्तिले संगीतमा चुनौति
करोड क्लबका यी संगीतकारले सुन्दर सिर्जना गर्न के कुरामा ध्यान दिन्छन् त ? अनलाइनखबरले सोधेको प्रश्नमा उनको जवाफ छ, ‘एउटा संगीतकार बन्न धेरै कुरा महत्वपूर्ण हुन्छ । संगीत कसरी बुझ्ने, ताल कसरी मिलाउने, शब्द चयन कसरी गर्ने गर्ने, यी सबैकुरा गम्भीररूपमा सोच्नुपर्छ ।’
गीतमा सरल शब्दको प्रयोग गर्दा सबै वर्ग, उमेर समूहका दर्शक तथा श्रोताले बुझ्न सक्ने उनको भनाइ छ । ‘गीतको शब्द यस्तो हुनुपर्छ, जसले मानिसको दैनिक जीवनलाई सम्बोधन गरोस् । गीत जति सरल हुनुपर्छ, उत्तिकै अर्थपूर्ण पनि’ दीपक भन्छन्, ‘जब गीतको शब्दलाई मानिसले दैनिक जीवनमा बोल्छन्, त्यसले गीतलाई लामो समयसम्म सम्झनायोग्य बनाउँछ ।’
घरेलु संगीतको नयाँ र पुरानो प्रवाहबीचको सेतु संगीतकर्मी हुन् दीपक । उनलाई थाहा छ- आजको दर्शकीय वर्ग भिन्न छ । उसको मन जित्न लागि संगीत र शब्दमा नयाँपन ल्याउनुपर्छ ।’
हुनसक्छ यही कारण उनले अहिलेको संगीतको चुनौतिलाई बुझेका छन् । ‘पहिलेको संगीतमा भाव, शब्द र धुनको गहिराइ हुन्थ्यो । अहिलेको दर्शक छिटो बदलिने ट्रेन्डमा छन् । छोटो समयमा भाइरल हुने गीत खोजिन्छ, जसले दीर्घकालीन संगीत सिर्जना गर्न चुनौती थपेको छ,’ उनी भन्छन् ।
अहिलेको सांगीतिक क्षेत्रमा भाइरल गीतको प्रभाव छ । दीपक यसलाई टिकाउयोग्य सफलता मान्दैनन् । ‘आजको समयमा एउटा गीत एकैछिनमा भाइरल हुनसक्छ, तर त्यसले दीर्घकालीन प्रभाव पार्छ भन्ने छैन । साँचो कलाकारको काम भनेको सधैँ नयाँ, गहिरो अर्थ बोकेका र सदाबहार गीत दिनु हो’ उनी भन्छन् ।
उनका अनुसार, अहिलेका धेरै कलाकार भाइरल हुने सफलतामा मात्र केन्द्रित हुन्छन्, जसले गीतको वास्तविक गहिराइलाई कमजोर बनाउँछ । ‘म विश्वास गर्छु कि संगीतले समयभन्दा पर जाने गुण राख्नुपर्छ । छोटो समयमा भाइरल हुनु मात्रै ठुलो सफलता होइन, दर्शकको मनमा वर्षौँसम्म बस्न सक्ने गीत सिर्जना गर्नुपर्छ’ उनले भने ।
गीत संख्याले होइन, गहिराइले बाँच्छ
संगीतकारका लागि अहिलेको समय अझ कठिन भएको उनको तर्क छ । भन्छन्, ‘हामीले दर्शकको नयाँ रुचि बुझ्नुपर्छ, तर मौलिकता गुमाउन मिल्दैन । प्रविधिसँगै संगीतको शैली बदल्नुपरे पनि गीतमा आत्मा हुनुपर्छ ।’ पुरानो र नयाँ शैलीलाई मिलाएर गीत लेख्दा दर्शकले सजिलै बुझ्ने र मनपर्ने गीत बनाउन सकिन्छ ।’
नेपाली संगीत क्षेत्रको वर्तमान अवस्थाबारे उनी चिन्तित सुनिए । प्रविधिसँगै मौलिकतालाई जोगाउनुपर्ने उनको धारणा छ । ‘नेपाली संगीत क्षेत्र अहिले डिजिटल प्लाटफर्ममा निर्भर छ । अहिलेको समयमा युट्युब, टिकटकजस्ता डिजिटल माध्यमले गीतलाई सफल बनाउँछन्’ उनी भन्छन्, ‘चुनौति भनेको यही छ कि प्रविधि हावी हुँदै गर्दा मौलिकता हराउँदै जान सक्छ । हामीले मौलिक संगीत जोगाएर लैजानुपर्छ ।’
सांगीतिक क्षेत्रमा अहिले कम बजेट र कलाकारबीचकोे प्रतिस्पर्धाले पनि समस्या निम्त्याएको उनी बताउँछन् । ‘संगीत क्षेत्रमा लगानी गर्नेमध्ये धेरैले गीतलाई व्यावसायिक रूपमा मात्र हेर्छन् । तर, संगीत एक कला हो । यसलाई सम्मान गर्दै, कलाकारलाई उचित अवसर दिनुपर्छ’ उनले भने ।
संगीतमा गीतको संख्यामा वृद्धि भएपनि, गुणस्तर कम भएको कुराप्रति उनले चिन्ता जनाए । ‘आजकल दैनिक रूपमा नयाँ गीत आउँछन्, तर तीमध्ये धेरै टिकाउ हुँदैनन् । संगीतको मूल आत्मा हराउँदै जानुहुँदैन । कलाकारले मात्र होइन, दर्शकले पनि गुणस्तरीय संगीतलाई समर्थन गर्नुपर्छ’ उनी भन्छन् ।
उनका अनुसार, गीत संख्याले होइन, गहिराइले बाँच्छ । सर्जकले गीतको मात्राभन्दा गुणस्तरमा बढी ध्यान दिनुपर्ने उनको सुझाव छ । दीपकको संगीतप्रतिको समर्पण, सिर्जनशीलता र नेपाली संगीतमा पुर्याएको योगदानले उनलाई विशेष बनाएको छ ।
प्रतिक्रिया 4